role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखराको व्यावसायिक स्थिति : विगत र वर्तमान

पोखराको व्यावसायिक स्थिति : विगत र वर्तमान
शिवजी कोइराला
का.का.स.,पोउवासंघ

(पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार)
पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र पोखरा उपत्यका मध्य पहाडी भू–भागभित्र उपत्यकाको रुपमा रहेको समथर भू–भाग हुँदा र अन्य विविध कारणबाट वरपरका पहाडी भू–भागका बस्तीहरुबाट बसाइँ सर्ने प्रवृत्ति बढ्दै गएको हुनाले यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपुर्ण प्रभाव पारेको पाइन्छ र जनआवादीको क्रम तीव्र गतिले बढ्दै गइरहेको छ ।
पोखराको बसोबासको सम्बन्धमा डा.हर्कवहादुर गुरुङ लेख्नुहुन्छ – “मध्यकालीन समयमा अरु पहाडी क्षेत्रभन्दा कम महत्वपुर्ण थियो, त्यसैले केही मानिसहरु बस्न थाले पनि १८ औँ शताब्दीपछि मात्र पोखराले राजनीतिक महत्व पाएको थियो । ई.सं. १७५२ मा कास्कीका राजाले भादगाउँबाट भाँडाकुँडा बनाउने  नेवार व्यापारीहरु ल्याएर बस्ती बसाएका थिए ।” वास्तवमै त्यसपछि मात्र पाटन र काठमाडौँबाट नेवारहरु आई नेवारी शैलिका घरहरु बनाएर सहर–बस्ती बसाउन थालेका हुन् । विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, साँघुकोमुख, गणेशटोल, रामकृष्णटोल लगायतका अन्य केही ठाउँहरुमा बसेका सहरी बस्तीहरुले नै पोखरा उपत्यकालाई एउटा व्यापारीक केन्द्रको रुपमा चिनाउने र विकास गर्ने महत्वपुर्ण भूमिका निर्वाह गरेको अनुभूति गर्न सकिन्छ ।
पोखरा उपत्यकाभित्रका प्रायः सबै समथर भू–भागहरुमा औलो रोगको प्रकोपका कारण धेरै ढिलोमात्र वसोवास हुन थालेको हो भनेर अनुभव पकाएर बुढ्यौली सुम्सुम्याउँदै बस्नुहुने बूढा बा–आमाहरु भन्नुहुन्छ– “साँघुमुखनजिकैको बगैंचामा बाघ पिटीपिटी मारेको कुरा बिर्सन सकिएन । औलोसौलो पनि हरायो, मान्छेहरु पनि भरिए । स्याल खेल्ने बगैंचा व्यापारिक थलो बन्यो । रुखहरु जति वाक्ला थिए, सोभन्दा बढी घरहरु भए । धनशम्सेरको दरबारमा रेडियो त बजेकै थियो तर  हामीजस्ता नागरिकको घरहरुमध्ये सबैभन्दा पहिला २००४ सालमा भीमसेनटोलका चन्द्रवहादुर भारीको घरमा रेडियो बज्दा हामीजस्ता रेडियो सुन्नेहरुको भीड लाग्थ्यो ।”
राजमार्ग निर्माण हुनुभन्दा धेरै पहिलेदेखी नै यस उपत्यकाका व्यापारीहरुले ८–१० दिन पैदल हिँडेर काठमाडौँबाट र १०–१२ दिन पैदल हिँडेर भैरहवाबाट भरियाहरुलाई सामान बोकाई ढुवानी गरी व्यावसायीक कारोबार सञ्चालन गरेको पाइन्छ । यही क्रममा उत्तरको तिब्बत, मुस्ताङतिरबाट ल्याइएका जडीबुटी, उन, भेडा च्यांग्रा तथा अन्य विविध सामान र दक्षिण भारतबाट ल्याइएका जीरा, मरिच, ल्वाङ तथा किराना बिसातालगायत अन्य विविध सामानहरु एक–अर्काका बदलामा अ‍ैंचोपैंचो, सट्टापट्टा गर्ने क्रमसँगै खरिदबिक्रीको प्रचलन बढ्न थाल्यो । तत्कालिन अवस्थामा स्थापित भएका लघु उद्यमहरुबाट उत्पादित “पुस्टकारी” जस्ता मिठाइको स्वाद र आकारले धेरैको मानसपटलमा गहिरो छाप छाडेको पाइन्छ ।
भारतीय पेन्सन क्याम्पको २०११ सालमा रानीपौवा महेन्द्र बटालियनको कम्पाउण्डबाहिर रहेर र २०१४ सालमा अमरसिंह हाइस्कुलको दक्षिणतर्फको जग्गामा क्याम्प खडा गरी पेन्सन वितरण गर्न सुरु गरेको हुनाले भारतीय पेन्सन क्याम्प व्यवस्था गरी भवनहरु बनाई २०१९ सालदेखी व्यवस्थित ढंगबाट पेन्सन वितरण गर्न सुरु गरेको हुनाले भारतीय पेन्सन क्याम्प रहेको कारणबाट नै ती–ती ठाउँहरुको बजार विकासमा महत्वपुर्ण सहयोग पुग्न गएको पाउँछौ ।
२००८ सालदेखी काठमाडौँ सँग हवाइमार्गको सम्वन्ध कायम भएपछि व्यापारीक प्रतिष्ठानहरुलाई सहयोग पुगेको हुँदाहुँदै पनि अनिश्चित हवाइ सेवाको कारण व्यापारीहरुलाई एयरपोर्टमा दिन फाल्नुपर्ने अवस्था नरहेको होइन । व्यापारीहरुले भोगेको यी समस्यालाई बुझेर तत्कालिन पोखरा व्यापार संघले संघ स्थापनाको सुरुवातमै एयरपोर्टनजिक एक घर वनाई कर्मचारीसमेतको काम गर्दै संघले सडक यातायातको खाँचो औंल्याई यातायातको विकासमा सरकार र नागरिक समाजको ध्यान तान्नेजस्ता महत्वपुर्ण काम गरेको थियो । सडक यातायातको विकास हुनुअघि पोखरा उपत्यकामा मालसामानको ढुवानी गर्ने काम गोरु गाडाबाट गरिन्थ्यो । गोरु गाडा पुग्न नसक्ने ठाउँहरुमा गधा, खच्चड वा भरियाबाट बोकाई ढुवानी गर्ने चलन थियो र यो चलन धेरथोर यतिबेला पनि कहीं कतै देख्न पाइन्छ ।
२०१६ सालमा भैरहवासँग पनि सम्वन्ध कायम हुनु, २०२१ सालदेखी २०२५ सालको अवधिमा भैरहवासँग जोड्ने राजमार्ग र २०२६ सालदेखी २०३० सालको अवधिमा राजधानी र त्रिभूवन राजपथको बाटो अन्य क्षेत्रसँग जोड्ने पृथ्वी राजमार्गसमेतको निर्माणले अनेकौँ भौतिक अनुकूलतासँगै थप विकासको सम्भावना बोकेर यस उपत्यका व्यावसायिक गतिमा तीव्र ढगंबाट अगाडी बढेको पाइन्छ । यसरी व्यापारीक क्षेत्रमा विकास गर्दै अगाडी बढिरहेको पोखरा उपत्यकालाई हवाई मार्गको सम्बन्धका अलावा २०२४ सालदेखी निर्माण हुन थालेको सडक यातायात र त्यसको विकासका साथै व्यापारीक समस्या र सम्भावना बुझदै समस्या समाधानमा विशेष भूमिका निर्वाह गरी व्यावसायीक क्षमता अभिवृद्धि गर्नमा पोखरा व्यापार संघको महत्वपुर्ण भूमिका रहेको देखिन्छ ।
पोखरामा विभिन्न समयमा निर्माण भएका सिंचाइ आयोजनाले पनि कृषि क्षेत्रको उत्पादनमा वृद्धि गराउदै रोजगारी उपलब्ध गराएको हुँदा कृषि व्यवसायलाई व्यावसायिकरुपमा संगठित गर्न मद्दत पुगेको स्थिति छ, तापनि कृषि व्यवसायलाई व्यावसायिकरण गर्ने इच्छाशक्तिको विकास हुन भने बाँकी नै देखिन्छ । कृषि, वनजन्य उपजमा आधारित उद्योग व्यवसायमा खासगरी राइसमिल, तेल मिल, कन्फेक्सनरी तथा मिठाइ उद्योग, पाउरोटी, चाउचाउ, विस्कुट मसला र दुग्ध पदार्थ उत्पादन गर्नेजस्ता विभिन्न उद्योगहरु र मह अचार, जुस तथा अन्य उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु सञ्चालनमा रहेको पाइन्छ । यसका साथै साघुँको मुखमा एउटा समूहको विशेष काम भनेको चिउरा उत्पादन गर्ने नै हुन्थ्यो, जुन समूहलाई “डोल” भनेर चिनिन्थ्यो । जसले ढिकिबाट कुटेर उत्पादन गरेको चिउरा अत्यन्त स्वादिष्ट र उपयोगी मानिन्थ्यो । हाल त्यो पेसा विस्थापित भइसकेको छ ।
आन्तरिक स्रोत–साधनलाई परिचालन गरेर सञ्चालन गर्न सकिने जडीबुटी प्रशोधनका उद्योगहरु, जडीबुटीका किटनाशक औषधी लगायत अन्य गैरकाष्ठ वन पैदावरसँग सम्बन्धित उपयोगी तेल तथा अन्य कच्चापदार्थको उत्पादन गर्ने कृषि उत्पादन जस्ता क्षेत्रमा अझै पनि ध्यान जान सकेको देखिदैन । हामी आफैंले उत्पादन गर्न सक्ने भए पनि यो क्षेत्रसँग सम्बन्धित वस्तुहरुको आपूर्तिमा विशेषगरी भारतमाथी नै भर पर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर कृषि उत्पादनसँग सम्बन्धित विशेष बजारको आवश्यकता महसुस गरेर महेन्द्रपुलको अति आकर्षक र व्यवस्थित ढंगबाट बनाइएको पार्कलाई विस्थापित गरी महेन्द्रपुल, सिर्जनाचोक लगायतका ठाउँमा प्रोजेक्ट (जिएडिपि) द्धारा बनाइएको कृषि उपज बेचबिखन गर्ने बजार अन्यत्रको बजारसरह नै सञ्चालित हुन थालेको छ । पोखराको महेन्द्रपुलले कृषि उपज बेचबिखन थलोको नाममा एउटा व्यवस्थित र सुन्दर पार्कलाई गुमाउन पुगेको छ । हाल यतिवेला युएनसिडिएफको सहयोगमा पोखरा उपत्यका विकास समितिले उपलब्ध गराएको जग्गामा १०५ वटा विक्री कक्षको कृषि उपजको थोक व्यापारिक बजारको स्थापना भएको छ । र खुद्रा बजारको रुपमा निजी क्षेत्रले १४६ वटा विक्री कक्ष भएको तरकारी फलफुल बजार श्री कम्प्लेक्स सञ्चालनमा ल्याएको छ । यसबाहेक पनि फुटपाथमा तरकारी, फलफुल र अन्य सामानहरु विक्री भइरहेको अवस्था पनि छ । यसै विच २५०० मेट्रिक टन क्षमताको पश्चिमाञ्चल कोल्ड स्टोर प्रा.लि को स्थापनासमेत भई सञ्चालनमा आइसकेको छ ।
२००४ सालसम्म पोखरा पुगेको महसुस गर्नलाई नालामुख पुग्नै पर्न अवस्था नालाको मुखको बजारले सिर्जना गरेको थियो । वि.सं. १९८०–९० अगाडी भुपेन्द्रजंग जर्नेलले उत्तर–पश्चिमतर्फको पाखो अँधेरी कुनाको पानी ल्याई तीनवटा धारा राखेपछि नै नालामुखको नाममा प्रचलनमा आएको भनिन्छ । पोखरा बजारभित्र बढ्दै गईरहेको जनआवादीलाई ध्यानमा राखेर पानीको खाँचो टार्न वालसम्सेरको सम्झनामा बबरसम्सेरले पश्चिमपट्टीको पाखो धारापानीको पानी ल्याई बगर, मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, तेर्सापट्टी, साघुँमुख, गणेशटोल, रामकृष्ण टोल र बगालेटोल लगायतका ठाउँहरुमा १२ वटा धारा राखी पोखराको बजार क्षेत्रमा पानीको व्यवस्था मिलाइएको थियो । जुन धाराहरुलाई बालधाराको नामले वुझिन्छ । यिनै बालधारा राखिएका ठाउँहरुमा नै व्यापारीक कारोबार हुने गरेको मुख्य ठाउँहरु हुन् । पछि बजार विस्तार हुँदै जाने क्रममा अन्यत्र पनि क्रमश बजारको स्थापना र विकास हुँदै गएको हो । मोहोरियाटोल विभिन्न अड्डा अफिसहरु भएका कारणले पनि हुनसक्छ त्यो क्षेत्र पोखराकै केन्द्रभागको रुपमा विकसित भएको थियो । यही ठाउँमा किराना–बिसाता कपडालगायत सुनचाँदी, गरगहना र जडीवुटीको व्यापार प्रमुख रुपमा हुन्थ्यो । इतिहास बनिसकेको अर्को लामपाते तमाखु, सुर्ती, काँचो पातको भुसांह आदिको व्यापार लामाचौतारा र साँघुमुखमा भएको पाइन्छ । जसमा प्रमुख व्यापारीक भूमिका सिमलचौरका कमरजोगीहरु र नदिपुरका पौडेल, भण्डारी, दाहाल, पराजुली, बाहुनहरुको थियो ।
व्यावसायिक प्रतिष्ठानको बनोट र वृद्धि
खाद्य किराना–बिसाता
मानविय आवश्यकताका हिसावले नभई नहुने खाद्य, किराना–बिसाताका सामानहरुको पसल संख्यामा जनआवादीको विस्तारसँगसँगै वृद्धि भइरहेको पाइन्छ । कुनै पनि ठाउँमा प्रारम्भमा यस्ता प्रकृतिका पसलहरु र साना होटल रेस्टुरेन्टको स्थापना र सञ्चालनबाटै बजार विकास भएको पाइन्छ । यस्ता पसल र होटल रेस्टुरेन्टको संख्यामा आएको वृद्धिसँगै बजार स्थापित भएको पाइन्छ । दैनिक उपभोग्य वस्तुहरु लगायत खिच्रीमिच्री किराना पसलहरु उपत्यकाभित्र लगभग १२,००० को संख्यामा सञ्चालित छन् भने नगरभित्रै ८,००० को संख्यामा सञ्चालित छन् । अहिले यस्ता पसल व्यवसाय अत्यन्त व्यापकता अँगालेको छ । यस क्षेत्रको व्यापारिक कारोवारमा संलग्न किराना व्यवसायीहरुले २०५३ सालमा खुद्रा किराना व्यवसायी संघको स्थापना गरेका छन् ।
नापतौलका सम्बन्धमा जाँचवुझ गर्ने अभियान सरिक भएर खुद्रा व्यवसायी र उपभोक्त दुवैलाई सहयोग र सघाउ पु¥याउने काम गरेको छ । खाद्य किराना–बिसाताको थोक व्यापार गर्ने र खुद्रा बिक्री पटक्कै नगर्ने २ वटा मात्र प्रतिष्ठान देखियो र लगभग ५० वटा जति थोक व्यापारीहरुले खुद्रा बिक्री गर्ने गरेको पनि पाइयो । पहिला किराना–बिसाताभित्रै अटाएको स्टेशनरी खेलकुदका सामानहरु पुस्तकको साथमा रहि स्टेशनरी पसलको रुपमा संचालित छन । यिनै पसल प्रतिष्ठानहरु संगठित भई २०४३ सालमा पुस्तक व्यवसायी संघको स्थापना भएको छ । हाल ७९ जना व्यवसायी यस संघमा आवद्ध भएको पाइन्छ । खेलकुदका सामग्रीहरु मात्रै छुटै पहिचान लिएर ४ वटा पसल सञ्चालनमा आएको देखिन्छ ।
कपडा
माड भएको कपडा, खद्दर, कोरा वा मसिना कपडाहरुको थोक वा फुटकर बिक्री गरिने पसलहरुको संख्या अन्य पसलको तुलनामा अत्यधिक थियो । जहाँ बजार त्यहाँ कपडा पसल भन्न मिल्ने ढंगबाट कपडा पसल सञ्चालित रहेको पाइन्छ । प्रायः सबै कपडा पसलको पेटी पटाहामा लुगा सिउने व्यवस्था मिलाइएको हुन्थ्यो । छुट्टै टेलर्सको स्थापना धेरै पछि मात्र हुन थालेको हो । पोखरा उपत्यका भित्र यस्ता पसलको संख्या सुरुमा अत्यधिक भए पनि जनघनत्वको विकासअनुसार यसको संख्यामा वृद्धि भएको पाइदैन । रेडिमेट फेन्सी पसलले पुराना कपडा पसललाई विस्तार हुन रोकेको देखिन्छ । कतिपय गार्मेण्ट उद्योगहरुले काठमाडौँ चीन तथा भारतमा तयार गरिएका रेडिमेट कपडाहरु नै ल्याएर बिक्री गरेको पाइन्छ । यद्यपी कपडा व्यवसायीहरुलाई सफल र सक्षम बनाउन कपडा व्यवसायीहरुले २०५३ सालमा आफ्नो संघ स्थापना गरेका छन् र सो संस्थामा १३५ जना व्यवसायी आवद्ध भएको पाइन्छ र यस उपत्यकाभित्र १५० वटा भन्दा बढी पसल, प्रतिष्ठान सञ्चालित छन् ।

रेडिमेट, फेन्सी, कस्मेटिक
विश्व बजारबाट रेडिमेट सामग्रीहरु सहज र सुलभ ढंगबाट प्राप्त हुन थालेपछि रेडिमेट अर्थात फेन्सी पसलको संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ र यो वृद्धि हुने क्रम अझ तीव्र ढंगबाट अगाडी बढिरहेको छ । इलेक्ट्रोनिक्स लगायत कस्मेटिक सामग्रीहरु र अन्य विविध आवश्यकीय सामानहरु सहित देखापरेको फेन्सी पसल हाल नयाँ र आकर्षक शैलिमा देखा पर्न थालेको छ । प्रारम्भमा पोखरा उपत्यकाभित्र सबैभन्दा पहिला फेन्सी कस्मेटिक्सको व्यापार आरम्भ गर्ने काम मोहरियाटोलमा समरबहादुर बजिमयले र त्यस्तै रेडिमेट कपडा उत्पादन गरी बिक्री वितरण गर्ने कार्यको थालनी साँघुमुखमा द्धारिकानाथ कायस्थले गर्नुभएको पाइयो । हाल यस्ता पसल प्रतिष्ठानहरु महेन्द्रपुल, चिप्लेढुङ्गा र पृथ्वीचोक, बगर लगायतका बजारमा र विशेषगरी वुद्ध विशाल बजार, अन्नपुर्ण सुपरमार्केटहरुमा अत्यधिक संख्यामा सञ्चालित भइरहेको छ । कस्मेटिकको अलगै पहिचान कायम गरिएका पसलहरुको संख्यामा अत्यधिक वृद्धि भई यस उपत्यकाभित्र हाल ९० भन्दा बढीको संख्यामा सञ्चालित रहेको  पाइन्छ ।
फोटो व्यवसाय
२०१७ सालमा स्थापना भएको नारायण फोटो स्टुडियो नै फोटोग्राफी व्यवसायको क्षेत्रमा पहिलो मानिन्छ । यसअघि पनि सौखको रुपमा फोटो खिच्ने काम भने अलि–अलि नभएको होइन । २०४३ सालदेखी कलर ल्याब स्थापना भई भिडियोग्राफीको कामसमेत प्रशस्त मात्रामा हुने गरेको पाइन्छ । यसअघि रंगीन फोटो खिचिए रिल सफा गर्न काठमाडौँ पठाउनुपर्ने अवस्था थियो । २०६० सालदेखी त पोखरामा डिजिटल फोटो लिन सकिने व्यवस्थासमेत भएको हुँदा यो डिजिटल प्रणालीले सामान्य फोटोग्राफी व्यवसायलाई विस्थापित गर्ने अवस्था सिर्जना हुन पुगेको छ । हालसम्म ९० वटाभन्दा बढी फोटोग्राफी व्यवसायी छन् भने करिब १५ वटा कलरल्याब सञ्चालित छन् । २०४७ सालसम्म आइपुग्दा फोटोग्राफी क्षेत्रमा भएको विकास अत्यन्त उत्साहजनक मानिन्छ ।
धातु, सिल्प तथा हस्तकला
धातुका भाँडाकुँडाहरु उत्पादन गर्ने प्रक्रियामा केहि परिर्वतन भएपछि तत्–तत् ठाउँहरुमा नै परम्परागत पेशाका रुपमा धातुका भाँडाकुँडा उत्पादन र बिक्री वितरण हुने गरेका छन् । बाहिरबाट सामान ल्याई वितरण गर्ने पसल प्रतिष्ठानहरुको संख्या पनि अत्यधिक रुपमा बढिरहेको छ । यहीरुपमा प्लास्टिकका भाँडा–वर्तनलगायतका अन्य सामग्रीको उत्पादन र यहीँको उत्पादन एवं बाहिरबाट ल्याई वितरण गर्ने प्लास्टिकका सामग्रीहरुको पसलको संख्या समेत अत्यधिक बढिरहेको छ ।
पहिला–पहिला माटोको भाँडा–वर्तन, चिलिम, धुपदानी, भुड्का, खोत्तिया आदि सामग्रीहरुको उत्पादन हुने गरेको थियो । तर, हाल दाउरा, पराल महंगो पर्ने, माटो पर्याप्त नपाइने र बढी मात्रामा पानी पर्ने ठाउँमा भएका कारण त्यस्तो उद्योगले निरन्तरता पाउन सकेन । चिलिम बनाउने काम लेखनाथको अघौँमा हुने गरेको पाइन्छ तर पनि व्यापकता लिन सकिरहेको छैन । हाल भक्तपुर, ठिमी, भैरहवा र काठमाडौँमा उत्पादित माटाका विविध सामानहरु र चीनमा उत्पादित सेरामिक्सका सामग्रीहरुको बिक्री वितरण गर्ने करिब २५ वटा पसल यस उपत्यकाभित्र सञ्चालित छन् ।
बजारको विकास र मानिसको जीवनस्तरमा आएको परिवर्तनका कारण पछिल्लो पिँढीका मानिसहरुलाई डालो, थुम्से, स्याखु, भकारी, मान्द्रोजस्ता शब्दहरु पनि अध्ययनको विषय बन्ने सम्भावना देखिएको छ । ग्रामिण बस्तीहरुमा यसको महत्व र उपयोगिता त्यतिकै कायम रहेकोेले र गुन्द्री, मान्द्रो, कोक्रो लगायतका सामग्रीहरु बनाउन सक्ने सीपका धनीहरुको वाहुल्य रहेको र कच्चापदार्थको आपूर्तिसमेत भइरहेको कारण अझै पनि यस उपत्यकाभित्र १२–१५ वटा पसलबाट बाबियो, चोयां, कोत्राका सामानहरु बिक्री वितरण भइरहेको पाइन्छ ।
यस उपत्यकाभित्र सबैभन्दा पहिला बाँडाहरुद्धारा लगभग वि.सं.२००० सालभन्दा अगाडी नै मोहरियाटोलमा सुनचाँदी गरगहनाको पसल सञ्चालित थियो । विस्तारै यस्तो पसलको संख्यामा वृद्धि हँुदै प्रायः सबै बजारमा सुनचाँदी गरगहनाको पसल सञ्चालन भइरहेको देख्न पाइन्छ र आयातीत पित्तलको गरगहनाको पसलको संख्यामा समेत वृद्धि हँुदै गएको छ । सुनारहरुले २०१६–१७ सालदेखी रामबजारमा सुनचाँदी व्यवसाय सञ्चालन गरेको पाइन्छ । पहिला–पहिला सुन किनेर दिनभरी कुटी गहना बनाएर लैजानुपर्ने अवस्था थियो । विशेषगरी २०५० सालयता रेडिमेट गरगहनाको उत्पादन भई शो–रुम स्थापना भएको पाइन्छ र रामबजारपछि तेर्सापट्टी, महेन्द्रपुल, बगर, पृथ्वीचोकलगायतका ठाउँमा सुनचाँदी, गरगहना व्यवसाय विस्तार भइरहेको छ र यो क्रम अझ बढ्दो अवस्थामा छ । सुनचाँदी व्यवसायी संघ २०४४ सालमा स्थापना भएपनि २०५३ सालमा मात्र कास्की जिल्लामा क्रियाशिल भएको पाइन्छ । यस संघमा १०० जना व्यवसायी आवद्ध छन् । जबकी पोखरा बजारमा मात्र २५० भन्दा बढि व्यवसायीले सुनचाँदी व्यवसाय सञ्चालन गरेको पाइन्छ ।
स्वास्थ्य उपचार र योसंग सम्बम्धित व्यवसाय
सुरुमा यस उपत्यकाभित्र २ वटा औषधी पसलमात्र थियो । बाहिरबाट ल्याइएका औषधीहरुको मात्रा–मात्रा छुट्याई प्रयोग विधिसमेत उल्लेख गरी बिक्री गरिने चलन थियो । डाक्टरको अभाव भए पनि त्यतिबेला कम्पाउन्डरबाट उपलब्ध सेवा विरामीका लागि पर्याप्त भएको महसुस गरिएको पाइयो । पोखराको टुडिँखेलमा विदेशीको सहयोग र व्यवस्थापनमा साइनिङ अस्पतालको स्थापना भएपछि विदेशी डाक्टरहरुको प्रभावकारी उपचारबाट बिरामीहरु बढी लाभान्वित भएका थिए । स्वास्थ्य क्षेत्रमा साइनिङ अस्पतालको स्थापनालाई एक ऐतिहासिक कार्यको रुपमा लिइएको पाइयो । त्यसपछि सोल्जर्सबोर्ड अस्पताल हालको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल स्थापना हुन पुग्यो । प.क्षे अस्पतालको अवस्थामा आइपुग्दा यो अस्पताल ५०० बेड क्षमताको भएको छ । केहि समयअगाडी मणिपाल टिचिङ अस्पताल ३०० बेडको क्षमता लिएर स्थापित भइसकेको छ । यो अस्पताल विदेशी लगानीमा स्थापित भएको हो । जनघनत्वको तीव्र विकाससँगै यस उपत्यकाभित्र बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै निजि क्षेत्रबाट पनि अस्पतालको स्थापनामा उल्लेखनिय भूमिका रहेको पाइन्छ  । निजि क्षेत्रको पहिलो पाइला  २५ वटा बेडको क्षमता भएको पद्य नर्सिङ होमको स्थापनाबाट अगाडी बढेको थियो । हाल २५ वटा नै बेडको क्षमता बोकेर फिस्टेल, फेवा, पोखरा, ओम र बुद्ध हस्पिटलले सेवा पु¥याइरहेका छन् भने प्रसुती वार्डको मात्र सेवा लिएर अभियान सामुदायिक अस्पताल देखापरेको छ । हालै लेखनाथ सामुदायिक अस्पताल, रुपा हस्पिटल एन्ड रिसर्च सेन्टर र चरक हस्पिटलको समेत स्थापना भएको छ । सन् २००५÷२००७ सालदेखी सुरु भएको दन्त सेवाले अहिले अस्पतालको रुप लिएको छ । कान्तिपुर डेन्टल अस्पतालदेखी १३–१४ वटा क्लिनिकहरु यहाँ सञ्चालित छन् ।
यसरी सञ्चालित सबै अस्पतालहरुमा औषधी पसल समेत सञ्चालित छन् र यस्ता विभिन्न बजारहरुमा पनि क्लिनिक सेवाका साथ औषधी पसलहरु पनि राखिएका छन् । यस उपत्यकाभित्र औषधी पसलको संख्या १०६ पुगेको छ । औषधी पसलहरुलाई व्यवस्थितरुपमा सहयोग पु¥याउन वि.सं.२०४२ सालमा औषधी व्यवसायी संघको स्थापना गरेपछि गण्डकी अञ्चलभित्र मात्र १३७४ जना व्यवसायी त्यस संघप्रति आवद्ध भएको पाइन्छ ।
धेरै पहिलादेखी नै पहाडी र उच्च पहाडी भू–भागमा उत्पादित जडिबुटी र ती जडिबुटीको राम्रो ज्ञान भएका वैद्यहरुद्धारा जडीबुटीको उचित सम्मिश्रण गरी तयार भएका आयुर्वेदिक औषधीसमेत उपलब्ध गराई उपचारमा सफलता पाइरहेको इतिहास हाम्रोसामु छ । राणाशासनकालमा मोहरियाटोलमा रहेको धनशम्सेरको दरबारमा राजबैद्यको व्यवस्था गरिएको थियो । राजवैद्यको भूमिका निर्वाह गर्नुहुने ती अनुभवी व्यक्ति शाही सेनाको सिंहनाथ गणमा मेडिकल अफिसरका रुपमा क्रियाशिल चीनबहादुर प्रधानका छोरा जगतबहादुर प्रधान हुनुहुन्थ्यो । तिनै राजबैद्यको सन्तानले अहिले पनि सिंहनाथटोलमा आयुर्वेदिक औषधी लगायतको स्वास्थ्य सेवा सञ्चालन गरेको पाइन्छ । यी लगायत भैरवटोल र तेर्सापट्टीमा धेरै नै आयुर्वेदिक औषधी पसलहरु छन् । बाग्लुङे वैद्य र सुकराम वैद्य सर्वसाधारण पुरानो पिँढीका मान्छेका लागि अत्यन्त उपकारी नाम हो तर यस्तो औषधिको स्रोत जडिबुटीको संरक्षण र प्रशोधनमा यथोचित ध्यान जान सकेको पाइँदैन र यतिबेला योग र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचारको प्रक्रिया अपनाउने प्राकृतिक चिकित्सालयको बढ्दो संख्याले गर्दा स्वास्थ्य क्षेत्रमा आशालाग्दो अवस्थाको सिर्जना भएको पाइन्छ ।
पर्यटन व्यवसाय
निश्चय नै पर्यटकहरुको संख्यामा भएको वृद्धिअनुरुप नै पर्यटन व्यवसायीहरुको संख्यामा वृद्धि हुने गर्दछ । २०२० सालभन्दा पहिला २–३ वटा मात्र होटल भएको यस उपत्यकामा आज त्यो संख्या बढेर करिब ६०० पुगेको छ र पोखरा उपत्यकामा सञ्चालित होटलहरुमा विदेशी नागरिक टम मैण्डीजद्धारा सञ्चालित सन एण्ड स्याण्ड नामक होटल पहिलो होटल हो । यो होटल एयरपोर्टमा स्थापित भएको थियो र त्यसपछि यो क्रममा वसन्त थकालीले एयरपोर्टमा नै अन्नपुर्ण होटलको स्थापना गरेर पाइला लम्काउनुभएपछि अनेकौँ होटलहरुको सञ्चालन हुन पुगेका छन् । आजको अवस्थामा आइपुग्दा पर्यटकहरुलाई एकसाथ स्वागत गर्नसक्ने अवस्थामा ९ हजार बेड तयार छन् । २०३३ सालपछि पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले संगठित रुपमा पर्यटन व्यवसायीलाई सफल र सुदृढरुपमा सञ्चालन गर्ने प्रयत्नस्वरुप होटल एसोसियसन अफ नेपाल  को स्थापना हुन पुग्यो । यसरी नै २०५९ सालमा क्षेत्रिय होटल संघ स्थापना भई ९० को संख्यामा यस संघसँग पर्यटन व्यवसायी आवद्ध भएका छन् । विविध कारणबाट यस संघमा समावेश हुन नसकेका अन्य होटल व्यवसायीहरुले पोखरा होटल संघ  २०५१ सालमा दर्ता गरी १४५ जना भन्दा बढी व्यवसायीहरुलाई आफूमा आवद्ध गरेका छन् । यसैगरी रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल  को पोखरा च्याटर २०५२ सालमा स्थापित भई ६० जना व्यवसायी आवद्ध भइसकेको र १०० जति व्यवसायी आवद्धता जनाउने क्रममा रहेको देखिन्छ । करिब १६० भन्दा बढी संख्यामा रहेको रेस्टुरेन्ट व्यवसायीहरुको यो संस्था रेवानले फेवातालको सरसफाइमा वार्षिक १ लाख रुपैयाँबराबरको खर्च गर्ने व्यवस्था मिलाएको पाइयो ।
नेपाल एसोसियसन अफ ट्राभल्स एजेन्ट  र टे«किङ एजेन्टस् एसोसियसन अफ नेपाल  नामका दुई संस्था क्रमशः २०५१ र २०५२ सालदेखी यस क्षेत्रमा क्रियाशिल छन् । ४२ वटा ट्राभल्स एजेन्सी र ३७ वटा ट्रेकिङ एजेन्सीहरुको क्रियाशिलताका कारण यस क्षेत्रमा उल्लेखनिय प्रगति भएको अनुभूति गर्न सकिन्छ । टे«किङ इक्विपमेन्ट सप एसोसियसन नामको अर्को संस्था सन् १९९८ मा स्थापित भएको पाइयो । टे«किङ सामग्रीको व्यापारमा संलग्न व्यवसायीहरुको संस्थाको स्थापनाकालमा ७२ वटा पसल संलग्न भएको देखिए पनि हाल सो संख्या घटेर ५२ मा सीमित हुन पुगेको छ ।
पर्यटकहरुलाई उपयुक्त सेवा पु¥याउने डुंगा व्यवसायीहरुको बोट क्लब पनि छ जसले २०३५ सालमा डुंगा मालिक र डुंगा चालक दुवै मिलेर डुंगा व्यवसायी समिति स्थापना गरेका छन् । त्यस संस्थामा आवद्ध ३०० वटाभन्दा बढी डुंगा व्यवसायीहरुले पर्यटकहरुलाई सेवा पु¥याइरहेका छन् । साथै यो संस्थाले फेवातालको सरसफाइमा संलग्न सामाजिक सेवामा पनि आफूलाई प्रस्तुत गरेको छ । यीलगायत पर्यटकिय सहरको रुपमा विकास गर्न अन्य आवश्यकिय सेवाका क्षेत्रमा क्रमिक विकास हुँदै गरेको पाइन्छ । विश्व वजारमा देखापरेका व्यापारीक शैलीको अनुसरण धेरै ठाउँहरुमा देखिन्छ । लेकसाइड वरपर मात्र डिपार्टमेन्टल स्टोर्सको संख्या १० पुगिसकेको छ । अन्यत्र ७ वटाभन्दा वढी डिपार्टमेन्टल स्टोर्स खुलेका छन् । साइवर क्याफेहरु पनि त्यही ढंगले बढ्दै गइरहेको पाइन्छ । विदेशी मुद्रा सटहीको व्यवस्थालाई सुलभ बनाउन अहिलेसम्म ३५ वटाभन्दा बढी मनिचेन्जर व्यवसाय सञ्चालनमा रहेका छन् भने व्यवसायीहरुले आफ्नो संघको पनि स्थापना गरेका छन् ।
शिक्षा, स्वास्थ्य र पर्यटनको नारासहित अगाडि बढिरहेको सशक्त संगठन पोखरा उद्योग वाणिज्य संघको चाहना र पहलमा पोउवासंघ, ट्याक्सी व्यवसायी संघ, पश्चिमाञ्चल होटल संघ, नाट्टा,टान, पोखरा होटल संघ, रेवान समेतको सक्रिय सहभागितामा २०५२ सालदेखी पोेखरा पर्यटन परिषद् स्थापित भई यस क्षेत्रको उल्लखनिय प्रगतिका लागी क्रियाशिल रहिरहेको पाइन्छ । यसको महत्वपुर्ण सहयोगमा पर्यटन विकासलाई मध्यनजर गरेर विभिन्न महोत्सवहरु, जाउँ है पोखरा जस्ता विभिन्न अभियानहरु थालनी भएका छन् ।
पर्यटन व्यवसायको स्थितिलाई तालिकाबाट यसरी पनि वुझन सकिन्छ ।
पर्यटन व्यवसाय

[tables caption=”पोखराको व्यावसायिक स्थिति : विगत र वर्तमान” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
किसिम, २०२० सालसम्म, २०५० सालसम्म, २०६० सालसम्म
होटल,     ३,                 ६०,            ४००
रेस्टुरेन्ट,       ७,            १९,           १६०
ट्राभल एजेन्सी,–,३,            ४५
टे«किङ सप÷गार्मेण्ट,–,५,       १००
टे«किङ एजेन्सी,–,   ३,            ४०
डिपार्टमेन्टल स्टोर्स,–,                        १७
साइवर,–,                                , ३०
¥याफ्टिङ एजेन्सी,              –,          १०
मनिचेन्जर,               –,   –,          ३५

[/tables]

 
छापाखाना
यस उपत्यकाभित्र २०१६ सालमा रामबहादुर बडगामीद्धारा स्थापित  बडगामी प्रेस (पछि लक्ष्मी प्रेस नामांकित) नै पहिलो मुद्रण व्यवसाय हो । त्यसपछि नरसिंभक्त तुलाचनद्धारा २०२०/०२१ सालमा तुलाचन प्रेसको स्थापना भई प्रेस जगतमा पाइला हाल्ने उद्यमी व्यवसायीको संख्या र गुणस्तरमा वृद्धि हुदै गएको पाइन्छ । त्यसपछि मात्र व्यावसायिक कारोवारमा प्रयोग हुने विविध सामग्रीको छपाइले स्थान पाएको देखियो । प्रेसको स्थापनापछि नै पत्रकारिताले उचाइ पाउन थालेको हो भन्दा अत्युक्ति नहोला । विशेष गरी सुदीप अफसेट प्रेस र मुनाल अफसेट प्रेस स्थापित भई सञ्चालनमा आएपछि अधिकांश लेटर प्रेसले अफसेट प्रेसको समायोजन गरेर वा छुट्टै अफसेट प्रेस स्थापना गरी यो व्यवसायलाई अगाडि बढाउदै लगेको पाइन्छ । रबर स्ट्याम्पर नाइनल छापहरु बनाउने तथा स्क्रीन प्रिन्ट गर्ने कामहरु पनि अलग्गै व्यवसायको रुपमा वा कतिपय लेटर प्रेसहरुले पनि यस्तो सेवा उपलब्ध गराउने गरेको पाइन्छ । यस उपत्यकामा ६० को संख्याबाट अगाडी बढिरहेको मुद्रण व्यवसायीहरुले विश्व बजारलाई मध्यनजर गर्दै आफ्नो व्यवसायलाई सक्षम बनाउन विकसित नयाँ प्रणालीहरुको समायोजन गर्दै अगाडी बढिरहेको देखिन्छ र यसमा २०४४ मा स्थापित पोखरा मुद्रण व्यवसायी संघले व्यवसायीहरुलाई सरोकार राख्न प्रेरित गरिरहेको पाइयो ।
इन्धन
यातायातको विकास हुनुअघि यस क्षेत्रमा संलग्न व्यवसायी गोपाल तझ्या (पञ्चरत्न) ले गधा, खच्चड वा भरियाबाट बोकाई ल्याएर सुरुमा मट्टितेल र पछि–पछि डिजेल पनि बिक्री वितरण गरेको पाइन्छ । यातायातको विकास हुन थालेपछि नेपाल आयल निगमको स्थापना हुनुभन्दा पहिला इन्डियन आयलको डिलरको रुपमा भू.पू इन्डियन आर्मीहरुको हिमालयन पेट्रोलियम कं.प्रा.लि को स्थापना २०२९ सालमा गरेको पाइन्छ र यस कम्पनीलाई इन्डियन सरकारले अनुदान दिएको चर्चा पनि छ । त्यसपछि २०३० सालमा गण्डकी पेट्रोलियम कम्पनी अमरसिंह चोकमा स्थापना भएपछि २०३० सालमा नै
गोपाल तझ्याद्धारा स्थापित पञ्चरत्न आयल स्टोर्स सञ्चालनमा आएको हो । यसपछि व्यवसायीहरुको संख्यामा तीव्र वृद्धि भई ४१ को संख्या (पेट्रोल ३१ र मट्टितेल १०) पुगेको पाइन्छ । सबै व्यवसायीलाई गोलबन्द गरी पेट्रोलियम पदार्थको आपूर्तिमा सहयोग पु¥याउन गण्डकी पेट्रोलियम डिलर्स एसोसियसन स्थापना २०३९ सालमा भएको पाइयो ।  २०६१ भदौ ५ गतेबाट पेट्रोल पम्प परिसरबाट मट्टितेल बिक्री वितरण गर्ने कार्यलाई श्री ५ को सरकारले छुट्याएको छ । न्यूनतम ५०० मिटरको दुरीमा रहेर मट्टितेल बिक्री गर्न पाइने व्यवस्था गरिएको छ ।

ग्यास
पोखरा एलपी ग्यास बिक्रेता संघ २०५४ सालदेखी क्रियाशिल भई २०५६ सालमा स्थापना हुन पुगेको हो । २०३४ सालदेखी यस उपत्यकाभित्र नेपाल ग्यास आउन थालेको पाइन्छ । त्यसपछि विभिन्न ग्यासहरु उत्पन्न भई विभिन्न व्यवसायीहरुमार्फत ग्यास व्यवसायीहरुले डिपो सञ्चालन गरी सप्लाई गरिरहेको पाइन्छ । हालसम्म ६ वटाभन्दा बढी उत्पादित ग्यास यस उपत्यकाभित्र बिक्री वितरण भइरहेको छ । यस उपत्यकामा सबैभन्दा पहिला देखापरेको ग्यासको रुपमा नेपाल ग्यास अग्रपंक्तिमा पर्दछ ।
इलेक्ट्रिक÷इलेक्ट्रोनिक्स
२०२२÷०२३ सालको सुरुवात मै हार्डवयर व्यवसाय सञ्चालक लक्की स्टोर्सद्धारा नै इलेक्ट्रिक्स सामानको पनि बिक्री वितरण गरेको पाइन्छ । त्यसपछि २०२६÷०२७ पछि रत्न इलेक्ट्रिक रानीपौवा र मर्सानी इलेक्ट्रिक्स महेन्द्रपुलले काठमाडौँबाट सामान ल्याई सो व्यवसाय सञ्चालन गर्ने क्रममा हाल यस उपत्यकाभित्र ४६ भन्दा बढी पसल सञ्चालित छन् । प्रायः पसल प्रतिष्ठानको नियमित सम्पर्कमा रहिरहने इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धि गर्ने काममा पोखरा उद्योग वाणिज्य संघले तालिम तथा प्रशिक्षण दिई गरेको सहयोगका कारण स्तरीय वायरिङ र बजारमा बढ्दै गइरहेको इलेक्ट्रोनिक्स सामानको मर्मत तथा सम्भार कार्यमा उल्लेखनिय सहयोग पुगेको छ । क्षमता अभिवृद्धि गराउन सकियोस भन्ने मनसायले पोउवासंघकै सहयोगमा इलेक्ट्रिसियनहरुको पोखरा इलेक्ट्रिसियन क्लब स्थापना गरी सक्रियतापूर्वक कर्मक्षेत्रमा लागिपरेको पाइन्छ ।
सन् १९८० को दशकमा इलेक्ट्रोनिक्स सामानहरु बिक्री वितरणका लागि भित्रिएको पाइन्छ र सबैभन्दा पहिला यस उपत्यकामा उपहार फेन्सीले इलेक्ट्रोनिक्स सामानहरु ल्याई बिक्री वितरण सुरु गरेको पाइयो । विवाहहरुमा दाइजो उपहारमा इलेक्ट्रोनिक्स सामानको प्रयोग हुन थालेपछि इलेक्ट्रोनिक्स सामानहरुको अलग्गै पसलहरु सञ्चालनमा आउन थालेको पाइन्छ । सन् १९९० को दशकबाट हिमालयन कम्प्यूटरले अर्डर लिएर काठमाडौँबाट सामान मगाउने गरी सुरु गरेको कम्प्यूटर व्यवसायलाई व्यवस्थित गरी सन् १९९३ मा सो–रुम राखेर पसल सञ्चालन गरेको पाइन्छ । त्यसपछि कम्प्यूटरको पसल प्रतिष्ठानको संख्यामा समेत वृद्धि भई हाल यस उपत्यकाभित्र कम्प्यूटरसमेत अन्य इलेक्ट्रोनिक्स पसल संख्या ३२ वटा भन्दा बढी रहेका छन् ।
हार्डवयर
२०२२÷०२३ सालको सुरुमा किल्ला काँटी कब्जालगायतका विविध हार्डवेयर सामग्रीको व्यवसाय सबैभन्दा पहिला भारतबाट सामान ल्याई चैत्यमान शाक्यद्धारा भैरवटोलमा लक्की स्टोर्स सञ्चालन गरेको पाइयो । यसको लगत्तै महेन्द्रपुलमा काजीमान लाभाजुद्धारा सञ्चालित लाभाजू ब्रदर्श पनि पुरानो व्यवसायीमध्येको एक हो । यस क्षेत्रको व्यावसायीक विकास क्रममा किल्ला काँटी कब्जाहरुसहित रंगरोगन ,प्लाइउड र ग्लासको अलग्गै पहिचान बोकेको पसलहरु देखिएका छन् र यस्ता व्यवसायीको संख्या १५ नाघिसकेको छ । यही क्रममा सिमेन्ट, रड, जस्तापाताहरुको छुट्टै पहिचान दिई सञ्चालनमा रहेका पसलको संख्या ८० बाट अगाडी बढिरहेको छ । र, यस्तै मार्बल चिप्ससमेतलाई समेटेर रंगरोगनसहित ट्वाइलेट बाथरुमका सेनेटरी सामग्रीहरुको अलग्गै पहिचान राख्ने पसलको संख्या पनि ५ नाघिसकेको छ ।
यस हार्डवेयर सामग्रीको व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुद्धारा २०५० सालमा पोखरा निर्माण सामग्री व्यवसायी संघको स्थापना गरिएको पाइयो । हाल यस संघमा ८७ जना व्यवसायी आवद्ध भइसकेको पाइन्छ र अझैँ २०–२२ जना व्यवसायी यस संघप्रति आवद्ध हुने क्रममै छन् ।
फर्निचर÷फर्निसिङ÷काष्ठकला
घर बनाउँदा काठको प्रयोग भएबाट, सयौँ वर्षपहिले स्थापित कपडा बुन्ने तान उद्योगहरु र अति पुराना मन्दिरहरुमा प्रयोग भएका कलात्मक ढोका तथा अन्य काठका सामानहरुको प्रयोग र त्यहाँ राखिएका टुँडाल आदि अध्ययन गरेपछि पोखरा उपत्यकामा काष्ठकलाको विकास धेरै पुरानो हो भनी सहजताका साथ भन्न सकिनेछ ।
सबैभन्दा पहिला नाइके गुभाजूले अर्डर लिएर ढोका–झयाललगायतका सामानहरु बनाउने गर्दथे । त्यसपछि २०१८÷०१९ सालमा अमृत शेरचन, प्रेमराज मुल्मी र तीर्थलाल प्रधानको साझेदारीमा तेर्सापट्टीमा पोखरा उड वक्र्सको स्थापना गरेपछि नै काष्ठ व्यवसायको यस क्षेत्रमा फस्टाउने अवसर पाएको हो भन्न सकिन्छ । यसपछि यही पोखरा उड वक्र्ससँगकै सम्पर्क सम्बन्धबाट हेलबहादुर सिप्लकारले यस क्षेत्रमा अनुभव गर्दै गई २०२७÷०२८ सालमा विश्वकर्मा उड वक्र्सको स्थापना गरी अगाडी बढ्नुभएको पाइन्छ । २०३५÷३७ सालमा वाँझापाटनमा स्थापित देउराली फर्निचर र चिप्लेढुङ्गा भानु फर्निचर र २०४० सालमा स्थापित रञ्जित काष्ठ उद्योगले काष्ठ व्यवसायीलाई अगाडी बढाउन योगदान गर्ने फर्निचर व्यवसायीको रुपमा लिन सकिन्छ । हाल यस उपत्यकामा ट्रली भएका ३४÷३५ वटा ठूला व्यवसायी छन् भने ठूला–ठूला बैन्ड सः भएका फर्निचर एवं काष्ठ व्यवसायीहरु १९५ भन्दा बढि छन् र सामान्यरुपमा रहेका साना–ठूला फर्निचर व्यवसायी ४५० भन्दा बढि छन् । विशेषगरी यी व्यवसायहरुमा भारतीय मिस्त्रीका प्रभाव बढी मात्रामा परेको देखिन्छ । नेपाली कामदारको संख्या प्रशस्तै भएकोले पनि यस व्यवसायले राम्रो रोजगारको अवसर सिर्जना गराएको त छँदैछ तर अझै नेपाली कामदारको प्रभुत्व देखिन सकेको छैन । ५–७ वटाको संख्यामा देखिएको काष्ठकलामा त केही कर्मीहरुबाहेक अधिकांंश विदेशी कालीगढकोे प्रमुख रहेको पाइन्छ । यसको अलावा फर्निचर फर्निसिङका सामानहरु उत्पादन भई बजारमा ६–७ वटाभन्दा बढी संख्यामा पसलहरुको बिक्री प्रवद्र्धन गरिरहेका छन् । यस क्षेत्रमा विभिन्न ढंगबाट पोखरा उद्योग वाणिज्य संघले क्षमता अभिवृद्धि गर्ने कार्यमा सघाउ पु¥याइरहेको पाइन्छ ।

अटो पार्टस्/अटोमोबाइल्स
विगत लामो समयदेखी यस उपत्यकाभित्र गाडीहरुमा एम्बेसडोर कार अथवा साना गाडीहरुमा सानो टोयोटा कार र ठूला गाडीहरुतर्फ टाटा गाडीहरुको पाटपूर्जाको बिक्री वितरणबाट अटो पार्टस्को व्यवसाय सुरु भएको पाइन्छ । विगत २२ वर्षअगाडीदेखि यस व्यवसायतर्फ यस उपत्यकाभित्रकै स्थानिय व्यक्तिहरुको अगुवाईमा अशोक मोटर पार्टस, लक्ष्मी मोटर पार्टस, ज्ञानदीप अटोमोबाइल्स, प्रकाश अटोमोबाइल्स, युगज्योती मोटर पार्टस तथा मनकामना मोटर सेन्टरलगायत करिब १२५ भन्दा बढी मोटर पार्टस्का पसलहरु क्रियाशिल रहेको पाइयो र यस क्षेत्रको जेठो संस्थाको रुपमा गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन स्थापना भएपछि अन्य पोखरा अटोमोबाइल्स र गण्डकी अटोमाबाइल्स डिलर एशोसियसनजस्ता संस्थाहरुको समेत स्थापना गरी संगठितरुपमा क्रियाशिल भएको पाइयो । यस उपत्यकामा सबैभन्दा पहिले मारुती गाडीको सो–रुम खुलेपछि व्यावसायिकरुपमा अन्य विभिन्न गाडीहरुको सो–रुमको स्थापना भएका छन् र यही क्रममा मोटरसाइकलका सो–रुमहरु पनि सञ्चालनमा छन् । जुनरुपमा गाडीको सो–रुमहरु बढेका छन्, त्यही क्रममा प्रयोगकर्ताको संख्या र अटो पार्टस्/अटोमोबाइल्स व्यवसायमा उल्लेखनिय ढंगले वृद्धि हुँदै गइरहेको पाइन्छ ।
हालको अवस्थामा यो व्यवसायसँग सम्बद्ध विभिन्न व्यवसायीहरुले यससँग सम्बन्धित सबै व्यवसायलाई एकै थलोमा ल्याई अटो भिलेज स्थापना गर्न सकेमा यसको भविष्य पनि सुनौलो हुने र वातावरणीय प्रदुषणमा समेत न्यूनिकरण हुने विश्लेषण गर्न थालिएको छ । पोखरा उद्योग वाणिज्य संघले पनि यो आवाजलाई उपयुक्त ठानी अटो भिलेजको आवश्यकताबारे सम्बन्धित निकायको ध्यान आकृष्ट गराउन विशेष पहल गरिरहेको देखियो ।
वर्ग र जातिका आधारमा व्यवसाय
पोखरा उपत्यकाभित्र मानव बसोबास अन्यत्रको तुलनामा पछि मात्रा भएको हँुदा पोखरामा आर्य, मंगोल र अन्य जातिका बासिन्दाहरुको मिश्रित समाज पाउन सकिन्छ । वि.सं. २०२०–२२ सालभन्दा अगाडिदेखी नै सुरु भएको वसाई सर्ने प्रवृत्ति २०३०–३२ सालदेखी झनै प्रचुर मात्रामा बढिरहेको छ । गाउँबाट सहरतिर बसाइँ सर्नुको मुख्य कारणमा विदेशी सेनामा काम गरी फर्केका गाउँका मानिसहरुलाई गाउँमा बस्ने रहनसहन नमिल्नु र आफूले कमाई ल्याएको रकमको उचित किसिमले सदुपयोग गर्न नसकिनु पनि एक हो । अर्काे प्रमुख कारणमा, पोखराको बढ्दो सहरी रुप र प्रचुर मात्रामा यहाँ उपलब्ध व्यावसायीक सम्भाव्यता र सुविधाहरु हुन् ।
बसाइ सरी आउनेमा विशेष गरी कास्की, बागलुङ, पर्वत, म्याग्दी, लमजुङ, जिल्लाका गुरुङ र मगरहरु, मुस्ताङका थकाली र भोटेहरु, कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङ भक्तपुरका ब्राह्मण, क्षेत्री र नेवारहरु मुख्य छन् । यही क्रममा विश्वकर्मा, दमाई, सार्की, तराईका मधेशी आदि अन्य जातिका वासिन्दाहरुको बसाइँ सराइ क्रम पनि बढ्दै गइरहेको छ ।
मूलतः पोखराको व्यावसायीक क्षेत्रमा नेवार जातिको प्रमुख भूमिका छ । पुरानो बासिन्दा, परम्परागत व्यवसाय आदि कारणले पनि नेवारहरुको उल्लेखनिय संख्या हुनु स्वाभाविकै हो । होटल, रेस्टुरेन्ट, निर्माण ,खुद्रा पसल वा अन्य व्यवसाय तर्फ आकर्षित जातिमा ब्राह्मण क्षेत्री देखिएका छन् ।
अर्को महत्वपुर्ण कुरा गुरुङ र मगरहरु व्यवसायतिर आकर्षित हुनु हो । यो जाति प्रायशः उच्च पहाडी भेक (लेक) तिर बसोबास गर्ने जाति हुन् । धेरै पहिलादेखी सेनामा काम गर्नु, विदेशतिर जागिर खानु, अन्य समयमा कृषिमा संलग्न हुनु थियो । विस्तारै बसाइ सर्दै पोखरातिर आई व्यवसायमा लगानी गर्ने यी दुवै जातिहरु पर्यटन व्यवसाय र फेन्सी ,इलेक्ट्रोनिक्स व्यवसाय तर्फ बढी भएको पाउँछौ ।
यसरी पोखराको व्यावसायीक गतिलाई अघि बढाउन ब्राह्मण, क्षेत्री, गुरुङ, मगरले ठूलो भूमिका खेलेका छन् । जहाँसम्म थकाली र भोटेहरु छन्, यी जातिहरु स्वभावैले हिमाली क्षेत्रका व्यापारीहरु हुन् । थकालीहरु कालीगण्डकीको बाटोबाटो नून व्यापार गर्ने एउटै मात्र जाति हो । भोटेहरु हिमालय वारीपारी तिब्बतसँग व्यापार गर्ने मुख्य जाति हो र उनीहरुले भोटबाट आउने नूनको माध्यमबाट व्यापार गर्दथे । तराईसँग सम्बन्ध कायम भएपछि विस्तारै भोटबाट नून आउन बन्द हुन पुगेकाले थकाली र भोटेको व्यापारमा परिवर्तन आउन थाल्यो र उनीहरु होटल, पर्यटन व्यवसाय, कपडा वा किरानामा बढी मात्रामा संलग्न भएको पाइन्छ र यो जाति नयाँ व्यवसायको खोजीमा हिड्न सक्ने एउटा उद्यमी जातिको रुपमा देखिएको छ ।
किराना, कपडा र पर्यटनलगायत कतिपय क्षेत्रमा विदेशीहरु पनि प्रत्यक्ष स्वयं व्यापारमा संलग्न भएको पाइएको छ ।
व्यवसायको संगठनात्मक रुप
यहाँका बासिन्दाहरु प्रायः जसो संयुक्त परिवारमा रहने हुँदा एउटा व्यवसायमा कतिजना संलग्न हुन्छन् भन्ने कुरासमेत थाहा पाउन गाह्रो हुन्छ तर पनि विशेषरुपमा एकलौटी, साझेदारी वा कम्पनीको रुपमा व्यवसायहरु सञ्चालनमा भइरहेको पाइन्छ । एकलौटी व्यवसायको तुलनामा अन्य किसिमको व्यवसायहरु ज्यादै कम छन् । विशेषतः एकलौटी व्यवसायमा मात्र धेरै व्यवसायीको ध्यान सिमित हुनुमा उल्लेखित कारणहरु पाउन सकिन्छ ।
१.    प्रायशः परिवारहरुमा परम्परागत व्यवसाय भएकोले एकपछि अर्कोले त्यो व्यवसाय नियन्त्रण गर्ने
हुनाले बढीभन्दा बढी एकलौटी व्यवसायमा आधारित छन् ।
२.    एकलौटी व्यवसायअन्र्तगत जोखिम, स्वामित्व नियन्त्रण र पुँजी लगानी आफैँ एक्लैद्धारा गरिने भएकाले र स्थापन विघटनमा पनि सजिलो हुने भएकोेले यहीरुपमा व्यवसाय सञ्चालन गर्न
सहजता महसुस गरेको पाइन्छ ।
३.    आवश्यक ज्ञान र प्रविधिको कमी, एक–अर्कामा विश्वासको कमीजस्ता कारणले गर्दा पनि एकलौटी व्यवसायमै सीमित रहन प्रेरित गरेको पाइन्छ ।
उपरोक्त कारणहरुका बाबजुद पनि साझेदारी र कम्पनी व्यवसायहरुको संख्यामा वृद्धि हुँदै
गइरहेको छ र यस्तो प्रकृतिको व्यावसायीक संख्यामा अझ अरु वृद्धि हुने सम्भावना प्रबल रहेको पाइन्छ

यहाँ एकलौटी, साझेदारी वा कम्पनीको रुपमा सञ्चालित भएको सम्पूर्ण व्यावसायिक
प्रतिष्ठानहरुको एकमुष्ट ढंगबाट आँकडा संकलन गरिएअनुसार निम्नलिखित तालिकामा दिइएको छ –
व्यावसायिक प्रतिष्ठानको बनौट र वृद्धि

[tables caption=”पोखराको व्यावसायिक स्थिति : विगत र वर्तमान” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
किसिम, २०१० सम्म, २०११–२० सम्म, २०२१–३० सम्म, २०३१–४० सम्म, २०४१–५० सम्म, २०५१–६० सम्म
खाद्य÷किराना–बिसाता, ११,३९,१०५, ७२५, ७५००, १२०००
कपडा, २४, ३१, ५८, ७८, १७५, २२७
रेडिमेट÷फेन्सी÷कस्मेटिक, ५,१६, ४६, ७४, –, –
धातु÷सिल्प÷हस्तकला÷गरगहना, १८, ३५, ५५, १२७, २२९, ५१०
स्वास्थ्य उपचार, १०, १९, ४२, १०९, १४७, २६८
इन्धन, –, १, २, ६, १४, ४१
इलेक्ट्रोनिक्स, –, –, –, १, ९, ३२
इलेक्ट्रिक्स,–, –, ३, १७, २४, ४६
फर्निचर÷फर्निसिङ÷काष्ठ व्यवसाय, –, २, १४, ७२, ४२५, ६८५
हार्डवयर, –, –, २, १९, ७१, १०७
अटो पार्टस, –, –, –, ४, १६, १२५

[/tables]

वजारको स्थिति
प्रारम्भदेखि हालसम्म पनि बजारको स्वरुप भनेको सडकका दायाँ–बायाँ रहेका घरहरुबाट नै निर्धारण हुने गरेको अवस्था छ । विश्व बजारमा विशालबजारको धारणा देखा परेपछि पोखरा उपत्यका भित्र पनि पहिलोपटक २०४१ सालमा बुद्ध विशालबजारको स्थापना भएको हो । त्यसपछि लगभग सातवटा सुपरमार्केट स्थापना भई केही सञ्चालनमा रहेका छन् भने केही सञ्चालनको     क्रमतर्फ उन्मुख भएको पाइन्छ । निश्चित सामानको लागि प्रसिद्ध भएको सामान विशेष बजारको पहिचान बोकेर बजार विकास हुने क्रममा पनि अगाडी बढ्दै जाने संकेत देखिदैँ गइरहेको छ ।
विविध सामाजिक क्षेत्रमा व्यापारीहरु
    व्यापारिक समुदायहरुले सुरुदेखि नै राजनिति, समाजसेवाको क्षेत्रमा सक्रिय संलग्नता जनाएको पाइयो ।
    विकास निर्माण र शिक्षाक्षेत्रसँग सम्बन्धित हरेक क्षेत्रहरुमा अभिरुचिपूर्वक संलग्न रही विशेष योगदान पुरयाएको पाइयो ।
    भाषा र संस्कृतिको संरक्षणमा समेत व्यापारीहरुको सक्रिय संलग्नता रहेको पाइयो ।
    समाजमा स्थापित मूल्य, मान्यता र अनुभवको कदर गर्दै आफ्ना र आफ्ना पुर्खाहरुको अनुभवलाई समायोजन गरेर आफ्नो कार्यक्षेत्र तय गर्दै समाजमा आफ्नो हैसियत कायम गर्न सक्षम रहेको पाइयो ।
    हरेक नयाँ कुरालाई चिनारी गराउँदै बजार प्रवेश गराउन र प्रविधिको विकासबारे जानकारी गराउँदै नागरिकहरुलाई उत्पादन र उपभोगको क्षेत्रमा ध्यानाकर्षण गराउन सक्षम रहेको पाइयो
    उत्पन्न हुनसक्ने र उत्पन्न भएका सामाजिक विकृतिलाइ नियन्त्रण गर्न र अन्य समाजोपयोगी काम गर्न सचेत नागरिकको भूमिकामा नागरिक समाजका अन्य सदस्यहरुसँग मिलेर उद्यमी–व्यवसायीहरुले सामुदायिक सेवा केन्द्रको स्थापना गरी प्रहरी परिवारसमेतको सहकार्यमा विविध सामाजिक क्रियाकलापहरु सञ्चालन गरेको पाइयो ।
    समाजको विकासमा सचेत नागरिकको जुन भूमिका हुन्छ, त्यसमा व्यापारीहरु पछि परेको देखिएन ।
उपसंहार
यस उपत्यकाभित्र विकसित भएको व्यावसायिक स्थितिले व्यवसाय गर्न अभिरुचिलाई बढाएको, व्यवसायको क्षेत्र पनि अत्यन्त फराकिलो बन्दै गएको, नयाँ व्यवसायको खोजी गर्ने उद्यमशीलको विकास भएको र हरेक व्यवसाय पेसागतरुपमा विकसित हुँदै गरेको अवस्था हाम्रासामु उजागर भएको छ । यद्यपि फुटपाथमा रही व्यापार गर्ने क्रम तीव्ररुपमा बढिरहेको हुँदा सडक र फुटपाथ व्यवस्थापनमा पोउवासंघको ध्यान आकृष्ट भएको देखिए पनि यथोचित वातावरण नमिलेकोले फुटपाथ समस्या घट्न सकेको छैन र व्यस्त बजारको फुटपाथमा हुने मानव आवागमनमा कठिनाइ भइरहेको छ । यो समस्या पनि समाधान होला भन्ने आशा गरौँ । यस्तो ढंगबाट व्यावसायिक कारोबार अघि बढिरहेको भए पनि यस उपत्यकामा वाणिज्य विभागले व्यावसायिक फर्म दर्ता गर्न कार्यालयको स्थापना नगरेको हुँदा नयाँ व्यवसायीहरुलाई फर्म दर्ता नै काठमाडौँ वा भैरहवा जानुपर्ने बाध्यात्मक स्थिति छ । यस सम्बन्धमा शाखा कार्यालयको व्यवस्था होस भनेर पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने काम धेरैपटक गरिसकेको भए तापनि स्थिति यथावत् छ । वर्तमान स्थिति र उज्यालो भविष्यलाई ध्यानमा राखेर केन्द्रिय निकाय वा स्थानिय निकायद्धारा बनाइने योजना, गुरुयोजनाहरुले व्यवसायीहरुको भावनालाई समेट्ने काम गर्ला भनेर आशा गर्न भने सकिन्छ । जुन गतिका साथ व्यावसायिक कारोबार अगाडी बढिरहेको देखिन्छ । यो अत्यन्त भरोसाजनक अवस्था हो र शान्ति–सुरक्षाको स्थिति कायम भएमा र स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अवस्थाको सिर्जना हुन सकेमा पोखरा उपत्यकाको व्यापारिक स्थिति अत्यन्त आकर्षक र उज्जल भविष्यतर्फ सृदृढ हुँदै जानेछ भन्ने कुरामा ढुक्क रहन सकिन्छ । खाली यसका लागि व्यवसायीहरुका बीचमा एकता र सद्भावको आवश्यकता भने रहिरहनुपर्नेछ ।

सन्दर्भ स्रोत
१.विभिन्न वस्तुगत संघहरु
२.पोउवासंघको रजत जयन्ती स्मारिका –२०३६
३.अनुभवी पुराना व्यावसायिक व्यक्तित्वहरुसँगको कुराकानी

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *