role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा व्यावसायिक विकासको प्रक्रिया : एक विवेचना

(पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार)
पोखरामा व्यावसायिक विकासको प्रक्रिया , एक विवेचना
आनन्दराज मुल्मी
भू.पू. अध्यक्ष, पोउवासंघ/नेउवामहासंघ
पश्चिम नेपालको महत्वपुर्ण सहरको रुपमा विकसित हुंदै गरेको पोखरा पश्चिमी पहाडको एउटा व्यापारीक स्थलको रुपमा स्थापना भएको थियो । राजधानिबाट पैदल हिँडेर ७ दिनको बाटो तय गर्नुपर्ने, भारतको सिमाना पुग्न ५ दिन हिँड्नुपर्ने पोखरा पहाडी क्षेत्रमा भए पनि एउटा रमणीय उपत्यकाको रुपमा ख्याती पाएको थियो । रमाइलो हावापानी, रमणीय ठाउँ, फराकिलो र उब्जाउ भूमि साथै प्राकृतिकरुपमा पनि वन पैदावर, पर्याप्त जलस्रोत भएका कारणले क्रमशः सहरको रुपमा तीव्र विकास भएको र मानिसहरुको वसाइँ सराइमा तीव्रता आएको हो ।
क्रमशः सहरको रुपमा विकसित हुदै जाँदा मानिसहरुको आवश्यकता र चाहना वृद्धि हुनु स्वाभाविकै हो । त्यसमाथि पोखरा र वरिपरी वस्नेहरुको बढ्दो विदेशिने क्रम, अन्य मूलुकमा काम गर्न जाने प्रवृत्ति, विदेश घुम्न, शिक्षा आर्जन गर्न, स्वास्थोपचार गर्न, धार्मिक क्षेत्रको भ्रमणमा जाने कार्यमा बढोत्तरी भएको कारण र विदेशमा भएको प्रगती आफ्नो ठाउँमा पनि होस् भन्ने चाहना र अपेक्षाले गर्दा पोखरामा पनि दैनिक उपभोगका वस्तुहरुको उत्पादन, जनतालाई चाहिने सेवासम्वन्धि कार्य गर्ने उद्योगहरुको स्थापना नयाँ स्वरुपका व्यवसायहरु संचालन क्रमशः भएको इतिहास हामीसंग छ ।
नयाँ सोच, नयाँ अनुभूति र उद्यमशीलताको कारणले र पोखराको परिवेशमा स्थापना भएका औद्योगिक प्रतिष्ठानहरु, ठूलो आकारको भन्दा साना–मझौला औद्योगिक प्रतिष्ठानहरुको स्थापनामा बढी जोड दिएको पाउँछौ । सेवा उद्योगका अनेकन् रुपहरुमा एकाइहरु स्थापना भएको पाउछौ । यति हुंदा हुंदै पनि पोखराको व्यापारीक महत्व झन् वृद्धि भइरहेको पाउँछौ । अत्यधिक बसाइँ सराइ, धेरै कार्यालयहरुको स्थापना, औद्योगिक एकाइहरुको क्रमशः स्थापना, पर्यटन क्षेत्रको रुपमा ख्याती बढ्दै जानु, विदेशीहरुको बढ्दो आगमन, शिक्षण संस्थाहरुको वृद्धिका कारणले अध्ययन गर्न आउने संख्यामा तीव्रतर वृद्धि, औषधी उपचारको सुविधा, मनोरञ्जन स्थलको विकासले पोखराको आन्तरिक उपभोगमा वृद्धि हुनु र ठूला व्यापारीक संस्थानहरुको स्थापना हुनुले अन्य पहाडी क्षेत्रहरुको लागी चाहिने सामग्री आपूर्ति गर्ने प्रमुख केन्द्रको रुपमा विकसित भएको हुनाले पोखरा स्वयं एउटा व्यावसायीक सहर भएको छ । त्यसैले पनि पोखरामा नयाँ अवसर, नयाँ उद्योगहरुको स्थापना गर्ने संम्भावनाहरु भएको ठाउँ भएको छ ।
त्यसो त पोखरालाई केहि औद्योगिक उत्पादनहरुको जननीको रुपमा लिन सकिन्छ । नेपालमा पर्यटन उद्योगलाई आकर्षित गर्न रिसोर्टको रुपमा नयाँ अवधारण ल्याउने काम पोखरामा स्थापना भएको फिस्टेल लजले २०१८ सालदेखी सुरुवात गरेको हो । त्यसताका रेडक्रसका प्रतिनिधिहरुका रुपमा आएका एकजना स्वीस नागरिकले हाल रहेको फिस्टेल लज ( जुन तालको अर्को किनारमा एउटा घना जंंगल थियो ) लाई रिसोर्टको रुपमा विकास गरेर अनुकरणीय कामको थालनी गरेका थिए । नेपालको पर्यटन उद्योगलाई युरोपमा चिनाउने काम त्यसवेलादेखी भएको पाइन्छ । त्यसैताका अर्को एकजना स्वीस नागरिकले तिब्बतबाट पलायन भई आएका तिबेतियनहरुको सीप र शिष्टता देखेपछि भेडाको उनवाट गलैँचा बनाउने कामको सुरुवात पोखरामा भएको शरणार्थी शिविरबाट भएको थियो र नेपालको गलैचा युरोप पठाउने काम पहिलोपटक यहीँबाट भएको इतिहास छ । त्यसैले गलैचा उद्योगको आधारशीला पनि पोखरा नै रहेको तथ्य छ ।
भारतबाट ल्याएर चकलेट मिठाइहरु विक्री वितरण गर्ने काम नेपालमा हुन्थ्यो । पोखरामा धेरै पहिलेदेखी पुस्टकारीको रुपमा मिठाइहरु घरमा बनाइ सामान्यरुपमा बेचिने चलन थियो । त्यसैलाई आधार मानेर बागबजारका दुई जना दाजुभाइले २०३० सालमा लक्ष्मी मिठाइ भण्डार स्थापना गरी चकलेट मिठाइहरु उत्पादन गरेर नयाँ आयाम थपेको इतिहास पनि पोखरा संग छ । यो चकलेट उद्योगले नेपाल अधिराज्य भर नै आफ्नो पहिचान राख्न सफल भएको छ । पोखराको औद्योगिक विकासको विवेचना गर्दा यो तथ्यलाई विर्सनु हुदैन । त्यसरी नै २०३१ सालमा खानाको नयाँ परिकार सिन्के चाउचाउ उत्पादन गरेर आफ्नो पाइलो सारेको सानो उद्योगले २०३४ सालमा मेसिनबाट स्टिम चाउचाउ उत्पादन गरी नेपालको चाउचाउ उद्योग सुरुवात गरेको श्रेय पोखराको गण्डकी नूडल्स उद्योगलाई जान्छ । सार्क क्षेत्रमा नै पहिलो तयारी चाउचाउ उद्योगको रुपमा पोखरामा स्थापना भएकाले यस उद्योगलाई जननीको रुपमा पोखरालाई लिन सकिन्छ ।
ठूला उद्योग, प्रतिष्ठानहरु धेरै संख्यामा नभए पनि औद्योगिक क्षेत्रको स्थापनापछि केहि मझौला साना आकारका उद्योगहरुको स्थापना, त्यसपछि तयारी चाउचाउ उत्पादन गर्ने मेशिनको उत्पादनसमेत पोखरामा भएपछि नयाँ उद्योग प्रतिष्ठानहरु खोलिने क्रम निरन्तर नै भएको छ । पर्यटन व्यवसाय स्वतः नै स्फूर्त हुने ठाउँको रुपमा लिन सकिन्छ–पोखरालाई । सरकारी योजनाहरु नभए पनि, कार्यक्रम नभए पनि जव अवसर पाउँछ, तव तत्काल नयाँ व्यवसायहरु सिर्जना हुने गरेका छन् । त्यसरुपमा नै पोखराको पर्यटन व्यवसायमा नयाँ आयाम थपिएको छ । स्तरिय होटलहरुको स्थापना, मध्यमस्तरिय लज रिसोर्टहरु खुल्ने, रेस्टुराँहरुको नयाँ रुपमा तीव्रतर विकास भएको पाउँछौ । तर ट्राभल एजेन्सीहरुले बढ्दो आवश्यकता पुरा गर्न अझै प्रयास गर्नुपर्ने देखिन्छ । त्यतिमात्र होइन आन्तरिकरुपमा देशभित्रका स्थानहरुको लागी आउने, जाने, बस्ने घुम्ने व्यवस्था गर्ने अवसरतर्फ ध्यान पुगेको छैन । त्यो एउटा संम्भावना बोकेको क्षेत्र हो । मनोरञ्जन उद्योग एकाइहरु स्थापना गर्ने थुप्रै अवसर वाँकी छ । सरकारले नीतिगत सुधार गर्नुपर्ने र खोल्नुपर्ने क्षेत्र हो–यो । मनोरञ्जन उद्योग व्यवसायको संम्भावना भए तापनि नीतिगत समन्वयको अभावमा, स्थानिय निकायहरुबाट प्रोत्साहित गर्ने वातावरणको अभावमा फस्टाउने मौका मिलेको छैन । चाहे त्यो पानीमा खेलकुद वाटरस्पोर्टस् होस् वा ग्लाइडिङ, नाइट क्लबहरु होस् वा सुरक्षित रुपमा एकान्त बास वा धार्मिक र योगाभ्यासको दृष्टिकोणले गरिने कार्य होस्, भोलिका दिनमा मनोरञ्जन उद्योगहरु स्थापना हुने क्रम बढ्नेछ । मानिसहरुमा छुट्टी मनाउने तौरतरिकामा परिर्वतन भएकोले पनि भोलिका लागी राम्रो क्षेत्र हो ।
वित्तिय सेवाका क्षेत्रहरु प्रचुर र तीव्र मात्रामा बढेको अनुभूति सबैले गरेका छन् । वित्तिय व्यवस्था गर्न , उपभोगमा वृद्धि गर्न, सुरक्षित भविष्यतर्फ जगेडा गर्न, आवश्यक सुविधा वृद्धि गर्न यो क्षेत्रले सहयोग त गर्छ नै साथै नयाँ उद्यमहरु संचालन गर्न, नयाँ व्यवसायलाई टेवा पु¥याउन पनि यसले सघाउने वातावरण बनाउन सकियो भने यो क्षेत्र अझ मौलाउने अवस्था देखिन्छ ।
शिक्षा क्षेत्र पहिलेदेखी नै आवश्यक र प्राथमिकतामा परेको क्षेत्र हो । पहिला शिक्षा क्षेत्र समुदायको लागी सामूहिक क्षेत्र संचालन भइरहेको थियो भने हालको अवधारणा गतिलो र स्तरिय शिक्षा प्रदान गर्न नयाँ प्रविधि र प्रयोग , ठूलो लगानी र शैक्षिक वातावरण उपलब्ध गर्न एउटा विशिष्ट क्षेत्रको रुपमा स्थापित हुन पुगेको छ । मानिसको तीव्र चाहना र अपेक्षा पूरा गर्न राम्रा र स्तरिय शिक्षण संस्थाहरु अझ स्थापना हुनसक्ने अवस्था देखिन्छ ।
त्यसरी नै क्रमशः स्वास्थ्य क्षेत्रमा लगानी गर्ने संम्भावनालाई नकार्न सकिदैन । एउटा ठूलो व्यवसायको रुपमा स्थापना गर्न सकिने यस्ता सेवा उद्योगले लगानीकर्तालाई आकर्षण गर्न सक्नेछ । भोलिका दिनमा दक्ष व्यक्तिहरुको उपलब्धतामा पोखराको हावापानी र भौगोलिक अवस्थितिले राम्रा एकाइहरु स्थापना हुने देखिन्छ । अवकास प्राप्त उमेर पुगेकाहरुको लागी सुखद क्षण विताउने, बाँकी समय बिताउन सकिने ठाउँ पनि बनाउन सकिन्छ ।
सञ्चार र सुचना उद्योग हाल आएर तीव्ररुपमा बढेको व्यवसाय हो । सारा विश्वलाई एकै ठाउँमा जोड्न सकिने तत्कालै सूचना र खबरहरु आदानप्रदान गर्न सक्ने प्रविधिको विकासले र हरेक दिन नयाँ प्रविधिको आगमनले यो क्षेत्रमा लगानीका आकर्षण बढ्दो छ । सुचना र जानकारीलाई अवरोध गर्न सकिदैन र गर्नुहुन्न भन्ने मान्यतावाट प्रेरित अहिलेको अवस्थामा कसले छिटो प्रवाह गर्ने भन्ने होड चलिरहेको छ । त्यसरी भोलिका दिनमा थप रेडियो–टीभी प्रसारण संस्थाहरु, दुरसंचार संस्थानहरु, जानकारी र सुचना प्रदान गर्ने संस्थाहरु तीव्रगतिले स्थापना हुने विश्वास लिन सकिन्छ । यो संगै प्रदर्शन व्यवसाय, विज्ञापन, सौन्र्दय व्यवसाय पनि फस्टाउनेछ । घर–घर चिठिपत्र, सामान, सूचना पु¥याउने व्यवसाय अब बढ्नेछ ।
यसरी यातायात क्षेत्र अहिले सबैको चासोको विषय हो । सडकको माध्यम वा हवाइ माध्यम वा अन्य माध्यमबाट सजिलै पहुँच, मानिसको आवागमन, मालसामानको आपूर्तिको लागी महत्वपुर्ण क्षेत्र भएको छ । असीमीत क्षेत्र भएको यो व्यवसायमा लगानी आकर्षण बन्न सक्छ । सडक र हवाइ अड्डाको निर्माणमा सरकारी सकारात्मक सोच अनि मर्मत सम्भार र साधनको व्यवस्थापनमा निजीक्षेत्रको संलग्नताले यो क्षेत्र मौलाउन सक्छ । पोखराबाट आन्तरिकमात्र होइन, सीमा नाघेर अन्य मूलुकसंग यातायात सम्बन्ध विकास गर्ने वेला आइसकेको छ । उत्पादन उपभोगमा वृृद्धिका कारणले मालसामान ल्याउने लैजाने व्यवसायमा तीव्रता आउनेछ । तर, सडक निर्माण क्षेत्रलाइ सरकारले प्राथमिकता दिनुपर्ने बेला छ । हल्का सवारी साधनदेखि लिएर भारी सवारी साधनसम्म प्रयोग हुने यो व्यवसाय फस्टाउन पोखरामा चक्रपथको निर्माण, पोखराबाट भिमाद हुँदै महेन्द्र राजमार्ग जोड्ने राजमार्ग, पोखरा–बाग्लुङ हुँदै डोल्पा रोल्पासम्मको राजमार्गको परिकल्पना अनि मुस्ताङ–लोमानथाङ हुँदै तिब्बत क्षेत्रसम्म पहुँच भोलिको यथार्थता हुन् । त्यसरी नै पोखराबाट अन्य मूलुकसंगको हवाइ उडान गर्न वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको लागी हवाइ उडान अपरिहार्यता हो । त्यसबाहेक जलविद्युत शक्तिको प्रचुर उत्पादन भएमा हिमाली क्षेत्रको आधारस्थलसम्म रोपवे निर्माण अर्को व्यवसायको रुपमा विकसित हुने संम्भावना छ । तर, वातावरणिय पक्षलाई नबिर्सीकन धेरै धूवाँ निस्कने साधनहरु सञ्चालन गर्नु वाञ्छनिय हुदैन ।
यसरी नै विभिन्न निर्माण व्यवसाय अगाडी बढ्नेछ । सामान्य बस्नको लागी घरदेखी ठूला व्यावसायीक गृहहरुको निर्माण, सडक,वाँध तथा कुलोको निर्माण, जलविद्युत गृहदेखी मनोरञ्जन स्थलको निर्माण ( जुन पोखराको लागी आवश्यक पनि छ ।) गर्न एउटा सम्भावना भएको क्षेत्र । अहिले थुपै्र व्यवसायीहरु यसप्र्रति आकर्षित भएका छन् ।  तर यो व्यवसायलाई मर्यादित, स्तरिय र प्रविधियुक्त बनाउने चुनौति पनि छ ।
धेरै सालदेखी मुलुक कृषिमा भर पर्नुपर्ने स्थिति छ । भएको भूमिबाट विभिन्न वस्तुहरु उत्पादन गर्ने चलन भए तापनि व्यावसायिकरुपमा खेति गर्ने प्रचलन चल्न सकेको छैन । व्यक्तिगत उपभोग गर्न आफूसंग भएको भूमिबाट सामान्य मौसमी उत्पादन गर्ने कार्य भएको छ , अब क्रमशः यो क्षेत्रलाइ व्यावसायीकरुपमा संचालन गर्ने बेला आइसकेको छ ।
एउटै वस्तु उत्पादनभन्दा वस्तु विविधिकरण गर्ने समय हो । परम्परागत रुपमा उत्पादन गर्ने चलन भए तापनि तरकारीहरु भटमास, बदाम वा धेरै मूल्य भएका वस्तुका उत्पादनमा आकर्षण बढ्दो छ । पोखरा हिजोको दिनमा तरकारीहरु नपाइने ठाउँको रुपमा चिनिन्थ्यो तर आज ती तरकारी मनग्गेरुपमा उत्पादनमा हुन्छन र वरिपरि क्षेत्रबाट थुप्रै मात्रामा आपूर्ति हुने गरेको छ । भोलिका दिनमा यसको माग अझ बढ्ने निश्चित छ । त्यसरी नै मासु र माछा वा पशुपालनका लागी व्यावसायिकरुपमा उत्पादन गर्ने क्रम बढ्दो छ । कुखुरापालन, माछापालन, मौरीपालन जस्तो व्यवसायमा मानिसहरुको आकर्षण, फलफुल उत्पादनमा वृद्धि, फुलको बढ्दो मागले नर्सरी व्यवसायप्रतिको आकर्षण, स्वास्थ्यप्रति चेतनाको विकासले प्रांगारिक मल राखेर उत्पादन गर्ने प्रक्रियाको पनि राम्रो सुरुवात भएको छ । ग्रिन हाउस, कोल्ड स्टोरेजका कामहरु पनि बढ्न थालेको छ । सबैभन्दा सबल पक्ष भनेको अधिकाश जग्गाधनीहरुमा अब व्यावसायीक खेतिमा संलग्न हुनुपर्ने संस्कारको विकास भएको छ । जमिनलाई खाली वा बाँझो राख्नुहुदैन भन्ने प्रवृत्ति रहेको छ । केहि उच्च ठाउँहरुमा मौसमअनुसारको खेति गर्न सकिने प्रविधि भित्र्याउन सकिने हो भने त्यसले ठूलो प्रभाव पार्नेछ । पशुपालन र दुग्ध व्यवसाय अगाडी जानसक्ने क्षेत्र हो ।
तयारी वस्तुहरु उत्पादन गर्ने साना–मझौला प्रतिष्ठानहरु खुल्दै गएका छन् तर भूपरिवेश हावापानी, रहनसहनको कारणले गर्दा यस्ता उत्पादनशिल प्रतिष्ठानभन्दा सेवा प्रदान गर्न सकिने प्रतिष्ठानको संख्यामा बढोत्तरी भएको देखिन्छ । अझै पनि संगठित र संस्थागतभन्दा पारिवारिक व्यवसायको स्वरुप बढी पाइन्छ । त्यसैले पुँजीको सीमितता, जनशक्तिको अपर्याप्तताको कारणले पनि संगठितरुपमा ठूलो उद्योग —प्रतिष्ठानहरु नखुलेको हुन सक्छन, त्यसमाथी सरकारी निति र कार्यान्वयन पक्ष कमजोर रहनु , स्थानिय निकायद्धारा सहुलियत दिने कुरामा कञ्जुस्याइँ हुनु र विभिन्न कारणले निरुत्साहित बनाउने प्रवित्तिबाट पनि साना–मझौला एकाइमा सीमित हुनुपर्ने स्थिति सिर्जना भएको छ । त्यसकारण पोखरामा ठूला प्रतिष्ठानहरुको अभाव भएको छ ।
त्यसो त पोखरामा ठूला उद्योगहरु स्थापना गर्ने–नगर्ने एउटा बहसको विषय बनेको छ । स्वच्छ र वातावरणीय दृष्टिकोणले पोखरालाई औधोगिक शहरको रुपमा लैजाने वा व्यावसायिक शहरको रुपमा सेवा क्षेत्रलाई बढि समाहित गर्ने भन्ने कुरालाई मनन गर्दा दोश्रो पक्षको बाहुल्य पाउंछौं । सायद ठूला प्रतिष्ठानहरु नहुनुको एउटा कारण त्यो हुन सक्छ । अहिलेको खाँचो पनि हो मानवीय , प्राकृतिक र वातावरणीय सन्तुलनलाई कायम राख्न सक्नु ।
पोखरा र वरिपरिका क्षेत्रमा प्रचुर सम्भावना भएर हालसम्म गर्न नसकिएको वा हुन नसकेको काम भनेको वनमा आधारित व्यवसायहरु हुन् । जडीबुटी, बन्य सामग्रीको उपलब्धता हुँदाहुदै पनि वनलाई व्यावसायिक बनाउने सोचको विकास सरकारसँग नभएको हुनाले पनि यो क्षेत्र अझै पवित्र रहेको छ । वन संरक्षणमात्र पर्याप्त छैन । भएका स्रोतको उपयोग र उपभोग नगर्ने हो भने त्यो नष्ट भएर जान्छ । त्यसैले समयमै सदुपयोग गर्न वनसम्वन्धि व्यवसायलाई प्रचुर मात्रामा प्रयोग गर्ने बेला भइसकेको छ । सरकारको सकारात्मक नीति आएमा यो एउटा राम्रो व्यवसाय गर्न सकिने अवसर हुनेछ । त्यसरी नै प्राकृतिक संरक्षण, वन्यजन्तु संरक्षणको लागी पनि व्यवसायीक अवधारण अगाडि भएमा यो व्यवसायमा आकर्षण बढ्नेछ ।
सर्सर्ती हेर्दा पोखराको व्यावसायिक क्षेत्र वृद्धि हुने अवस्थामा पुगेको पाउंछौ । दोश्रो ठूलो सहर भएको कारणले थप सहरीकरणको लागी चाहिने आधारभूत सुविधाहरु वृद्धि हुनुपर्ने अवस्था छ । योजनावद्ध सहरको विकास अहिलेको सबैभन्दा ठूलो खाँचो हो । सहर साँस्कृतिक, बौद्धिकरुपमा स्थापित गर्नुपर्ने , सहरलाई सफा, स्वस्थ र वातावरणीयरुपमा आकर्षक थलोको रुपमा बढाउनुपर्ने अर्को आवश्यकता हो — सहरमा बसोबास गरिसकेपछि यो हाम्रो सहर, हामीले केही गनुपर्छ भन्ने अवधारणा विकास हुनु अर्को आवश्यकता हो । जीवन्त सहरको रुपमा यसलाई अगाडी बढाउनु सहरवासीहरुको दायित्व हो ।
व्यावसायिकरुपमा सक्रिय निजी क्षेत्र पनि पोखराको व्यावसायिक महत्वलाई ध्यान दिँदै स्वच्छ व्यवसायलाई प्रोत्साहित गर्ने, प्रतिस्पर्धात्मक व्यवसायलाई बढावा दिने, लगानी बढाउने बातावरणको सिर्जना गर्ने र निजि क्षेत्रको सामाजिक दायित्व र भूमिलाई आगाडी बढाउने कार्यमा तल्लीन हुनेवेला आएको छ ।
भोलिको पोखरा हाम्रो भविष्य हो । हिजो झै पोखरालाई जीवन्तता प्रदान गर्नुपर्ने हाम्रो अगाडी चूनौती छन्, भोलिका दिन भनेको पोखरासंग प्रतिस्पर्धा गर्ने अरु सहरको विकास हुने आवस्था हो । भोली कुन सहरमा लगानी गर्ने, कुन सहरमा बसोवास गर्ने, कुन सहरलाइ महत्व दिने भन्ने बहस हुने बेला छ । त्यसैले भोलिका चुनौतीको लागी आजैबाट सोचविचार गर्ने बेला हो ।

के गर्नुपर्ला ?
– पोखरावासीहरु सकारात्मक सोचसहित सामूहिक भावना र पोखराको लागी एकवद्ध हुनुपर्दछ ।
–    पोखरा व्यावसायिक लगानीको लागी सुरक्षित छ भन्ने सन्देश र स्वच्छ, समन्वयात्मक र सिर्जनात्मक वातावरण तयार गर्नुपर्छ ।
–    दक्ष जनशक्ति र व्यावसायिक दक्षता हाँसिल गर्नसक्ने अवस्था बनाउनु छ ।
–    आधारभूत सेवाहरुको विस्तारका लागि पनि विद्युत, सञ्चार, यातायात क्षेत्रहरु विस्तार गर्नु छ ।
–    पोखरामा वृहत्तर विकासका लागी योजनवद्ध कार्यक्रम सुरुवात गर्न र पोखरालाई “वृहत्तर पोखरा” को अवधारणा आगाडी ल्याउन पोखरा विकास प्राधिकरणको गठन गर्न सरकारलाई दबाब दिन सक्नुपर्दछ ।
–    पोखरामा एक वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, पोखरा उपत्यकामा रहेका गाविसहरु समाहित गरी चक्रपथको निर्माण, जैविक विविधताको संरक्षण, पशुपंक्षीको लागी बोटानिकल गार्डेन, मनोरञ्जन स्थलको रुपमा अम्यूजमेन्ट पार्क (Amusement Park ) को निर्माण बाञ्छनीय छ ।
–    पोखरा स्वच्छ , सफा र सुन्दर सहरको रुपमा कायम राख्ने दायित्व पोखरेलीहरुको हुनुपर्दछ ।
–    पोखरालाई विचार प्रधान, सुसंस्कृतियुक्त र जीवन्त सहरको रुपमा कायम राख्न हाम्रो संस्कार त्यसतर्फ उन्मुख हुनुपर्दछ ।
–    पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा स्थापित गर्नेतर्फ उन्मुख हुनुपर्दछ ।

त्यसैले हामी पोखरेली हुनुको गर्व गरौ । पोखरेलीको हैसियतले यो सहरलाई व्यवस्थित गर्न स्वच्छ, सुन्दर र जीवन्त बनाउन हामी सबै क्रियाशील होऔँ ।

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *