role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरेली रङ्गकर्म : विगतदेखि वर्तमानसम्म

पोखरेली रङ्गकर्म : विगतदेखि वर्तमानसम्म
—पुष्प आचार्य

विना विगत वर्तमान हुन सक्दैन । अतः कुनै स्थानको नाट्यविकासक्रमका सम्बन्धमा अध्ययन गर्दा नाटकको उत्पत्ति एवं त्यसको इतिहासका बारेमा जानकारी आवश्यक नै हुन्छ । कविता झैँ नाटक पनि अत्यन्त प्राचीन विधा भएको हुँदा यसको उत्पत्तिका सम्बन्धमा पूर्ण निश्चित हुन नसकिए पनि विभिन्न धार्मिक अनुष्ठानहरु एवं त्यहाँ गरिने विविध विधिविधानहरु नै नाटकहरुको उत्पत्तिका आधार हुन् भन्ने कुरा स्पष्ट छ । ती अनुष्ठानमा गरिने अभिनयले नै पछि गएर नाटकको रुप धारण गरेका हुन् । नाटकको उत्पत्तिका सम्बन्धमा जानकारी दिने पूर्वीय र पश्चिमी दुवै साहित्यका किंवदन्तीहरुले पनि मूलतः यही कुरालाई नै परिष्कृट ढाँचामा प्रस्तुत गरेका छन् ।
पश्चिममा नाटकको उद्भव स्थानका रुपमा ग्रीसलाई लिइन्छ । इसापूर्व पाँचौँ शताब्दी ग्रीक नाट्यइतिहासमा स्वर्णयुग थियो । एथेन्सस्थित हजारौँ दर्शकहरु बस्न सक्ने डायोनिसियसको विशाल रङ्गशालामा प्रतिस्पर्धात्मक रुपमा नाटकहरु प्रदर्शित हुने गर्दथे । ग्रीकहरुका मदिरा तथा प्रसवन क्षमताका देवता डायोनिसियस अर्थात् बेकसको पूजन एवं सम्मानहेतु वसन्तोत्सवका रुपमा ‘डायोनिसिया’ र शीतकालीन उत्सवका रुपमा ‘लेनाइआ’ नामका पर्वहरु मनाई दुखान्त एवं सुखान्त नाटकहरुको प्रदर्शनी गरिन्थ्यो । त्यहाँका जनता नै त्यस्ता नाटकका दर्शक एवं निर्णायक हुने गर्दथे । ग्रीक नाट्यशालाको सरल तर अति विशाल बनावट सम्पूर्ण नाट्यइतिहासमा अतुलनीय मानिन्छ । ग्रीक नाटकका मूलभूत तत्वहरु— आख्यानात्मक गेयकोरस तथा समवेत गानहरु धार्मिक अनुष्ठानकै समीप छन् । इसापूर्व छैठौँ शताब्दीमा कवि एवं अभिनेता थेस्पिले कोरससँग कुरा गर्ने एउटा पात्रको निर्माण गरेपछि ग्रीक नाटकहरुको विकासक्रममा अपूर्व आयाम थपिएको थियो । थेस्पिको एकल पात्रको जन्मसँगै कथा ‘भन्ने’ मात्र गरिएकोमा ‘गरेर देखाउने’ अर्थात् सही अर्थमा नाटक देखाउने परम्पराको शुरुवात भयो । त्यसपछाडिका नाटकहरुमा पात्रसंख्या र कोरसका गायकसंख्यामा पनि परिवर्तन हुँदै गयो । ग्रीस दुखान्त नाटकहरुको अत्यन्त कुशल लेखन, मञ्चन र लोकप्रियतापछि नाटकले आफ्नो स्वरुप प्राप्त गरयो ।
पूर्वीय नाट्यपरम्पराको इतिहासमा महामुनि भरतको ‘नाट्यशास्त्र’ लाई प्रमुख मानिन्छ । पञ्चम वेदका रुपमा वर्णित नाटक इन्द्रको अनुरोधमा ब्रह्माले निर्माण गरेका हुन् भन्ने कुराको उल्लेख भरतले गरेका छन् । ब्रह्माले ऋग्वेदबाट कथाभाग, सामवेदबाट गीत, यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रसभाग झिकेर नाटक तयार गरी भरतमुनिलाई दिए । कलागुरु विश्वकर्माले रङ्गवनको निर्माण गरे र अप्सराहरु स्त्री पात्र भए । त्यसपछि सर्वप्रथम असुरपराजय, अमृतमन्थन, त्रिपुरदाह आदि नाटकहरुको मञ्चन गरियो । भरतमुनिका पुत्र तथा शिष्यहरुले नाटकको प्रचार प्रसार गरी त्यसलाई व्यापकता प्रदान गरे । मानिसहरुको जीवन सुखमय र सदाचारी बनाउनु, सबै जनाले मनोरञ्जनको समान अवसर पाउनु जस्ता लोककल्याणकारी भावनाहरुलाई नाटकले आफ्नो लक्ष्य मानेको पाइन्छ । तर भरतमुनिको समय निर्धारण सम्बन्धमा भने यथेष्ठ विवादहरु पाइन्छन् । विभिन्न विद्वान्हरुले इसापूर्व पाँचसय वर्षदेखि वैदिककालसम्मका वर्षलाई नाट्यशास्त्रको समय मानेका छन्, तर वैदिककाल कहिलेसम्मलाई मान्ने भन्ने कुरा निश्चित छैन । यस्तै विवादास्पद साक्ष्यहरुका कारण नाटकको उत्पत्तिकाल पनि रुपले निर्धारित हुन सक्दैन । ग्रीक नाटकहरुमा दुखान्त नाट्यप्रवृत्तिले व्यापकता पायो भने संस्कृत नाटकहरुमा सुखान्त नाट्यप्रवृत्ति मात्र पूर्णरुपले स्वीकार्य भयो । तिनै शास्त्रीय परम्पराको अनुसरणमा धेरै पछिसम्म पनि पश्चिमी नाटकहरुमा दुखान्त नाट्यचेतना र पूर्वीय नाटकहरुमा सुखान्त नाट्यचेतनाको प्रचुर प्रभाव रहिरह्यो ।
पुनर्जागरणको युगमा पश्चिमी नाटकहरुले ठूलो फड्को लिए । इशाई धर्म र नैतिकताको शिक्षा दिने कथाहरु भएका नाटकहरुको सट्टा मानवीय जीवन र त्यसका विभिन्न पक्षहरु समेटेर तयार गरिएका नाटकहरुको लेखन तथा मञ्चन भयो । मार्लाे, शेक्सपियर, जोन्सन जस्ता प्रतिभाशाली नाटककारहरुले अङ्ग्रेजी नाटकमा क्रान्ति नै ल्याइदिए ।
त्यसपछि पनि बे्रख्त, इब्सन, स्ट्रिन्डवर्ग, चेखोव, वेकेट हुँदै अहिलेसम्म आइपुग्दा नाटकले नयाँनयाँ स्वरुप धारण गर्दै गयो । ती नाटकहरुको प्रभाव विश्वसाहित्यका साथसाथै नेपाली नाट्यक्षेत्रमा पनि परेको पाइन्छ । अर्कोतर्फ संस्कृत नाट्यइतिहासमा भास, कालिदास, शूद्रक, भवभूति विशाखादत्त,  श्रीहर्ष आदिद्वारा रचित कालजयी नाटकहरुले पनि पूर्वीय नाट्यसाहित्यमा प्रभाव पारिरहे । बीसौँ शताब्दीसम्म पनि भारतमा संस्कृत नाटकहरुको लेखन र मञ्चन भइरहेको पाइन्छ ।
नेपालको नाट्यइतिहास हेर्दा मल्लकालबाट शुरु गर्ने प्रचलन भए पनि विभिन्न चाडपर्व, उत्सव र जात्राहरुमा गरिने अभिनयात्मक प्रस्तुतिहरुको प्रचलन धेरै अगाडिदेखि नै थियो । तसर्थ ती प्रस्तुतिहरु नै नेपाली रङ्गकर्म विकासका आधारशिला हुन् । संगीत, कला, साहित्य र संस्कृतिप्रति विशेष अभिरुचि भएका मल्ल राजाहरुको पालामा नाटक सहित अन्य विधाहरुले फस्टाउने अवसर प्राप्त गरे । सत्रौँ शताब्दीमा राजा जगज्ज्योति मल्लले संगीत प्रधान नाटक हरगौरी विवाह लेखेका थिए । मैथिली भाषाको विद्याविलाप नाटक विश्व मल्लको समयमा खेलाईएको थियो भने अर्को विद्याविलाप नाटक भूपतीन्द्र मल्ल (वि.सं. १६९५–१७२२) ले लेखेका थिए । सत्रौँ शताब्दीमै रामभद्र शर्माद्वारा मैथिली भाषामा हरिश्चन्द्र नृत्यम् भन्ने नाटक लेखिएको पाइन्छ । यी बाहेक मल्लकालमै रचना गरिएका अन्य केही नाटक पनि भेटिएका छन् ।
नेपाल एकीकरणकाल नाट्यविकासका लागि त्यति उल्लेखनीय समय सिद्ध हुन सकेन । रणबहादुर शाहको समयमा दरबारिया पण्डित शक्तिबल्लभ अर्यालले आफैले संस्कृत भाषामा रचना गरेको हास्यकदम्बक नाटकलाई नेपाली भाषामा अनुवाद गरेका थिए । राणा शासनकालमा भने नाटकहरुको मञ्चन दरबारभित्रै मात्र भए पनि हुन सक्यो । हुन त सामन्तीवर्गको मनोरञ्जन र विलासिताको साधनकै रुपमा सीमित हुनुपर्दा त्यसताकाका नाटकहरुले मौलिक नेपाली कला, साहित्य र संस्कृतिका लागि टेवा पु¥याउन सकेनन् । उर्दू, हिन्दी र फारसी नाटकहरुसँगै तिनीहरुकै नाट्यशैली पनि नेपाल भित्रिएको थियो । आडम्बरपूर्ण भाषा र शैली, कामोत्तेजक प्रस्तुति, सामन्ती संस्कार, दरबारिया विलास, शासकहरुको प्रशस्तिगान जस्ता तत्वहरु समावेश भएका ती नाटक दरबारभित्रै सीमित रहे । देवशमशेरको शासनकालमा मोतीराम भट्टले संस्कृतका महाकवि कालीदास रचित अभिज्ञान शाकुन्तलम्को नेपालीमा अनुवाद गरे र सोही समयमा त्यसको मञ्चन पनि गरिएको थियो । वि.सं. १९५० मा कलकत्तामा नाटक हेरेर फर्केका डम्बरशमशेरले आफ्नो दरबारमा रङ्गमञ्चको निर्माण पनि गराए । चन्द्रशमशेरको समयमा नेपाली पण्डित छविलाल सूरी (ढुङ्गेल) ले बम्बईमा दुई संस्कृत नाटकहरु सुन्दरचरित र कुशलमोक्ष छपाए । उनको नाट्यचेतनाको प्रशंसा प्रख्यात विद्वान् एवं भाषाशास्त्री म्याक्स मूलरले पनि गरेका थिए ।
विक्रमाब्द १९६३ मा अटलबहादुर नामक वियोगान्त नाटक लेखियो । पश्चिमी नाट्यशैली (विशेषतः ह्याम्लेट) को अनुकरण गर्दै पहलमासिंह स्वाँरद्वारा लेखिएको अटलबहादुर नेपाली नाटकलाई आधुनिकतातर्फ डोरयाउन प्रथम उद्घोष थियो । यसको लगभग २३ वर्षपछि बालकृष्ण समको मुटुको व्यथासँगै नेपाली नाट्यक्षेत्रले विस्तारको सुअवसर प्राप्त गरयो । उनका चालीसभन्दा बढी नाटकहरुले नेपाली नाट्यक्षेत्रलाई समृद्धिको पथमा अगाडि बढाए । समको योगदान नाटक लेखन र मञ्चन दुवै क्षेत्रमा उत्तिकै महत्वपूर्ण रहेको छ । भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, गोविन्द मल्ल ‘गोठाले’, विजय मल्ल, वासु शशी लगायतका नाटककारहरुले नयाँ नेपाली नाट्यपरम्परालाई अझ बलियो बनाए । हालसम्म आइपुग्दा गोपाल पराजुली, अशेष मल्ल, सरुभक्त, अविनाश श्रेष्ठ जस्ता स्थापित नाटककारहरु यस क्षेत्रमा छन् भने अन्य थुप्रै नयाँ पुस्ताका नाटककारहरु प्रशस्त सम्भावना बोकेर उभिएका छन् । काठमाडौँ, पोखरा, धरान लगायत देशका विभिन्न भागहरुमा विभिन्न संस्थाहरु र कलाकारहरुले नाट्यमञ्चन गरिरहेका छन् । रङ्गमञ्चमा प्रस्तुत गरिने नाटकहरु बाहेक रेडियो नाटक तथा सडक नाटकहरुले पनि हाल आएर यथेष्ठ लोकप्रियता हासिल गर्न सक्षम भएका छन् ।
मल्लकालको सांस्कृतिक वैभव बोकेर काठमाडौँदेखि पोखरा बसाई सरेका नेवार सम्प्रदायसँगै यहाँ विभिन्न जात्रा र पर्वहरु पनि भित्रिएका थिए । जसको फलस्वरुप नेवारहरुको बाहुल्यता रहेको पोखराको बजार क्षेत्रमा तायमचा, भैरवनाच, बाघजात्रा, लाखेनाच आदिको प्रचलन अद्यावधि कायमै छ । यहाँ ठाउँठाउँमा रासलीला, दहीलीला, बालुन नाम दिएर कृष्णचरित्र पनि देखाइन्थ्यो । घाँटु, सोरठी, रोइलो आदि पनि यस भेकमा प्रचलित थिए । यी जात्रा, नाच र पर्वहरुमा गेयात्मक भाषा तथा संवाद र नाटकीय प्रस्तुतिहरु भेटिन्थे । केही जात्राहरुका लागि मखुण्डोको प्रयोग पनि आवश्यक थियो । ती बाहेक दोहोरीगीत, गन्धर्वगीत र लोकगीत पनि यहाँको जनजीवनका अभिन्न अङ्ग भए । यसरी नाटकको विधिवत् मञ्चन हुनु अगाडि नै यस भेकका मानिसहरुले नाटकका विभिन्न तत्वहरु समाविष्ट प्रस्तुतिहरु गरिसकेका थिए । अर्कोतर्फ कास्कीमा राज्य गर्ने पहिलेका राजाहरु विद्वान् रहेको जानकारी पनि पाइन्छ । उनीहरुको शासनकालमा नाटक मञ्चन गरिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन । यहाँ संस्कृत भाषाका थुप्रै विद्वान्हरु पनि थिए, जसले नाट्यसाहित्यमा योगदान पुरयाएको हुन सक्ने देखिन्छ । चन्द्रशमशेरको समयमा पोखराका पण्डित कालीदास पराजुलीले भवभूतिकृत उत्तर रामचरित् नाटकको नेपालीमा अनुवाद गरेका थिए, जसलाई अझै पनि एउटा उत्कृष्ट अनुवादका रुपमा लिइन्छ ।
पोखरामा विधिवत् नाट्यमञ्चन भने विक्रम संवत् १९९५ मा शुरु भएको हो । बडाहाकिम भएर पोखरा बसेका धनशमशेर जङ्गबहादुर राणाले मोहरियाटोलस्थित आफ्नै सेतोदरबारमा पोखराको चक्कर नाटक मञ्चन गराएका थिए । धनशमशेर आफैले त्यो नाटक लेखेका थिए, उनका छोरा हरिशमशेरले उक्त नाटकको निर्देशन गरेका थिए । मङ्गलप्रसाद रंजित, तीर्थकुमार बाटाजु, गोफ्ले मुल्मी आदि कलाकार रहेको सो नाटकमा भीमबहादुर भट्टचन र रामबहादुर गौचनद्वारा तयार पारिएका विभिन्न दृश्याङ्कित पर्दाहरुको पनि व्यवस्था थियो । सूर्यबहादुर श्रेष्ठले श्रृङ्गारसम्बन्धी काम गरेका थिए । पोखराको प्रथम मञ्चित नाटक पोखराको चक्करले यहाँको प्राकृतिक सौन्दर्य तथा जनजीवन झल्काउने उद्देश्य राखेको थियो । उक्त नाटकका दर्शक त्यस समयका साहुमहाजन, संगीतकार तथा संगीतप्रेमी र सरकारी कर्मचारीहरु थिए । यसरी वि.सं १९९५ सालमा धनशमशेरको सेतोदरबारबाट पोखरामा नाटकले आफ्नो विकासक्रमको शुरुवात गरयो । तत्पश्चात् झण्डै १० वर्षसम्म सेतोदरबारमा धनशमशेरका नाटकहरु वर्षेनी प्रदर्शित भए । तिनीहरुमध्ये वाणासुर, उषाहरण, मायामच्छेन्द, कृष्ण–सुदामा आदि नाटकहरु चर्चित थिए । साहु, व्यापारीहरु र धनशमशेरका कृपापात्रहरु मात्र ती नाटकका दर्शक हुने गर्दथे । धनशमशेरद्वारा रचित नाटकहरु काठमाडौँका राणादरबारमा प्रदर्शन गरिने उर्दू नाटकभन्दा फरक र धार्मिक भावनामा आधारित एवं शिक्षाप्रद थिए ।
विक्रम संवत् १९९७ सालमा रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको संयुक्त निर्देशनमा सूर्यबहादुर श्रेष्ठ, चन्द्रमान बज्राचार्य, गुलु शाक्य र हिकबहादुर शाक्य लगायतका मोहरियाटोलवासी युवाहरुले राजा हरिश्चन्द्र नाटकको सार्वजनिक मञ्चन गरे भने यो नाटक नै पोखरामा सार्वजनिक रुपमा प्रदर्शित प्रथम नाटक हुन् । उनीहरुकै सक्रियतामा १९९८ सालमा नलदमयन्ती १९९९ सालमा प्रेमविजय नाटकको सार्वजनिक प्रदर्शन भयो । नाटकमञ्चनको क्रम शुरु भइसकेको धेरै समयपछिसम्म पनि महिला कलाकारको अभावमा पुरुषले नै स्त्री भेषभूषामा अभिनय गर्नुपर्दथ्यो ।
विक्रम संवत् २००७ सालमा राणा शासनविरुद्ध राजनीतिक क्रान्ति भयो । पोखरेली रङ्गमञ्चका लागि पनि यो महत्वपूर्ण वर्षमा परिणत भयो । यही साल रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको संयुक्त निर्देशनमा भीमनिधि तिवारीको सहनशीला सुशीला नाटक मञ्चन गरियो । एक सुकादेखि दुई रुपैयाँसम्मको टिकट दर राखिएको यो नाटक नै पोखरामा पहिलोपल्ट टिकटमा प्रदर्शन गरिएको नाटक हो । २००७ सालमा नै रतन र प्रेम परिवर्तन नामका नाटक पनि मञ्चन गरिएको थियो । सोही वर्ष विन्ध्यवासिनी नाटक मण्डलीको गठन भएको थियो, जसले ज्वाला धोंजुको जग्गामा एउटा हलको निर्माण गरी आफ्ना नाटकहरुको प्रदर्शन गर्दथ्यो । यस नाटक मण्डलीले कलाकारलाई डेढ दुई रुपैयाँको पारिश्रमिक पनि दिएको थियो, तर आर्थिक अभावको कारणले लगभग दुई वर्षमा नै विन्ध्यवासिनी नाटक मण्डली बन्द भयो ।
वि.सं. २००९ सालबाट २०१२ सालसम्मका वर्षहरु नाट्यमञ्चनका दृष्टिले विशेष स्मरणीय रहेनन् । वि.सं.२०१३ सालमा चन्द्रकुमार पालिखे र स्थानिय राणाहरुको सक्रियतामा गणेशटोलमा ‘विनायक नाट्यशाला’ को स्थापना भयो । सो नाट्यशालामा भूल, विषालु सांप, किस्मतको फैसला आदि नाटकहरुको मञ्चन गरियो । किस्मतको फैसला नाटकले १८ दिनसम्म चलेर एउटा कीर्तिमान कायम गरेको थियो । तर स्थापनाको दुई वर्षपछि नै आर्थिक समस्याका कारण यो नाट्यशाला पनि बन्द भयो । वि.सं. २०१३ सालमै तेर्सापट्टिमा पनि नाट्यशाला निर्माणको असफल प्रयास गरिएको थाहा हुन्छ । त्यसपछिका वर्षहरुमा महेन्द्रनाथ खनाल नाट्यक्षेत्रमा सक्रिय भए । वि.सं. २०१९ सालमा उनकै सक्रियतामा महेन्द्रपुल निर्माणका लागि नाटक मञ्चन गरिएको थियो । अर्कोतर्फ प्रज्ञारत्न शाक्य, तुलाबहादुर शेरचन, चन्द्रकुमार जोशी आदिले भूपी शेरचनको परिवर्तन, महन्त बज्रको किन रोएको, नन्दलाल पाण्डेको ज्वाला र राँको लगायतका नाटकहरु मञ्चन गरे ।
विक्रमाब्द २०२१ सालमा तत्कालीन नेशनल मल्टिपर्पोज हाइस्कुल (हाल राष्ट्रिय उच्च मा.वि.) का प्रधानाध्यापक श्यामप्रसाद पन्तको निर्देशनमा राजा हरिश्चन्द्रको मञ्चन गरियो । त्यसपछि २०२२ सालमा पृथ्वीनारायण क्याम्पसमा तिलकमान गुभाजुद्धारा निर्देशित शेक्सपियरको म्याक्वेथ प्रदर्शन गरिएको थियो । सोही वर्ष चेतन कार्कीको लेखन तथा निर्देशनमा आत्मा बेचेको छैन पनि प्रदर्शित भयो । बीसको दशकमा पनि पोखरेली नाट्यकर्मले विकसित हुने प्रशस्त अवसर प्राप्त गरेको देखिन्छ । यही दशकमा राघवलाल वैद्यले निर्देशन गर्नुभएको मरुभूमिका लेखक, एक युवक, मखमली चोलो, नायव राइटर जस्ता नाटकहरु पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले देखाएका थिए । उहाँको निर्देशनमा २०२८ सालतिर डाँफे कलामन्दिरद्वारा प्रस्तुत नासोको मञ्चन भयो । वि.सं. २०४१ सालतिर प्रदर्शित सरुभक्तको शिशिरका अन्तिम दिनहरुमा पनि वैद्य नै निर्देशक हुनुहुन्थ्यो ।
पोखरेली नाट्यइतिहासमा बिर्सन नसकिने संस्था डाँफे कलामन्दिर विक्रमाब्द २०२६ सालमा क्याप्टेन मीनबहादुुर गुरुङ्गको सक्रियतामा स्थापित भयो । मनोरञ्जनका साधनको अभावपूर्ण स्थितिमा मनोरञ्जन प्रदान गर्ने, नेपाली संस्कृतिको अनुसन्धान एवं प्रचार प्रसार गर्ने तथा नेपाली लोकगीत, नृत्य र वादनको तालिम दिने उद्देश्यले स्थापित यो संस्थाले २०३२ सालमा घरेलु उद्योग अन्तर्गत दर्ता भई लोकसंस्कृति तथा नाट्यक्षेत्रमा काम गर्दै रह्यो । सोरठी, घाँटु लगायत विभिन्न लोकगाथा र गीतहरुको नाटकीय प्रस्तुति गराई नेपाल तथा भारतका विभिन्न स्थानमा गरी यो संस्थाले चालीसको दशकका अन्त्यसम्ममा दुई दर्जनभन्दा बढी नाटकहरु प्रदर्शन गरेको थियो । पछिल्लो समयमा डाँफेका गतिविधिहरु नाट्यमञ्चनभन्दा पनि गीत, संगीत, नृत्य, वृत्तचित्र निर्माण आदि जस्ता क्रियाकलापमा सक्रिय भएको पाइन्छ । व्यावसायिक उद्देश्यले स्थापित डाँफे कलामन्दिरले वि.सं. २०३५ सालमा मञ्चन गरेको शमशेर गुरुङ्गको मातृभूमिको व्यथाले राम्रो व्यावसायिक सफलता हासिल ग¥यो । यो नाटक राष्ट्रिय नाटक महोत्सवमा पुरष्कृत पनि भएको थियो । यस बाहेक मनबहादुर मुखियाको अनि देउराली रुन्छ जस्ता राम्रा नाटकहरुको मञ्चन पनि डाँफे कलामन्दिरले गरायो । संख्यात्मक रुपमा प्रशस्त नाटकहरु प्रदर्शन गराए तापनि पोखरेली अथवा नेपाली नाट्यजगतमा यस संस्थाका नाटकहरुले स्तरीय नाट्यमञ्चनको परम्परा भने स्थापित गराउन सकेनन्, न त व्यावसायिक नाट्यमञ्चनको बलियो जग हाल्न सके । यद्यपि पोखरेली नाट्यमञ्चनको परम्परालाई भने यो संस्थाले राम्रोसँग धानेको देखिन्छ ।
यसरी सेतोदरबारबाट शुरु गरी आफ्नो अस्तित्वका लागि संघर्षरत पोखरेली रङ्गकर्म तीसको दशकसम्म आइपुग्दछ । तीसको दशक या त्यसभन्दा पछाडि प्रदर्शित नाटकहरुमा ठूलो परिवर्तन आयो । अवश्य पनि तीसको दशक पहिलेका नाटकहरु समय सापेक्ष लोकप्रिय रहे, तर तीसको दशक र त्यसपछिका नाटकहरु अझ स्तरीय र कलात्मक हुँदै गए । तीसको दशक र त्यसपश्चात्को समय पोखरेली नाट्यकर्मले लेखन, निर्देशन र अभिनय क्षेत्रमा कोल्टे फेर्ने युग हो । ठीकठीक तरिकाले बुझ्ने हो भने तीसको दशक नै पोखरेली रङ्गकर्मको इतिहासमा आधुनिककाल प्रवेशको युग हो । यही समयमा यथार्थवादी धारादेखि प्रयोगवादी धारासम्मका नाटकहरु एकसाथ अगाडि आए । यही दशकपछि नै नाटकले संख्यात्मक रुपमा मात्र होइन, गुणात्मक रुपमा पनि विकसित हुने अवसर प्राप्त गरयो । स्तरिय नाट्यमञ्चन हुनुपर्ने आवश्यकताबोधको अनुभव पनि तीस र चालीसको दशकमा राम्रोसँग भएको देखिन्छ । तसर्थ, पहिले नाट्यमञ्चन हुनु नै ठूलो कुरा थियो भने अहिले गुणात्मक रुपले उच्चस्तरका नाटक मञ्चन हुन अपरिहार्य आवश्यकता हो । पहिले नाट्यमञ्चन गर्ने संस्था र व्यक्ति महत्वपूर्ण हुने गर्दथे भने अहिले कलात्मक र स्तरिय नाट्यमञ्चन गर्ने संस्था र व्यक्तिहरु महत्वपूर्ण हुने गर्दछन् । पहिले मञ्चन हुने नाटकहरु संख्यात्मक रुपमा धेरै हुनु पनि यसको विकासक्रमका कडी थिए भने अहिले मञ्चन गरिने स्तरीय नाटक मात्रै विकासक्रमका कडी हुन् । तसर्थ पोखरेली रङ्गकर्मको इतिहास पछिल्लो चरणलाई हेर्दा प्रदर्शित नाटकहरुले यसको विकासक्रममा सहयोग पुरयाए–नपुरयाएको हेर्नुपर्दछ । इतिहास निर्माणमा कुनै पनि कुराको विकास एक हदसम्म अगाडि बढिसकेपछि ‘कति’ भन्दा पनि ‘कस्तो’ भन्ने महत्वपूर्ण हुन्छ । पोखरेली रङ्गमञ्चमा तीसको दशक र त्यसपछाडि प्रदर्शित नाटकहरुलाई यही सर्वमान्य मापदण्डको आधारमा हेरिएको छ ।
विक्रम संवत् २०३० सालपछि पोखरामा थुप्रै संस्थाहरु रङ्गकर्ममा संलग्न हुन पुगे । वि.सं. २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार, वि.सं. २०३५ सालमा स्थापित युवा नाटक परिवार र वि.सं. २०४७ सालमा स्थापित प्रतिविम्बि नाट्यसमूह भने पोखरेली रङ्गकर्मको नवइतिहास निर्माता संस्था बन्न पुगे । ‘साहित्य, कला र संगीतको उत्थान, हाम्रो प्रण’ भन्ने मूलमन्त्र लिएर स्थापित पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) ले चौबीस वर्षको अवधिमा धेरै नाटकहरुको मञ्चन नगराए पनि नाट्यक्षेत्रमा उपलब्धिपूर्ण कार्य भने गराएको छ । वि.सं. २०३५ सालमा नगर विकास प्रशिक्षण केन्द्रको हलमा दुईवटा एकाङ्किहरु टिकटमा प्रदर्शित गरिए । सरुभक्तको लेखन तथा निर्देशनमा डढेलोले खाएको वन र नवराज कार्कीको बत्ती निभ्छ नामका ती दुई नाटकहरु त्यस समयका राम्रा नाटक हुन् । २०३५ सालमै पोखरा र सो क्षेत्र वरिपरि छरिएका र रङ्गकर्मीलाई सङ्गठित गरी नेपाली नाटकको निर्माण र मञ्चन गर्ने उद्देश्यसाथ सरुभक्त, दुर्गा बराल, प्रकट पगेनी, तीर्थ श्रेष्ठ, उषा शेरचन, आकाशमान गुभाजु, जसकाजी गुरुङ्ग, स्व.शंकरराज श्रेष्ठ, आनन्द श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ आदि व्यक्तिहरुको संलग्नतामा युवा नाटक परिवार (युनाप) को जन्म हुन्छ । स्थापना वर्षमै सरुभक्तद्वारा लिखित तथा निर्देशित पूर्णाङ्की नाटक एउटा घरको कथा होइनबाट युनापको नाट्ययात्रा शुरु हुन्छ । महेन्द्रपुलस्थित हाल लुप्त सोरठी हलमा प्रथमपटक प्रदर्शित सो नाटक पाल्पाको तानसेन चलचित्र भवनमा पनि देखाइएको थियो । वि.सं. २०३६ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित नाटक महोत्सवमा उत्कृष्ट निर्देशन र अभिनयतर्फ सान्त्वना पुरस्कार प्राप्त गर्न सफल उक्त नाटकका निर्देशक सरुभक्तले निर्णय प्रक्रियाप्रति असहमति जनाई पुरस्कार अस्वीकार गर्नुभएको थियो ।
युनापको जन्मसँगै नाटकहरुको स्तरमा गुणात्मक सुधार आएको पाइन्छ । सरुभक्तको सक्रिय नाटक लेखन र निर्देशनले पोखरेली रङ्गकर्मलाई गति प्रदान गरेको छ । पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयको स्नातकोत्तर तह शुरु भएको उपलक्ष्यमा वि.सं. २०३६ सालतिर सरुभक्तको सराप परेको घर मञ्चन भयो । युनापको अर्को नाटक गोलार्धको कालो आकाशका निमित्त राष्ट्रिय नाटक उत्सवमा प्रकट पगेनी ‘शिव’ उत्कृष्ट अभिनयका लागि पुरस्कृत भए । वि.सं. २०३८ सालमा अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष मनाउन आयोजित अपाङ्ग नाटक प्रतियोगितामा युनापकै नाटक यामभरिको सपना उत्कृष्ट नाटक घोषित भई पुरस्कृत पनि भए । यी बाहेक त्यो पत्थरमूर्ति बन्दैन, असाधारण पिंजडा जस्ता प्रयोगात्मक नाटक पनि युनापले मञ्चन गराएको थियो । यी सबै नाटकहरु सरुभक्तकै लेखन र निर्देशनमा मञ्चित भएका थिए । २०३८/३९ सालपश्चात्का वर्षहरुमा युनाप र पोयुसांप रङ्गमञ्चीय गतिविधितर्फ सुषुप्त हुन पुगे । यही समयताका हिन्दी चलचित्रका अमजद खाँ, राजकुमार, दिलीपकुमार लगायतका कलाकारहरुको नक्कल पोखरेली रङ्गकर्मीहरुले गर्न थालेका थिए । विक्रमाब्द २०३९ देखि २०४३ सालसम्म विन्ध्यवासिनी युवा क्लब रङ्गकर्ममा सक्रिय रह्यो । रमेश अधिकारीको प्रत्यागमन, इच्छाहरु विष्फोट हुन्छन्, विसंगतिभित्रका व्यथाहरु, भीमनिधि तिवारीको सहनशीला सुशीला, सरुभक्तको शिशिरका अन्तिम दिनहरु, जितेन्द्र महत ‘अभिलाषी’ को वातावरण जस्ता केही सार्थक नाटकहरुको मञ्चन उक्त क्लबद्वारा गराइएको थियो ।
विक्रम संवत् २०४३ सालमा सुर्योदय युवा क्लबले दीपकराज शर्माद्वारा लेखिएको जब इज्जत सल्कन्छको मञ्चन गरायो । अनुप बरालको निर्देशन रहेको उक्त नाटकको मञ्चनपछि पोखरेली नाट्यकर्ममा मञ्चन र प्रस्तुति पक्ष पनि सुदृढ बन्ने सम्भावनाहरु देखिन थाले । त्यसपछि २०४५ सालमा सुर्योदय युवा क्लबबाट रङ्गयात्रा शुरु गरेका रङ्गकर्मीहरु अनुप बराल, दीपकराज शर्मा, प्रकाश घिमिरे, प्रेमकुमार पुन आदिको सहभागितामा पोखरेली युवा सांस्कृतिक परिवारले सरुभक्तको ताण्डवनृत्य र अजम्बवरी भ्वायलिनको प्रदर्शन गराए । २०४६/४७ सालमा पोयुसांपद्धारा नै जिउँदा अवशेष नामक नाटकको मञ्चन गरियो । यी दुई नाटकले रङ्गकर्ममा स्तरीयताको परम्परालाई आत्मसात गरे । वि.सं २०४८ सालमा पोयुसांपको व्यवस्थापन र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको आयोजनामा पोखरामा माधवप्रसाद घिमिरेको बहुचर्चित नाटक मालती–मंगलेको प्रदर्शन सम्भव भयो । त्यस समय पोखरेली दर्शकहरुले एउटा अर्को स्तरीय नाटकको स्वाद चाख्न पाएका थिए । पोयुसांपले उक्त नाटकको प्रदर्शनीबाट प्राप्त रकमको अक्षयकोष खडा गरी पश्चिमाञ्चल क्षेत्रका वाड्मय साधकहरुलाई पुरस्कृत एवं सम्मानित गर्ने हेतुले ‘शिरोमणि पुरस्कार’ को स्थापना गरयो । विक्रमाब्द २०५५ सालमा नेपालमै दोस्रोपटक र पोखरामा पहिलोपटक तीनदिने पश्चिमाञ्चल क्षेत्रीय नाटक महोत्सव पनि पोयुसांप र नेराप्रप्रको संयुक्त आयोजनामा भएको थियो । यसलाई पोखरेली नाट्यइतिहासको महत्वपूर्ण कदम मान्नुपर्दछ, किनभने त्यसभन्दा अगाडि पोखरामा त्यति ठूलो नाट्यकार्यक्रम भएको थिएन । उक्त अवसरमा झण्डै एक दर्जन नाटकहरु मञ्चन गरिएका थिए ।
राजनीतिक आन्दोलनपछि वि.सं. २०४६ साल चैत्रमा देशको राज्यव्यवस्था परिवर्तनसँगै पोखरेली रङ्गकर्म फेरि एउटा परिवर्तनका युगमा आइपुग्दछ । तीस चालीसको दशकमा नाट्यलेखनमा देखिएको ठूलो परिवर्तन र मञ्चनमा आएको सुधारलाई सुदृढीकरण गर्दै चालीसको दशकको अन्त्यतिर र पचासको दशकमा प्रतिविम्ब नाट्यसमूहका प्रस्तुतिहरुले रङ्गकर्मको मञ्चन पक्षलाई कलात्मकता र स्तरीयताको शिखरमा पु¥याए । वि.सं. २०४७ साल असार २ गते कलाकार दुर्गा बराल, नाटककार सरुभक्त, कवि तीर्थ श्रेष्ठ, रङ्गकर्मी अनुप बराल लगायत चालीसजना साहित्यकार, कलाकार, संगीतकार र रङ्गकर्मीहरुको संलग्नतामा प्रतिविम्ब नाट्यसमूहको जन्म हुन्छ । मानवीय सम्बन्ध र संवेदनलाई केन्द्रविन्दु बनाइएका सार्थक कलात्मक र गम्भीर नाटक गर्न प्रयासरत हुने, लोककथा र संस्कृतिको संरक्षण एवं तिनीहरुलाई आधुनिक परिवेशमा उपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका नाटक निर्माण गर्ने, नाट्यविधासम्बन्धी प्रशिक्षण कार्यशाला गोष्ठी आयोजना गर्ने, नाटकलाई ग्रामीण जनजीवनसम्म पु¥याउने जस्ता थुप्रै उत्साहजनक उद्देश्य राखेर स्थापित प्रतिविम्ब हाल नेपालकै चर्चित नाट्यसंस्थाको रुपमा परिचित छ । आफ्नो स्थापनाकालका वर्षहरुमै उच्चस्तरीय नाटकहरुको मञ्चन गरेर चर्चामा आएको प्रतिविम्ब, यसका नाटकका र रङ्गकर्मीहरु वर्षैपिच्छे राष्ट्रिय पुरस्कारहरुबाट सम्मानित हुँदै आएका छन् । फलस्वरुप एकातर्फ यसका कलाकारहरु राष्ट्रिय रुपमा परिचित र सम्मानित भए भने अर्कोतर्फ यसले पोखरेली रङ्गकर्ममा गहिरो छाप पार्न सफल भयो ।
स्थापना वर्षमा अनुप बरालद्धारा निर्देशित हृदयचन्द्रसिंह प्रधानको मरुभूमिका लेखक नाटक थुप्रै अनुभवी रङ्गकर्मीहरुको संलग्नतामा मञ्चन गरेपछि प्रतिविम्बले नाट्ययात्रा शुरु गरेको हो । त्यसपछि अनुप बराल, दीपकराज शर्मा र सरुभक्तको निर्देशनमा थुप्रै नाटकहरुको मञ्चन गरियो । जिउँदा अवशेषहरु, ताण्डवनृत्य र अजम्बरी भ्वाइलिन, बहुला कहिंका, अग्निपर्खाल नाटकहरु सरुभक्तको निर्देशनमा मञ्चित सार्थक नाटकहरु हुन् भने दिपकराज शर्माले एकरात र युद्ध उही ग्याँस चेम्बरभित्रको निर्देशन गरेका थिए । यी सबै नाटकहरु सरुभक्तद्धारा लेखिएका हुन् । युद्ध उही ग्याँस चेम्बरभित्र वि.सं. २०४९ सालको राष्ट्रिय नाटक महोत्सवमा भाग लिएको अत्यन्त विवादस्पद नाटक थियो । वि.सं. २०४७ सालमा सरुभक्तकै इदमित्थम् नामक एकालापमा अनुप बरालले एकल अभिनय गरी दर्शकहरु समक्ष एउटा स्तरीय र नौलो प्रकारको स्वाद दिन सफल भएका थिए । त्यसैगरी इत्यादि प्रश्नहरु, जेमन्त, एउटा कथा म भन्छु, क्रिया याने नाम सर्वनाम विशेषण, मलामी, मलामीहरु, अपात्र, रेलीमाई रेलीमाई रेलीमाई नाटकहरुको सशक्त प्रदर्शनीले प्रतिविम्बको गौरवशाली इतिहास निर्माणमा सहयोग गरेका हुन् । पछिल्लो समयमा मञ्चन गरिएका सरुभक्तका नाटकहरु मलामी, मलामीहरु रमेश के.सी को अपात्र र सरुभक्तकै लोकनाटक बरै त्यस्ता उच्चस्तरीय नाटक हुन् जसको प्रस्तुतिको तुलना अन्तर्राष्ट्रिय स्तरका नाटकहरुसँग गरिए । राजधानीमा प्रदर्शित ती नाटकहरु नै अन्य राष्ट्रिय स्तरका नाटकहरुलाई प्रभावित पार्न मुख्य नाटकका रुपमा परिणत भएका छन् । सरुभक्तका दुई धार्मिक नाटकहरु एस धम्म सनन्तनो र भिख्याम् देहीको प्रभावशाली प्रदर्शनी पनि अनुप बरालको निर्देशनमा भएको थियो । यस बाहेक उनकै निर्देशनमा तयार गरिएका आस्थामा उठेका हातहरु (भगवती चरण वर्माको बुझता दीयाको नेपाली अनुवाद), न्यायप्रेमी (अलवर्ट कामु) र हेलो आउट देअर (विलियम सरायोन्) गरी तीन विदेशी नाटकहरु विदेशी परिवेशमै मञ्चन गरी प्रतिविम्बले लोकप्रिय प्रस्तुतिहरु दिएको थियो । मृत्युदर र मृत्यु बिक्रेता जस्ता सडकनाटक गाउँघरका नाटकहरु, गाउँघरको कथा यस्तै हुन्छ है (भाग १ र २) जस्ता ग्रामीण नाटकहरु पनि प्रतिविम्बबाट मञ्चन गरिएका छन् । ग्रामीण नाटकयात्रा गाउँघरको परिवेशमा नाटक लेखेर त्यहीका घरआँगनमा प्रस्तुत गर्ने नवीनतम् प्रस्तुति हो । यसबाहेक समय समयमा रङ्गकर्म सम्बन्धी कार्यशाला र प्रशिक्षणको आयोजना गर्न यो संस्थाले हाल नियमित प्रशिक्षणको समेत व्यवस्था मिलाईएको छ ।
पचासको दशकमा अनुप बरालद्धारा निर्देशित नाटकहरुले राष्ट्रिय रुपमै हलचल मच्चाइदिए । राजधानीका सर्वनाम, आरोहण जस्ता चर्चित नाट्यसंस्थाको प्रस्तुतिलाई उछिनेर प्रतिबिम्बले अनुप बरालको निर्देशनमा गरिएका नाटकहरुद्धारा रङ्गमञ्चीय दृष्टिकोणले परिमार्जित र कलात्मक नाट्यमञ्चनको परम्परा स्थापनाका लागि शंखघोष ग¥यो । विदेशका अनुदित नाटकहरु मञ्चन गर्दा गहन अध्ययन नगरी त्यहाँको संस्कृति, सभ्यताको उपयोग कल्पनाकै भरमा गर्ने, अनूदित विदेशी नाटकलाई विदेशी परिवेशमै मञ्चन गर्दा रङ्गमञ्चमा नेपाली समाजमा प्रयोग गरिने सामग्रीहरु उपयोग गर्ने, नेपाली लोकनाटक मञ्चनमा लोकसंस्कृतिको प्रदर्शन गर्दै प्रस्तुतिगत नवीनता नखोज्ने प्रयोगात्मक शैलीका नाटक मञ्चन गर्दा यथार्थवादी वा अन्य नमिल्दा शैलीको मञ्च तथा मञ्चन शैलीलाई अँगाल्ने आदि प्रौढताहीन प्रवृत्तिलाई हटाई अनुप बरालद्धारा निर्देशित नाटकहरुले देशमा अन्य स्थापित नाट्यसंस्थालाई चुनौती दिए । जसको फलस्वरुप अचेल राष्ट्रिय स्तरमै प्रदर्शित नाटकहरुमा पनि अनुप बरालको छाप देखिएको कुरा समालोचकहरुले बताउने गरेका छन् ।
प्रतिबिम्ब सँगसँगै स्थापना भएका पोखराका हिमशिखर कला परिवार र ॐ शिवकला केन्द्र पनि पोखरेली रङ्गकर्मको विकासक्रममा विर्सन नसकिने नामहरु हुन् । हिमशिखर कला परिवारका गोविन्द कोइराला प्रशस्त सम्भावना बोकेका नाटककार हुन् भने ॐ शिवकला केन्द्रका कृष्ण उदासी राम्रो कलाकार बन्न सक्ने सम्भावना छ । पर्दाभित्रका अनुहार, मान्छेमान्छेका रुपरङ्ग, विश्वासघात, शहीदको रगत, अदृष्य मान्छेहरु, इतिहास फेरि दोहोरिन्छ, एक पुरिया विष आदि नाटकहरु हिमशिखर कला परिवारका प्रस्तुतिहरु हुन् । महेन्द्र मलङ्गियाद्धारा लिखित एक पुरिया विष लोकप्रिय  नाटक थियो, जसको प्रदर्शन धेरै पटकसम्म गरियो । पश्चात्ताप, अँध्यारो बस्ती, अन्तिम संहार, पैसठ्ठी सय, असीम कल्पना लगायतका नाटकहरु ॐ शिवकला मन्दिरद्धारा प्रस्तुत गरिएका हुन् । यी बाहेक थुप्रै रेडियो नाटकहरु पनि यस संस्थाले तयार पारेको छ । पोखराबाट पूर्वतिर भण्डारढिकमा सडक नाटकहरु प्रदर्शन गर्ने उद्देश्यले वि.सं. २०५० सालमा आदर्श नाट्यसमूह नामक संस्थाको स्थापना भएको थियो । यो संस्थाले यमलोकमा एक दिन, निम्त्याएको मृत्यु, बाँच्ने आशा लगायत अन्य सडक नाटकहरु मञ्चन गरेका छन् ।
यी बाहेक पोखरेली रङ्गकर्ममा समर्पित अन्य नाट्यसंस्थाहरु प्नि छन् । हिमाली सांस्कृतिक परिवार, क्षितिज नाट्य परिवार, दीर्घजीवी, नवप्रतिभा नाट्य परिवार, धर्मसेवा परिवार, जमर्को साहित्य प्रतिष्ठान, सिर्जनशील साहित्य सदन जस्ता संस्थाहरु प्रशस्त सम्भावना बोकेका रङ्गकर्मी एवं नाटककारहरुलाई समेटेर उभिएका छन् । यी संस्थाहरु मिलेर केही समयअगाडि दोस्रोपल्ट क्षेत्रीय नाटक उत्सव पनि सम्पन्न गराएका थिए । स्तरिय नाट्यमञ्चनको परम्परालाई आत्मसात गर्दै अगाडि बढ्न सके पोखरालाई नाट्यकर्मको राजधानी नै बनाउन सक्ने सम्भावना पनि यी संस्थाहरुले देखाएका छन् । पोखराको नाट्य गतिविधिमा थप आयामको रुपमा विभिन्न विद्यालयहरुमा मञ्चन गरिने नाटकहरु रहेका छन् । निजी स्तरमा सञ्चालित प्रायः विद्यालयहरुले प्रतिवर्ष कम्तिमा पनि एउटा बालनाटक अभिभावक तथा विद्यार्थीहरु माझ प्रदर्शन गराउने चलन चलाएका छन् ।
यसरी झण्डै साठी वर्षभन्दा लामो इतिहास बोकेको पोखरेली रङ्गकर्मले नेपालको समुच्च वाङ्मय क्रियाकलापमा महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षाप्रद तथा धार्मिक नाटक, प्रहसन आदिबाट परिमार्जित र परिवर्तित भई हालसम्म आइपुग्दा यथार्थवादी, प्रयोगवादी, विसंगतिवादी, समस्यामूलक जस्ता विभिन्न धाराका नाटकहरुसम्मको यात्रा पोखरेली रङ्गकर्मले गरेको छ । ग्रामीण नाटक, सडक नाटक र क्षेत्रीय नाटक उत्सव जस्ता उदाहरणीय एवं प्रशंसनीय कार्यहरु पनि यहाँ भएका छन् । यसबाहेक सरुभक्तका विज्ञान नाटकहरु पनि पोखराकै उपज हुन् । चालीसको दशकमा लेखिएको इथर नामक विज्ञान नाटक नेपालकै प्रथम विज्ञान नाटक हो । यद्यपि यस्ता नाटकहरु रङ्गमञ्चमा आवश्यक प्रविधि उपलब्ध नभएका कारण मञ्चन भने हुन सकेका छैनन् । तर यिनीहरुले मञ्चनमा पनि आफ्नो अलग्गै पहिचान बनाउन सक्ने सम्भावना भने रहेकै छ । पूर्णाङ्की मात्र होइन एकल अभिनयको प्रदर्शनी पनि यहाँ भएको छ । साहित्यका अन्य विधाहरु कथा र कविताका मञ्चन सम्बन्धमा पनि यहाँ कुरा नउठेका होइनन् । अन्य भाषामा लेखिएका नाटकहरुको अनुवाद, तिनीहरुको नाट्यपाठ र मञ्चनको परम्परा पनि निर्माण भइसकेको पाइन्छ । यस प्रकार पोखरामा रङ्गकर्मले विविधता प्राप्त गरेको छ । आधुनिक विश्व नाट्यजगत्मा आएको परिवर्तन र नौलोपनबाट यहाँको रङ्गकर्म पनि प्रभावित भएको पाइन्छ ।
राष्ट्रिय स्तरमै प्रख्यात तथा प्रयोगात्मक नाट्यरचनामा अग्रगन्य नाटककार सरुभक्तलाई पोखरेली रङ्गकर्मले नै जन्माएको हो । कलाकार र निर्देशक समेत रहिसकेका सरुभक्तका नाटकहरुले विशिष्ट पहिचान निर्माण गरिसकेका छन् । प्रतिविम्बले नेपालमा प्रदर्शन गरिने नाटकहरुको रङ्गमञ्च विधामा क्रान्ति नै ल्याएको कुरा माथि उल्लेख गरिसकेको छ । भारतको राष्ट्रिय नाट्यविद्यालयमा स्नातक अनुप बराल पनि रङ्गकर्ममा समर्पित स्थापित कलाकार हुन् । उनको अभिनय र निर्देशनमा पाइने जीवन्तता, कलात्मकता, सौन्दर्यचेतना र नवीनता उल्लेखनीय पक्ष हुन् । नेपाली चलचित्र जगत्का ख्यातिप्राप्त निर्देशक चेतन कार्कीले पनि आफ्नो रङ्गकर्मको साधना पोखरामै गरेका थिए । नेपाली चलचित्रका कुनै समय चर्चित फिल्मी नायक अर्जुनजङ्ग शाही पोखरेली रङ्गकर्ममै काम गर्थे । यी बाहेक अन्य राम्रा कलाकारहरुलाई पनि पोखरेली रङ्गकर्मले जन्माएको छ । जहाँ मञ्चन गरिएका नाटकहरुले यस्ता प्रभावपूर्ण कार्यहरु गरेका छन्, त्यहाँका नाटकहरुलाई हेयका दृष्टिले हेर्नु अवश्य पनि कमजोर विश्लेषणमा आधारित हुनु हो । यही अर्थमा पोखरेली रङ्गकर्मको साठ्ठी वर्षे इतिहासलाई सफल मान्नुपर्दछ ।
यति हुँदाहुँदै पनि पोखरेली रङ्गकर्मले अनेकौँ समस्याहरुको सामना गर्नु परिरहेको छ । प्रथमतः नाट्यमञ्चनका निमित्त यहाँ सुव्यस्थित नाट्यशाला नै छैन । पोखरा उद्योग वाणिज्य संघ र दीपेन्द्र सभागृहको हललाई आफ्नो रङ्गमञ्च बनाई पोखरेली नाटकहरु मञ्चन गर्दै आएको छ । सभा, गोष्ठी या यस्तै कार्यक्रमका लागि बनाईएका ती हलहरुमा नाटक प्रदर्शनका लागि आवश्यक सुविधाहरु, प्रकाशका उपकरण, ध्वनिव्यवस्था, उपयुक्त पर्दा लगायत अन्य थुप्रै कुराको अभाव भएकाले त्यहाँ प्रदर्शित नाटकहरुमा प्राविधिक कुशलताको अनुभव हुन सक्दैन ।
रङ्गकर्म आर्थिक दृष्टिकोणबाट उत्पादक विधाका रुपमा स्थापित हुन नसक्नु पनि यसको विकासमा बाधा पु¥याउने गम्भीर तत्व हो । नाट्यकर्ममा संलग्न नाटककार, कलाकार आदिलाई यही विधाबाट जीविकोपार्जन हुने सपना आकाशको फल नै भयो, यहाँ त आफ्नै पैसा खर्च गरेर नाटकको प्रदर्शन गर्नुपर्ने विडम्बना अद्यावधि कायमै छ । यस्तो परिस्थितिमा रङ्गकर्ममा संलग्न व्यक्तिहरु पारिवारिक, आर्थिक र सामाजिक समस्याहरुको भुमरीमा रुमलिन पुग्छन् । युवावस्थाका केही वर्ष यस क्षेत्रमा काम गरेर तिनै समस्याहरुमा परेपछि नाट्यक्षेत्रबाट पलायन हुनु परेको अनुभव थुप्रै पुराना रङ्गकर्मीहरुसँग छन् । नाटक प्रदर्शपछि त्यसको मञ्चनमा लागेको खर्च पनि नउठ्ने सोचनीय स्थितिका कारण थुप्रै नाट्यसंस्थाहरु दुई–चार नाटकको प्रदर्शनसँगै निस्कृय हुन पुगेका छन् । यदाकदा केही सरकारी, गैरसरकारी संघ–संस्थाहरुले नाट्यमञ्चका निमित्त आर्थिक सहयोग गरेको पनि देखिन्छ । तर तिनै दातृसंस्थाको उद्देश्य या निहीत स्वार्थको पूर्ति गर्न मञ्चन गरिने त्यस्ता नाटकहरुमध्ये धेरैजसो नाटकले रङ्गकर्मको विकासमा योगदान पुरयाउन नसकेको भेटिन्छ । यद्यपि जनचेतना जगाउने वा ती संघ–संस्थाको प्रचार प्रसार गर्ने काममा ती नाटकहरु सफल हुन सक्ने सम्भावनालाई भने नकार्न सकिदैन ।
नाट्यलेखन र रङ्गकर्मका लागि आवश्यक प्रशिक्षणको अभाव पनि पोखरेली रङ्गकर्मको विकराल समस्या हो । हुन त नाटककार र रङ्गकर्मीहरुलाई प्रशिक्षणको अभावमा अपरिपक्व नै रहेको भन्दा आरोप भन्ने पनि लाग्न सक्दछ , तर यथार्थ भने यो भन्दा पनि नमीठो छ । यहाँ प्रदर्शित थुप्रै नाटकहरुमाथि स्तरीयताको प्रश्न उठेको छ र अझै पनि उठिरहेको पाइन्छ । अभिनय, मञ्चसज्जा, मञ्चसामग्रीको प्रयोग, भेषभूषा प्रयोगमा पाइने प्रौढताको अभाव, नाटकको कथ्य र संवादमा पाइने हल्कापन, विषयवस्तु र शैलीमा भेटिने विसंगति, नाट्यशैली र मञ्चनशैलीबीच तालमेल नमिल्नु आदि थुप्रै कमजोरीहरुले अझ पनि धेरै कलाकार, नाटककार र नाट्यसंस्थाहरुले प्रशस्त मिहेनत गर्नुपर्ने आवश्यकता देखाउँछन् । प्रतिविम्बले समय रङ्गकर्मसम्बन्धी प्रशिक्षण र गोष्ठीहरुको आयोजना गरेको थियो । हाल आएर अनुप बराल र अनुराधा बरालको सक्रियतामा प्रतिविम्बद्धारा नियमित प्रशिक्षणका लागि नदीपुरमा प्रशिक्षणगृह समेत निर्माण भएको छ । यसबाट पोखरेली कलाकारहरुलाई राम्रो सहयोग हुने आशा राख्न सकिन्छ ।
टेलिभिजन, सिनेमा जस्ता माध्यमबाट मनोरञ्जन लिन अभ्यस्त दर्शकहरुमाझ निरस, स्तरहीन र प्रभावहीन नाटकहरुको प्रस्तुति हुने गरेका कारण पनि नाट्यकर्मीहरुले दर्शक निर्माणका निमित्त ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । रङ्गकर्ममा संलग्न पुरुष कलाकारहरुप्रति अझै पनि पारिवारिक असन्तोष उत्पन्न रहिरहेकै परिस्थितिमा महिला कलाकारहरुको बाटोमा त झन धेरै अवरोधहरु छन् । परिणामस्वरुप पोखरेली रङ्गकर्मले नारी कलाकारको अभाव पनि भोग्नु परिरहेकै छ ।
यस्तै चिन्ताजनक परिस्थितीमा अल्झिएको यहाँको रङ्गकर्मलाई राज्य र समाजले प्रोत्साहित नगर्दा अझ निराशाजनक स्थितिको सिर्जना भएको छ । रङ्गकर्म एउटा सामाजिक कार्य नै हो । एउटा असल समाजको अभावमा रङ्गकर्म फष्टाउन सक्दैन । तर हाम्रो समाजमा यसलाई प्रोत्साहन दिनुपर्छ भन्ने सामाजिक चेतनाको विकास हुन सकेको छैन । अर्कोतर्फ वर्तमान परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्ने राज्य पनि यस सम्बन्धमा मौन नै छ । समाजमा रङ्गकर्मप्रतिको रुचि र चेतना जागृत नहुञ्जेल राज्यले यसको संरक्षण गुर्नपर्ने हो, तर राज्यकै बेवास्ताका कारण पनि रङ्गकर्म अझ भयावह दलदलमा फस्ने सम्भावना बढ्दै गइरहेको छ ।
यसरी आद्योपान्त सिंहावलोकन गर्ने हो भने एउटा कालखण्ड पार गरिसकेको पोखरेली रङ्गकर्म अझै पनि पुरानै दरिद्रतामा जकडिएर छटपटाउँछ । पोखरेली तीसको दशकमा नाट्यलेखनमा प्रवेश गरेका सरुभक्त बाहेक अन्य नाटककारहरु पचासको दशकसम्म पनि पाउन सकेका छैनन् । हुन त केही नाटककारहरुमा सम्भावनाका धिप्धिपे ज्योतिहरु नदेखिएका हैन, तर त्यो ज्योतिलाई आभापुञ्ज बनाउन निरन्तर प्रयासको आवश्यकता छ । धेरै समयसम्म पोखरेली रङ्गकर्मले सरुभक्त बाहेक स्तरीय निर्देशकको अभाव पनि भोगिरह्यो । तर चालीसको दशकमा अन्तिम केही वर्ष र पचासको दशकमा भने अत्यन्त सशक्त युवा निर्देशक तथा कलाकार अनुप बराल अगाडि आए । यही समयमा पनि सरुभक्त नाट्यलेखनमै बढी क्रियाशील भएपछि अनुप बराल बाहेक अर्को स्तरीय निर्देशकको अभावले पोखरेली रङ्गकर्म पीडित नै छ । नाटककार, निर्देशक र कलाकारको स्तरीयताको मापक प्रदर्शित नाटक नै हुने हुँदा तिनै नाटकको आधारमा हेर्दा पोखरेली रङ्गकर्मीहरुले स्तरीय रङ्गकर्म विकासका लागि अझ थुप्रै प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ । पोखरेली रङ्गकर्मीहरुले समन्वयात्मक रुपले यस सम्बन्धमा विचार विमर्श, प्राविधिक कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता छ ।
पोखरेली रङ्गकर्मको समुत्थानका निमित्त प्रथमतः सम्पूर्ण पोखरेली रङ्गकर्मीहरुको सामूहिक प्रयास आवश्यक छ । एक अर्कामाथि दोषारोपण गरेर बस्नुभन्दा सामुहिक रुपमा सृजनात्मक प्रयास गर्नुले नै यहाँको रङ्गकर्मलाई टेवा दिन सक्दछ । विषय र प्रस्तुति दुवैमा वैचारिक गाम्भीर्य, परिपक्वता र कलात्मक भएका नाटकहरुको मञ्चन आज नितान्त जरुरी भएको छ । कथ्य, विचार र शैलीमा सन्तुलन भएका नाटकहरु एवं नेपाली लोक परिवेश, भाषा, शैली र शिल्प प्रयोग भएका नाटकहरुको लेखन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । सिनेमा र टेलिभिजनको दर्शक बनिसकेका पोखरेली आमदर्शकलाई टेलिभिजन सिरियल र फिल्महरुभन्दा अलग, मौलिकतापूर्ण, कल्पनाशील, रसवार नेपाली प्रस्तुति भएका स्तरीय नाटकहरु देखाउन सक्नुपर्दछ । रङ्गकर्मीहरुमाझ अध्ययन, विचार र छलफलको अभाव छ । यसलाई सुधार गर्दै एक अर्काबीच कामको कदर गर्ने, वैचारिक छलफल गर्ने, अनुभवी रङ्गकर्मीबाट प्रशिक्षण कार्यशालाहरु सञ्चालन गराई ज्ञान लिने जस्ता कार्यहरु गर्न सकेमा रङ्गकर्मीहरुले स्तरीय नाटक मञ्चन गर्न सक्षम हुन सक्दछन् । सामाजिक रुपमा सुसंस्कृत र सुरुचि सम्पन्न नाट्य दर्शकहरुको निर्माण गर्न योजनाबद्ध रुपमा काम गर्ने, आर्थिक आत्मनिर्भरताका लागि कल्याणकोषहरुको निर्माण गर्ने जस्ता कार्यहरुले नाट्यविधालाई आर्थिक रुपमा पनि माथि उठाउन मद्दत पु¥याउने छन् । सुव्यवस्थित नाट्यशालाको निर्माणका लागि आवश्यक प्रयास गर्ने, पत्रपत्रिका, बुलेटिन आदि सञ्चारका माध्यमहरुमा नाटकलाई प्रभावशाली रुपमा प्रवेश गराउने वा त्यस्ता पत्रिकाहरु प्रकाशन गर्ने जस्ता कार्यहरु गर्न सकेमा पोखरेली रङ्गकर्मीलाई अझ अगाडि बढाउन सकिने छ । आफ्नो सामाजिक, मानवीय र नाट्यछवि उज्ज्वल राख्न रङ्गकर्मीहरुले अझै ठूलो संघर्ष गर्नुपर्ने छ । नाट्यक्षेत्रमा पूर्ण समर्पित भएर लाग्ने रङ्गकर्मीहरुको अभाव भइरहेकै समयमा नाटकप्रति सामाजिक चेतनाको पनि विकास गराउनु पर्ने देखिन्छ । राज्य, समाज वा नगरपालिकाले पनि यस क्षेत्रको संरक्षणमा ध्यान पु¥याई यहाँको कला, संस्कृति र रङ्गकर्मको संवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
निष्कर्षमा भन्नुपर्दा पोखरेली रङ्गकर्मले पार गरेको लामो अवधि, तीतामीठा अनुभवहरु र यसको विकासमा समर्पित रङ्गकर्मी एवं नाट्यसंस्थाहरु प्रशंसनीय छन् । सामान्य नौटङ्की जस्तो रुपबाट लेखनको विविधता, नवीनता र स्तरीयता हुँदै मञ्चनको कलात्मकता, सौन्दर्य चेतना, नवीन र प्रभावशाली सार्थक प्रस्तुतिसम्म आईपुगेको पोखरेली रङ्गकर्म अवश्य पनि निकै परिमार्जित र परिवर्तित भइसकेको छ । विभिन्न समस्याहरुसँग संघर्ष गर्दै राष्ट्रिय रुपमा परिचित भईसकेको यहाँको रङ्गकर्मले अझै अरु प्रगति गर्नुछ, गर्ने पनि छ । आशाका प्रशस्त किरणहरुले पोखरेली रङ्गकर्म अझै जगमगाएकै छ । निश्चय पनि कुनै दिन यहाँको रङ्गकर्म सूर्यझै आफ्ना किरणहरु यत्रतत्र ओतप्रोत हुने गरी फैलाउन सफल हुने नै छ ।

वि.सं. २०५७ मा प्रकाशित ‘हेरालो’ पोखरा अवलोकन अंक २ बाट साभार

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *