role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा स्वास्थ्य स्थिति : विगत र वर्तमान एक विवेचना

पोखरामा स्वास्थ्य स्थिति : विगत र वर्तमान एक विवेचना
—डा.एस.बी. गुरुङ्ग

वि.सं. २०२२ साल भन्दा अगाडिसम्म पोखरामा मानव बस्ती साह्रै पातलो थियो । औलो रोगको प्रकोपले गर्दा यस पोखरा खाल्डोमा डाँडाकाँडाका मानिसहरु प्रायः एक रात बिताउन पनि डराउँथे । रात–साँझ गरेर आफ्नै ठाउँमा पुग्थे ।
जब औलो उन्मूलन संघले व्यापक रुपमा डी.डी.टी. पाउडर छर्केर २०२८ सालमा औलो रोग सार्ने एनोफिलिस नामक लामखुट्टे नियन्त्रणमा आई औलो रोग उन्मूलन भएको घोषणा ग¥यो तब बिस्तारै पोखरा भेक वरपर अन्य क्षेत्रहरुबाट समेत मानिसहरु बसाइँ सर्दै पोखरामा आई बस्न थाले । यो क्रमले २०३४ सालपछि आएर तीब्र रुप लियो । जसले गर्दा पोखराको जनघनत्व र आवादी बढ्न गई स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु पनि देखा पर्न थाल्यो ।
स्वास्थ्यसम्बन्धी विगतको इतिहास
पोखराको स्वास्थ्यसम्बन्धी विगतको इतिहास केलाउँदा प्रायः मानिसहरु रोग लागेमा झारफुक गर्ने, धामी झाँक्री लगाउने, भाकल गर्ने, दोबाटो–चौबाटोमा लगेर मन्छाउने आदि गर्थे । औषधीको रुपमा घर वरिपरि जडीबुटीहरु पतिना, घोडताप्रे, तुलसी, निमपात आदि पिंधेर खाने र खुवाउने चलन नै ज्यादा थियो । प्रत्येक रात जसो टोलमा थाल ठटाएर धामी बसेको आवाज बिहान हुने बेलासम्म पनि आइरहन्थ्यो ।
पोखरामा त्यसताका प्रायः मानिसहरु नालामुखका साहिँला बैद्य, काइँला बैद्यकोमा गएर आयुर्वेदिक औषधोपचार गर्ने गर्थे । जसमा प्रायः औषधीहरु वैद्य वा आफैले खलमा पिसेर बनाएको धूलो र गुलेलीमा हाल्ने मट्याङ्ग्रो जस्ता हुन्थे ।
साना बच्चाहरुको लागि त्यसताका नदीपुरमा डा.प्रकाश तुलाचन (होमियोप्याथिक) निकै प्रख्यात हुनुहुन्थ्यो ।
आधुनिक चिकित्सासम्बन्धी उपचार गर्ने केन्द्रहरु ज्यादै नगण्य थियो । जसमा विदेशी मिशनरिज्हरुद्धारा सन् १९५२ देखि बगरको टुँडिखेलमा सञ्चालित “साइनिङ्ग अस्पताल” नै प्रमुख थियो । साधारण जनजिब्रोको बोलीमा मिम अस्पताल भनेर चिनिने उक्त अस्पतालको शुरुवात १ जना बेलायती डा.ओ हेनलोनले गरेकी थिइन् । जसमा गोरा छाला भएका अन्य डाक्टर तथा नर्सहरु पनि थिए ।
“कान्छी डाक्टरनी” को नामबाट अति प्रख्यात डा.रुथ वाटसन  ले पुरयाएको सेवा अति उच्चस्तरको भएको कुरा उनको सेवा लिएका जीवित मानिसहरु आज पनि सम्झने गर्दछन् । उनी दिनरात बिरामीहरुको सेवामा लागिरहेकी हुन्थिन् । त्यसताका मानिसहरु ‘मलाई त कान्छी डाक्टरनीले जाँचिन्’ भनेर गर्व गर्थे र उनको मृत्यु भएको पनि धेरै वर्ष भइसक्यो ।
धेरैजसो मानिसहरु बिरामी सिकिस्त नभएसम्म अस्पतालतिर लैजानेभन्दा झारफुकमा नै लागिरहन्थे र जब बिरामी सिकिस्त हुन्थ्यो, तब मात्र बल्ल अस्पताल ल्याउने कुरा आउँथ्यो । फेरि त्यसबेला आजको जस्तो बिरामी लैजाने एम्बुलेन्स सेवा र भाडाका गाडीहरु सञ्चालनमा थिएनन् ।
पोखराका सीमित सडकभित्र गुड्ने र सर्व–साधारणको लागि भाडामा चल्ने एउटा गाडी थियो जसलाई “नौ नम्बरी ढ्वाङ्ग” भनेर भनिन्थ्यो । त्यसैमा मौका मिल्दा बिरामीलाई भुइँमा सुताएर अस्पतालसम्म पु¥याइन्थ्यो । बाँकी डोला, चामदानी या त डोकोलाई काटेर लठ्ठी घुसारी बनाइएको ‘घरेलु स्ट्रेचर’ मा हालेर बिरामीलाई झ्याम्लाङ र झुम्लुङ पारेर दौडाउँदै अस्पताल पुरयाइन्थ्यो ।
बल्लतल्ल अस्पताल पु¥याएको बिरामी झिक्न खोज्दा डोको जस्तै कचक्क परेर मरिरहेको पनि पाइन्थ्यो । त्यस्तो नाजुक स्थिति थियो पोखरामा, स्वास्थ्यसेवा र त्यससम्बन्धी जनचेतनाको अवस्था ।
टाइफायड, झाडापखाला, चोटपटक, (प्रसूतिसम्बन्धी) सुत्केरी हुन नसकेर, साल अड्किएर र अन्य गडबडीबाट मर्नेहरु नै ज्यादा हुन्थे ।
बच्चाहरुको कुपोषणको कारणले गर्दा वा पोषणसम्बन्धी ज्ञानको कमीले गर्दा सुकेनास (Marasmus kwashiorkor), रतन्धो (Night blindness) र आँखा सुक्खा भई पछि अन्धो समेत हुने (Xeropthalmia) रोगहरु पाइन्थ्यो । त्यस्तै क्षयरोग, धनुष्टङ्कार (Tetanus) र रेबिज रोगबाट पनि त्यतिकै मानिसहरु मर्ने गर्थे । त्यस्तै दूषित पानी, सरसफाइ र जनचेतनाको कमीले गर्दा ज्यादाजसो रोगहरु लाग्थ्यो । मानिसहरुमा चर्पीको प्रयोग गर्ने बानी एकदमै कम थियो । बारी, खोल्सा, घारी, घरछेउ करेसामा नै दिसा–पिसाब गर्ने चलन ज्यादा थियो त्यसताका ।
बन्द कोठाभित्र दिसा–पिसाब गर्ने बानी लागेका बिदेशी पर्यटकहरु पोखराको साइटसिइङ गर्न पैदल हिंड्दा दिसा–पिसाब गर्ने चर्पी नपाएर कक्रक्क परेर हातमा ट्वाइलेट पेपर लिएर यता र उता गरेको प्रशस्तै भेटिन्थ्यो ।
पोखरा कास्की जिल्लाको सदरमुकाम भएकोले पोखराको स्वास्थ्यसम्बन्धी स्थितिले केवल पोखरा मात्रै नभई समस्त कास्की र अन्य छिमेकी जिल्लाहरुको समेत वास्तविक स्थितिको बोध गराउँदछ ।
आज पनि झण्डै ९० प्रतिशत रोगहरु दूषित पानीकै कारणले गर्दा लाग्ने गर्दछ । जसलाई ध्बतभच दयचलभ मष्कभबकभ भनेर चिनिन्छ । जस्तै झाडापखाला, आउँमासी, हैजा, टाइफायड, जण्डिस, छालासम्बन्धी सरुवा रोगहरु (दाद, लुतो) र जुगा, कृमि रोग आदि ।
साईनिङ्ग अस्पतालभन्दा केही वर्षपछि खुलेको सोल्जर बोर्ड अस्पताल (भारतीय भू.पू. सैनिकहरुको उपचारको लागि) पछि गण्डकी अञ्चल अस्पताल (हालको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बिरामी लगरे औषधी गर्न मानिसहरु डराउँथे । किनकी एलोपेथिक चिकित्सामा जब रोगी गम्भीर अवस्थामा पुग्दछ तब बिरामीलाई औषधी मुखबाट नदिई सुईबाट दिनुपर्ने  हुन्छ ताकि छिटो रगतमा मिसिइ कार्य गरोस् । तर यसो गर्दा कहिलेकाहीँ सिकिस्त बिरामीहरु रोगबाट मर्थे पनि । तर बिरामीको मानिसलाई के भ्रम पथ्र्यो भने ‘मेरो बिरामी नबाँच्ने देखेर सोल्जरबोर्डको डाक्टरले मर्ने सुई लगाएर मारिदियो ।’
यसरी जनमानसमा सोल्जरबोर्डमा जानु हुँदैन, सुई लगाएर मारिदिन्छन् भन्ने एउटा नकारात्मक धारणा त्यसबेला पोखरेलीहरुमा व्याप्त थियो ।
सङ्कोच नमानी भन्नुपर्दा, विदेशीहरुबाट सञ्चालित साइनिङ्ग अस्पताल सन् १९७४ मा विलय भई पूर्ण सरकारी स्वामित्वमा रहेको गण्डकी अञ्चल अस्पतालमा मिसिई विदेशीहरुबाट समेत उपचार सेवा पुरयाउन थालियो तब बल्ल मानिसहरु उक्त अस्पतालतिर आकर्षित हुँदै जान थाले र डाक्टरी उपचार पद्धतिप्रति पनि जनविश्वास बढ्दै गयो ।
सेतो छाला भनेपछि नर्स वा घाउ डेसिङ्ग र सुई लगाउने नै किन नहोस, नेपाली जति नै अनुभवी र सिपालु भए पनि सेतो छाला पाएसम्म मानिसहरु नेपाली डाक्टर र प्यारामेडिकल्सहरुलाई देखाउन चाहँदैनथे ।
तर पनि विगतमा सम्पूर्ण स्वास्थ्यसेवा पु¥याउने एक मात्र प्रमुख अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एक्सिडेण्ट एण्ड इमर्जेन्सी विभागमा काम गर्ने बेलायती महिला डा.जेन फ्रेयर, वरिष्ठ सर्जन डा.इएन विसेट, नाक कान घाँटी रोगसम्बन्धी वरिष्ठ डा.माईक स्मिथ, अर्थोपेडिक एण्ड प्लाष्टिक सर्जन डा.बु्रस, सिष्टर एलेन, फिजियोथेरापिस्ट जेन (हाल गुरुङ) र मेल नर्स केभिनले पोखरा र अन्य क्षेत्रबाट औषधोपचारको लागि आएका विरामीहरुलाई पु¥याएको सेवा बिर्सिहाल्न नहुने खालको छ । यदि बिर्सेमा हामी कृतघ्न भएको ठहर्ने छौँ ।
विदेशीहरुमा आफ्नो पेशाप्रति पूर्ण जवाफदेही र समर्पण भाव, मानवीय दुःख र पीडा बुझ्ने प्रयास र क्षमता, पूर्ण लगन र होसियारीपूर्वक कार्यसम्पादन गर्नुका साथै मायालु बोली र व्यवहारबाट रोगी र दुःखी बिरामीहरुको मन जित्न सक्नु जस्ता कुराहरुले नै मुख्य भूमिका खेलेको हुन्छ । त्यसको विपरित हामी नेपालीहरुमा  डाक्टर वा नर्स हुने बित्तिकै अर्कै ग्रहबाट आएको जस्तो व्यवहार गर्नुले पनि यस्ता नकारात्मक सोचाइ आएको हो जस्तो मलाई लाग्छ । तर अहिले बिरामीहरु पनि केही जान्ने, बुझ्ने र डाक्टर–नर्सहरु पनि प्रशस्तै भएर होला व्यवहारमा केही नरमपना भने पक्कै आएको छ ।
जानकारीको लागि, हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मुख्य ओ.पी.डी र इन्डोर सेवा दिने १५० शैयाको भवन पनि उक्त मिसनरी संस्था INF ले नै निमार्ण गरी अस्पताललाई चाहिने आवश्यक उपकरणहरु समेत उपलब्ध गराएको हो ।

हालको स्वास्थ्य स्थिति
पोखराको हावापानी देशका अन्य भागहरुको भन्दा बढी नै स्वास्थ्य अनुकुल भएकोले कडाखालका रोगहरु र महामारी त्यति मात्रामा पाइँदैन ।
हिउँद, वर्षामा पानी दूषित हुने र खानेपानी संस्थानले पानी शुद्धिकरणको लागि आवश्यक पानीको उपचार Water Treatment Plant जडान नगरेको र पानीको सफाई (Water Purification) को लागि अन्य उपायहरुको अवलम्बनमा पनि खासै ध्यान नदिनाले टाईफायड, प्यारा–टाइफायड, जण्डिस, आउँमासी, झाडापखाला जस्ता पानीबाट सर्ने रोगहरु देखा पर्दछन् ।
आजकल पोखरेलीहरुमा धेरथोर स्वास्थ्यसम्बन्धी जनचेतना जागिसकेको र पोखरामा धेरैजसो विदेश गएर आएका लाहुरेका परिवारहरुकै बसोबास ज्यादा हुनु र उनीहरु स्वास्थ्य र खानपान सम्बन्धमा बढी सचेत र आर्थिक रुपले पनि सक्षम हुने हुनाले पानी उमालेर मात्र पिउने, नभए बजारमा पाइने वाटर फिल्टर प्रयोग गर्ने र रोगको सामान्य लक्षण देखा पर्ने बित्तिकै अस्पताल वा निजी क्लिनिकहरुमा देखाउन ल्याउने आदि गर्नाले रोगको समयमै उपचार हुने भएकोले त्यति समस्याको रुपमा देखा पर्न पाउँदैन ।
बरु आजकल पोखरामा विशेष गरेर युवायुवतीहरुमा आएको पश्चिमी उपभोक्तावादी छाडा संस्कृतिको प्रभावमा परेर भनौँ या हाम्रो आफ्नै प्राचीन मूल्य र मान्यताहरुको कमीले गर्दा, अनि यसको आफ्नै वैशिष्ट्यपूर्ण महत्वको बारेमा आफ्ना छोराछोरीहरुलाई सम्झाउन बुझाउन नसक्नु वा प्रयास नगर्नुले विवाहपूर्वको यौनसम्पर्क (Pre–marital Sex) र लागु औषध दूव्र्यसन (Narcotic–Drug Abuse) एउटा प्रमुख चिन्ताको विषय बनेको छ । जसको कारण विभिन्न खाले जटिल यौनरोगहरु जसमा धातुमेह (पिसाब पोल्ने, लिङ्ग वा योनीबाट पिप या पानी बग्ने) सिफिलिस वा भिरिङ्गी (यौन अङ्गमा नदुख्ने खालको सानो गाँठो देखा पर्नु), स्याङ्गक्रोउड (यौन अङ्गमा दुख्ने खालको घाउ निक्लनु), जेनाइटल हर्पिस सिम्फ्लेक्स (योनी वा लिङ्ग वरिपरि पानीको फोका वा जलाउरा आई दुख्ने र पोल्ने), महिलाहरुमा सानो पेट दुख्ने र गन्हाउने पानी बग्ने (PID), र धेरैजनासँग असुरक्षित यौनसम्पर्क र दूषित निर्मलीकरण नगरिएको एउटै सुई सबैले प्रयोग गर्नाले अति नै खतरनाक Hepatitis B & C (जसले तुरुन्तै कलेजोका कोषहरु नष्ट गरी क्यान्सर समेत बनाउँछ), र HIV–AIDS जस्ता घातक रोगहरु पोखरामा भटाभट देखा पर्दै गइरहेका छन् ।
त्यस्तै देशको अन्य ठूला शहरहरुमा जस्तै कामको अत्यधिक बोझ, बेरोजगारी, कार्यमा असफलता, आध्यात्मिक चिन्तनको कमी, अनि बदलिदो परिस्थितिसँग सामना गर्न नसकेर वा असफल भएर भावनात्मक रुपमा कमजोर भई विभिन्न तनाव (Stress), चिन्ता (Anxiety), मानसिक अवसाद (Depression Neurosis) र त्यस्तै अन्य विभिन्न खाले मानसिक र स्नायुसम्बन्धी रोगहरु, वातावरण प्रदूषणबाट सिर्जित एलर्जिसम्बन्धी रोगहरु र आधुनिक जीवनशैलीको परिचायक बनेको धुम्रपान, मद्यपान, तामसिक र गरिष्ट भोजन, ट्याक्सी, कार, मोटरसाईकल आदिको बढी प्रयोगले गर्दा शारिरीक श्रम कम पर्न गई उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, मस्तिष्कघात, मुटुको रक्तनलीमा बोसो जम्न गई Coronary Heart Disease, Heart Attack जस्ता रोगहरु पोखरामा पनि त्यत्तिकै मात्रामा पाइन्छन् ।

पोखरामा हाल उपलब्ध स्वास्थ्यसेवाहरु
अहिले पोखराको प्रायः सबै ठाउँहरुमा औषधीपसल र उक्त पसलहरुमा गई जाँच्ने डाक्टरहरु प्रशस्त छन् । नेपाल केमिष्ट एण्ड ड्रगिष्ट एसोसियसनसँग हालसम्म उपलब्ध तथ्याङ्क अनुसार पोखरामा झण्डै १२५ वटा औषधी पसलहरुले आफ्नो सेवा पु¥याइरहेका छन् । जसबाट पोखरा र वरपर भेकका मानिसहरुलाई धेरैजसो रोगहरुको चिकित्सासेवा उपलब्ध भएको छ ।

१. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट–१०
पश्चिमाञ्चल क्षेत्रकै प्रमुख अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा २०० शैया सहित सरकारी दरबन्दी र अस्पताल विकास समितितर्फ गरेर ४० जना डाक्टर कार्यरत छन् । त्यस्तै २० जना जति प्यारामेडिकल्स र नर्सिङसेवाको लागि झण्डै १५० जना जति स्टाफनर्सहरु सेवारत छन् । तर सेवाको स्तरमा भने जति हुनुपर्ने हो त्यति हुन नसकेको र यसो हुनुमा डाक्टरहरु आफै मिली सञ्चालन गरेको नर्सिङहोम र निजी अस्पतालहरुमा नै बढी समय र महत्व दिने गर्नाले हो भन्ने जनगुनासो पोखरामा व्याप्त रहेको छ ।
आशा छ , यस सम्बन्धमा अस्पताल प्रशासन, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, अस्पताल विकास समिति र स्वयं विज्ञ डाक्टरहरुबाटै गरीब तथा असहाय बिरामीहरुको समस्यालाई ध्यानमा राखी स्तरीय सेवा प्रदान गर्नेतर्फ कदम चाल्ने छ भन्ने मैले विश्वास लिएको छु ।
त्यस्तै हालसालै मात्र यस अस्पताल परिसरभित्र सघन उपचार कक्ष– ICU (Intensive Cure Unit) र मुटुसम्बन्धी रोगको विशेष उपचारको लागि CCU (Coronary Care Unit) स्थापना गरी सञ्चालनमा ल्याएको छ । साथै अन्य विशेष सेवाहरु पनि थप्दै जाने लक्ष्य लिएको कुरा बुझ्नमा आएको छ ।
२. मणिपाल शिक्षण अस्पताल, फूलबारी–११
पोखराको वडा नं.११ मा अवस्थित डाक्टर उत्पादन गर्ने शिक्षण संस्था मणिपाल कलेज अफ मेडिकल साइन्सेज अन्र्तगतको मणिपाल शिक्षण अस्पतालमा प्रायः सबै किसिमका चिकित्सा सेवाहरु उपलब्ध छन् । जस अन्र्तगत क्यान्सर रोग निदानको लागि गरिने प्रमुख जाँच बायोप्सी वा हिष्टोप्याथोलोजिक टेष्टको निम्ति स्पेसिमेन (Sample) पहिला काठमाडौँको केन्द्रिय प्रयोगशाला टेकूमा पठाई त्यसको रिपोर्ट पाउन महिनौ दिनसम्म कुर्नु पथ्र्यो, जसले गर्दा क्यान्सर जस्तो अति नै प्राणघातक रोग निक्र्योल गर्नमा ढिलाई भई बिरामीको ज्यानै समेत जान सक्थ्यो, जुन आजकल मणिपाल शिक्षण अस्पतालमा तुरुन्तै पाउन सकिन्छ ।
त्यस्तै आधुनिक चिकित्सा विज्ञानमा रोग निदान (Diagnosis) को लागि अति नै आवश्यक CAT Scan (Computer Axial Tomography) को लागि पनि यस अस्पतालले भर्खरै सेवा उपलब्ध गराएको छ । जसबाट मस्तिष्कमा भएको ट्युमर, सिष्ट, रक्तनलीको खराबी (एन्युरिज्म) र चोटपटक वा अन्य कारणहरुले मस्तिष्कभित्र भएको रक्तस्राव साथै शरीरका अन्य भागहरुको समेत गहन अध्ययन र उपचारको लागि सजिलो भएको छ, जुन पहिला देशभरमा राजधानीमा मात्रै सम्भव थियो । हामी पोखरेली र अन्य सबैको लागि यो एउटा उल्लेखनीय हो भन्दा अत्युक्ति नहोला ।
त्यस्तै मणिपालका डाक्टर तथा क्लिनिकल प्राक्टिसको लागि आएका टे«नि–स्टुडेन्ट्स र फाइनल टर्म उत्तीर्ण भएर ‘इण्टर्नसिप’ गरिरहेकाहरुबाट पु¥याएको सेवाको स्तर राम्रै छ । तर पनि उनीहरुले एउटा कुरा के बिर्सनु हुँदैन भने प्राक्टिस गर्न आउँदा आफ्नो प्रोफेसर वा असिष्टेन्ट प्रोफेसर साथमा लिएर, नम्र र सालिन तरिकाले रोगीको स्थितिलाई ध्यानमा राखी उसको मनोदशालाई बुझ्न आवश्यक छ र मणिपाल कलेजले पनि आफ्ना स्टुडेन्ट्सहरुलाई प्राक्टिस गराउने र गर्ने राम्रो वातावरणको सिर्जना गरिदिनुपर्दछ , नत्र सिक्ने भन्दैमा बिरामीलाई झर्कोलाग्ने गरी प्रश्न गर्ने र गाथलगुथल गरेमा बिरामीहरुमा वितृष्णा पैदा भई मणिपालको त्यत्रो लगानी प्रत्युत्पादक पनि हुन सक्छ ।
३.हिमालय आँखा अस्पताल, घारीपाटन–१७
नेपाल नेत्रज्योति संघ अन्तर्गत र फाउण्डेसन आई केयर हिमालय निदरल्याण्डसको आर्थिक र प्राविधिक सहयोगमा निर्मित १ मार्च १९९३ बाट सञ्चालित यस हिमालय आँखा अस्पताल घारीपाटन आँखासम्बन्धी प्रायः सबै किसिमका रोगहरुको लागि बहिरङ्ग र ५२ शैयाको अन्तरङ्ग सेवाहरु उपलब्ध छन् ।
नेपालमा हुने अन्धोपनसम्बन्धी समस्याहरुमध्ये प्रमुख मोतियाविन्दु (Cataract) को लागि चश्मा लगाउन नपर्ने आँखाभित्रै कृतिम लेन्स राखी गरिने शल्यक्रिया (Intra Ocular Lens Implantation) को सेवा अस्पतालको स्थापनाकालदेखि नै उपलब्ध गराउँदै आएको छ ।
आँखाको दृष्टिपर्दा (Retinal) र आँखाको बाह्य झिल्लीको प्रत्यारोपण (Corneal Transplantation) र विकीरणद्धारा गरिने उपचार (Laser Treatment) को साथै नेपालको लागि आवश्यक पर्ने आँखासम्बन्धी जनशक्ति (Ophthalmic Assistants) हरु उत्पादन गर्ने जस्ता महत्वपूर्ण काम पनि सँगसँगै गर्दै आईरहेको छ । जस अन्तर्गत हाल चौथो समूह तालिमरत छन् ।
हाल विकसित देशहरुमा मात्र प्रचलनमा आएको मोतियाविन्दुसम्बन्धी नयाँ उपचार प्रविधि “Phapo” (जसमा कुनै चिरफार, टाँका आदि विना नै विशेष किसिमको मेशिनको सहायताले मोतियाविन्दुको उपचार गर्ने गरिन्छ) पनि निकट भविष्यमा सेवा उपलब्ध गराउने छ भन्ने आशा लिएको छ । र साथै यदि पोखरामा कसैले आँखा दान दिन चाहेमा सोको प्रबन्ध मिलाउने काम पनि यस अस्पतालले गरेमा सुनमा सुगन्ध हुने थियो भन्ने पनि ठानेको छु ।
४. क्षेत्रीय प्रयोगशाला, रामघाट–१०
श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत जापान सरकारको वैदेशिक सहयोग संस्था JICA द्धारा निर्मित र आवश्यक उपकरणहरु प्राप्त यस पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै हाताभित्र रहेको छ ।
जसमा विभिन्न खाले रक्त परीक्षण, दिसा–पिसाब, वीर्य, मस्तिष्कमा रहने पानी (C.F.S.), छाती तथा पेटभित्र जमेको पानी (Aspirated Fluid) को विश्लेषण आदि विभिन्न जाँचहरु गरी रिपोर्ट दिइन्छ । हाल यस प्रयोगशालामा एकजना प्रमुख प्याथोलोजिष्ट (MD Path), २ जना ल्याब टेक्नोलोजिष्ट (BMLT) र ५–६ जना जति ल्याब असिस्टेन्टहरुले प्राविधिक सेवा पु¥याइरहेका छन् । विगत डेढ वर्षदेखि भने उक्त प्रयोगशाला अस्पताल विकास समिति अन्तर्गत नै सञ्चालित छ ।
५. हरियोखर्क अस्पताल, नयाँ गाउँ–१५
विदेशी मिसनरी संस्था INF (International Nepal Fellowship) द्धारा सन् १९५७ देखि सञ्चालित यस अस्पतालमा केही समय अगाडिसम्म नेपालमा आफ्नै परिवारका सदस्यहरुले समेत छिछि र दुरदुर गर्ने, पूर्वजन्मको श्राप लागेको सम्झी रोगीलाई घरबाट निकाली जङ्गलको छेउमा लगेर एउटा सानो टहरो बनाएर राखिदिने रोग “कोर” (कुष्ठरोग) को लागि आवश्यक सम्पूर्ण परीक्षण, भर्ना गराई निःशुल्क भोजन, लत्ताकपडा, आवश्यक औषधोपचार र रोग नियन्त्रणमा आइसकेपछि उक्त रोगबाट हुन गएको अङ्गभङ्गको कारण जीविकोपार्जन गर्नको लागि अस्पताल हाताभित्रै केही सीप सिकाई पुर्नस्थापना गराउने जस्तो अति नै महत्वपूर्ण मानवकल्याणका कामहरु गर्दै आइरहेको छ ।
विगत दुई वर्षदेखि कुष्ठरोग बाहेक ११५ शैयाको उक्त अस्पतालमा अन्य कारणहरुले गर्दा जस्तै Spinal Cord injury, Polio, Congenital deformities आदिद्धारा भएको अशक्तपनाको लागि पनि विशेष “हरियोखर्क पुर्नस्थापना केन्द्र” (Green Pasture Rehabilitation Centre) सञ्चालित छ ।
६.क्षेत्रीय क्षयरोग केन्द्र, रामघाट–१०
पोखरा वडा नं. १० रामघाटस्थित जापानी सहयोग संस्था JICA द्धारा निर्मित यस क्षयरोग केन्द्रबाट राष्ट्रिय क्षयरोग निवारण कार्यक्रम अन्तर्गत खकार जाँच, रगत जाँच, एक्स–रे र टी.बी. सम्बन्धी आवश्यक परामर्श र निःशुल्क औषधी दिने काम गर्दछ ।
हाल अधिराज्यका विभिन्न जिल्लाहरुमा सञ्चालित र अति राम्रो प्रतिफल दिएको ‘DOTS’ कार्यक्रम (प्रत्यक्ष निगरानीमा दैनिक औषधि सेवन गराउने) लाई पनि यसले सहयोग भर्ना उपचार गराउने ‘टी.बी. स्यानिटोरियम’ को सुविधा भने हुन सकेको छैन ।
७. रक्तसञ्चार सेवा, रामघाट–१०
नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाद्धारा सञ्चालित रक्तसञ्चार सेवा (Blood Bank) वि.सं. २०३५ सालमा गण्डकी अञ्चल अस्पतालकै एउटा सानो कोठाबाट आरम्भ गरी हाल रेडक्रस कास्कीको आफ्नै पक्की भवनमा २०४५ सालबाट ५ जना प्राविधिक र ५ जना अन्य गरेर १० जना कर्मचारीहरुले सेवा पुरयाइरहेका छन् । यस रक्तसञ्चार सेवाको हालको सञ्चय क्षमता ३०० युनिट रहेको छ ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र साथै अन्य मणिपाल अस्पताल, नर्सिङहोम तथा निजी अस्पतालहरु सबैलाई आवश्यक पर्ने सम्पूर्ण रगत यहाँबाटै HIV, Hepatitis B & C / VDRI, टेष्ट गरेर मात्रै गर्ने गरेको छ ।
स्मरणरहोस्, नेपालको प्रचलित व्यवस्था अनुसार नेपाल रेडक्रस सोसाइटीको अनुमति बिना कसैले रक्तसञ्चार सेवा सञ्चालन गर्न वा गराउन पाइँदैन ।
८. संस्थागत परिवार नियोजन सेवा, रामघाट–१०
श्री ५ को सरकार, जनस्वास्थ्य कार्यालय, कास्कीद्धारा जनसंख्या नियन्त्रण राष्ट्रिय कार्यक्रम अन्तर्गत सञ्चालित यस परिवार नियोजन तथा मातृ–शिशु कल्याणसम्बन्धी सेवाहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्रै वि.सं.२०४७ सालदेखि सर्वसाधारणको लागि निःशुल्क पुरयाउँदै आएको छ ।
जसमा सन्तानको रहर पुगिसकेका दम्पत्तिहरुलाई स्थायी पुरुष बन्ध्याकरण (Vasectomy) र महिलाहरुको लागि (Tubectomy) र अस्थायी परिवार नियोजनसम्बन्धी ३ महिने सुई, पाँचवर्षे नरप्लान्ट र खाने चक्की तथा कण्डमहरु उपलब्ध गराउँदै आइरहेको छ , जसमा शिशुस्याहार तथा खोपसम्बन्धी सेवाहरु पनि उपलब्ध छ ।
९.प्राकृतिक चिकित्सालय, सिम्पानी
ओ.पी.डी. र १६ शैयाको यस चिकित्सालयमा हाल प्रख्यात हुँदै गइरहेको प्राकृतिक चिकित्सा (Naturopathy) सम्बन्धी उपचार सेवा उपलब्ध छ । जसमा पञ्चतत्व (Five Basic Elements) सम्बन्धी सिद्धान्त अनुरुप माटोचिकित्सा (Mud Therapy), जलचिकित्सा (Hydro-Therapy), सूर्यचिकित्सा (Phototherapy) र खानपान, आहार–बिहार र योगा (Yoga) द्धारा सन्तुलन मिलाई रोगीलाई स्वस्थ हुनमा मद्दत पुरयाइन्छ । एलोपेथिक चिकित्सा पद्धतिबाट पूर्ण राहत नपाएका बिरामीहरु यस प्राकृतिक चिकित्सा तर्फ उन्मुख हुने गरेका छन् ।
त्यस्तै पोखरा क्षेत्रभित्र अन्य वैकल्पिक उपचार विधिहरुमा चिनीया उपचार पद्धति (एक्युपञ्चर, एक्युप्रेसर र मोक्सिबिसन) र जापानी पद्धति सिरयात्सु र चुम्बक चिकित्सा पनि उपलब्ध छन् ।
१०. नौलो घुम्ती र पालुवा कार्यक्रम
नेपालमा कार्यरत विदेशी संस्था क्ष्ल्ँ द्धारा सञ्चालित यस नौलो घुम्ती कार्यक्रममा लागु औषध दूव्र्यसनीहरुलाई भर्ना गराई उनीहरुलाई यस कुलतबाट जोगाई पुर्नस्थापनाको लागि आवश्यक परामर्श, परिवारका सदस्यहरुलाई सम्झाउने (Family Councilling) र विषरहित (Detoxification) को लागि स्नायु तथा मानसिक रोग विशेषज्ञद्धारा सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, “पालुवा कार्यक्रम” अन्र्तगत एच.आई.भी. एड्ससम्बन्धी रगत जाँच, आवश्यक उपचार र जनचेतना जगाउने कामहरु गर्दै आइरहेको छ ।
११. वडास्तरीय खोप कार्यक्रम
पोखरा उप–महानगरपालिकाले जनस्वास्थ्य कार्यालय, कास्कीद्धारा उपलब्ध गराएका विभिन्न खोपहरु, जस्तै— बी.सी.जी., डी.पी.टी ।, पोलियो र टिटानस प्रत्येक महिनाको १ पटक वडा कार्यालयहरुमा गई शिशुहरुलाई खोप लगाई विभिन्न संक्रामक रोगहरुबाट बचाउने कार्य गर्दै आइरहेको छ ।

निजीस्तरबाट सञ्चालित स्वास्थ्य संस्थाहरु
निजी लगानीबाट खोलिएका अस्पताल तथा नर्सिङहोमहरु पोखरामा प्रशस्तै छन् । जसमा जनरल मेडिसिन, ग्याष्ट्रोइन्टेटोनोलोजी, कार्डियोलोजी, अर्थोपेडिक, गाइनेकोलोजी र जनरल सर्जरीसम्बन्धी चिकित्सा सेवाहरु उपलब्ध गराइन्छ ।
    फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, गैह्रापाटन,
    पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरोड,
    पद्म नर्सिङहोम, न्यूरोड
    ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, महेन्द्रपुल
    फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर, सिर्जनाचोक

पोलिक्लिनिक्स र डायग्नोष्टिक सेन्टरहरु
    पोखरा पोलिक्लिनिक, महेन्द्रपुल
    अन्नपूर्ण पोलिक्लिनिक, चिप्लेढुङ्गा
    ओम डायग्नोष्टिक सेन्टर, महेन्द्रपुल
    नेपाल डायग्नोष्टिक सेन्टर, महेन्द्रपुल
एम्बुलेन्स सेवाहरु
पोखरामा हाल निम्न संघ–संस्थाहरुबाट एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ —
    नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा
    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको)
    सिद्धार्थ क्लब
    मणिपाल शिक्षण अस्पताल–११
    फिस्टेल हस्पिटल

सबवाहन–१ (सिद्धार्थ क्लब)

हाल श्री ५ को सरकारले स्वास्थ्य जस्तो अति नै संवेदनशील क्षेत्रमा राज्यको लगानी र अनुदान क्रमशः घटाउँदै लगेको छ । जसले गर्दा सरकारी अस्पताल र स्वास्थ्यकेन्द्रहरु आवश्यक औषधी, औजार र डाक्टरविहीन हुन पुगेका छन् ।
अलि पहुँचवाला व्यक्तिहरुको लागि निजी अस्पताल र नर्सिङहोमहरु छन् । तर गरीब र असहाय बिरामीहरुको लागि “देख्नाको डाल ढिंडाको काल” साबित भएका छन् सरकारी अस्पतालहरु ।
हाम्रो सुन्दर शहर पोखरामा पनि विगत २–३ वर्षदेखि स्वास्थ्यसेवा दिने निजी लगानीका संस्थाहरु प्रशस्तै खुलेका छन् र यो सराहनीय कुरा पनि हो । तर जबसम्म ती संस्थाहरुले धेरैजनाको पहुँच भएको र ‘क्वालिटी सर्भिस’ दिने प्रयास गर्दैनन् तबसम्म संख्यात्मक वृद्धिले मात्र कुनै पनि ठाउँको स्वास्थ्य स्थिति मजबुत र सबल भएको मान्न सकिदैन ।
अन्त्यमा, पोखराको दिगो विकासको लागि प्राथमिकता प्राप्त पर्यटन शिक्षा र स्वास्थ्यमा विशेष, सर्वसुलभ र गुणस्तरी स्वास्थ्यसेवा पुरयाई देशका अन्य भागहरुबाट समेत पोखरामा आई यहाँको स्वास्थ्य अनुकुल मौसम, स्वच्छ वातावरण र मनोरम प्राकृतिक छटाको रसास्वादन गर्दै शारीरिक र मानसिक स्वास्थ्यलाभ गर्ने वातावरण बनाउनेतर्फ सम्पूर्ण पोखरेली वा कस्केली जनताहरु, स्वास्थ्यसेवासँग सम्बद्ध व्यक्तिहरु, समाजसेवीहरु र जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।
वि.सं. २०५७ सालमा प्रकाशित हेरालो पोखरा अवलोकन अंक २ बाट साभार

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *