role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखराको लोकसंस्कृति : हिजो र आज

पोखराको लोकसंस्कृति : हिजो र आज
— हरि श्रेष्ठ

लोकसंस्कृति लोक जीवनको धड्कन हो । यीनमा अन्तर्निहीत जनमानसका हाँसो र उल्लासहरु, घाम–छाँयाहरु, उत्साह र उमङ्गहरु साहै्र रमाइला र अर्थपूर्ण हुन्छन् । लोकोक्ति, लोकविश्वास र अनेकौँ घटना–परिघटनाहरु समेटिएका हून्छन् यीनले ग्रामीण स्पन्दन भएर हुर्किएको हुन्छ लोकसंस्कृति । समाजको मनोवेग, संवेग, मनोविज्ञान र संवेदनशिलता भरपूर पाइन्छ लोकसंस्कृतिका विविध झाँकीहरुमा । त्यसैले त भनिन्छ– लोकसंस्कृति समाजको प्रतिविम्ब हो । लोकसंस्कृति समाज र राष्ट्रको आफ्नै विशिष्ट पहिचान पनि हो । विविधतायुक्त हाम्रो समाजमा हरेक जाति–जनजातिहरुले हुर्काएको आस्था र विश्वासहरुको सँगालो हो नेपाली लोकसंस्कृति । यो सबै जाति–जनजातिहरुको समान साझेदारीको प्रतिफल हो ।
लोकसंस्कृतिका दृष्टिले धनी मानिन्छ पोखरा । मनमोहक प्रकृतिले मात्र हैन सुन्दर संस्कृतिले पनि सुशोभित तुल्याएको छ पोखरालाई । माछापुच्छे« र अन्नपूर्ण जस्ता मनोरम हिमश्रृङ्खलाहरु काखमा राखेको छ पोखराले । असंख्य ताल–तलैयाहरु छचल्किएका छन् यसका छातीभरी । चारैतिर पोखरी नै पोखरी बोकेको यस उपत्यकालाई कसैले उपयुक्त नाम जुराइदिन्छ “पोखरा” भनेर । सुन्दर प्रकृति–सुन्दर संस्कृति, त्यसैले सार्थक छ पोखराका निम्ति यो भनाइ । गण्डकी र धौलागिरिका मात्र हैन परतिर कर्णालीका लोकसंस्कृतिहरु पनि थेग्रिएका छन् पोखराको सांस्कृतिक दोभानमा आएर । त्यति मात्र हैन, वागमती उपत्यकाको लोकसंस्कृति पनि रैथाने भएर उभिएको छ । पोखराको सांस्कृतिक डबलीमा । अनि त पोखरा त्रिवेणी भएर बग्न पाइरहेछ विविध संस्कृतिका छालहरुसँगै । अनि त यसलाई भन्ने गरिन्छ— लोकसंस्कृतिको जीवित सङ्ग्रहालय ।
वर्तमानको उपज हैन पोखराको लोकसंस्कृति । इतिहासका अनेक कालखण्डहरुमा जन्मेर हुर्किएका जनमानसका ढुकढुकीहरु हुन् यहाँको लोकसंस्कृति । आफ्नै सांस्कृतिक परिवेश र पृष्ठभूमि छ यसको । अरुभन्दा पृथक् नौलो अनौठो छ यसको सांस्कृतिक मानचित्र । यसको भौगर्भिक संरचना पनि अपूर्व छ , अनौठो छ । लोकोक्ति भन्छ— माछापुच्छे भीमसेनले ठेलो फ्याक्दा भीमबांध भत्केपछि देखा परयो रे पोखरा । लोकोक्ति पनि लोकसंस्कृतिकै अङ्ग हुन् । कहिलेकाहीँ यिनले गहिरो अर्थ पनि बोकेका हुन्छन् । साँच्चै नै माछापुच्छे« र अन्नपूर्णसँग साइनो गाँसिएको रहेछ पोखराको । त्यहाँको हिमताल विस्फोट हुँदा बगेर आएका रहेछन् पोखरामा थुप्रिएका भीमढुङ्गाहरु । सुन्दा आश्चर्य लाग्छ , हिमताल फुट्ने र पोखरामा थुप्रिने उपक्रम आजभन्दा ७०० वर्ष अघिसम्म पनि भइरहेको रहेछ ।
समयक्रममा आँखाको नानी बन्न थाल्छ पोखरा । युद्ध आक्रमणमा रमाउने मध्यकालीन मानसिकताको प्रमाणस्वरुप ठिङ्ग उभिएका हुन्छन् पोखरा वरिपरि सराङकोट, कास्कीकोट, काहुकोट र अरु अनेकौँ कोट वा गढहरु । कोट वरिपरिका बस्तीहरुले व्यहोरेका हुन्छन् अनेकौँ घात–प्रतिघातहरु । ती घटना–परिघटनाभित्रका कथा–व्यथाहरु पनि लोकसंस्कृतिकै स्पन्दन भएर धड्किरहेका छन् पोखराको सेरोफेरोमा । कोट बस्ती मानिसहरु जमर्को गर्छन् पहिले झर्न । औलोको झ्याङ पन्छाउँछन् हँसिया, खुर्पा, हलो र कोदालाहरुले अनि फल्न थाल्छ बाटुलेचौरमा धान, मकै र कोदाहरु । मध्यकालीन गढ बस्तीको अवशेष अझै सुरक्षित छ बाटुलेचौरमा । यसरी बाटुलेचौर नै त हो पोखरामा मानव बस्तीको प्रस्थान विन्दु । बाटुलेचौर त अपभ्रंश हो । बालीचौर भनेर अझै गाउँदैछन् लोकसंस्कृतिका पारखी पोखराका गन्धर्वहरु । यिनै गन्धर्वहरु हुन् पोखरामा लोकसंस्कृतिका प्रथम रङ्गकर्मीहरु । वीरगाथा, कर्खा, मालमङ्गल र मालश्रीको सांगीतिक लोकसंस्कृति यिनै गन्धर्वहरुले भित्र्याए पोखरामा । सारङ्गीको मीठो धून र गन्धर्वको सुरिलो कण्ठमा नेपाली झ्याउरे गीत संसार प्रसिद्ध भयो पोखराबाटै । पोखराकै सेरोफेरोमा राजासँगै सती जाने “सरुमा रानी” को इतिहासलाई पनि सुरक्षित राखे गन्धर्वहरुले आफ्नो कण्ठमा ।
बालीचौरको कोट मौलामा गन्धर्वहरुले रन्काउन थाल्छन् मालश्री र मालमङ्गल । सारङ्गी र अर्वाजोका सुरिला धूनहरु । पोखराका चौरास्ता र चौतारीहरुमा झ्याउरे गाएर लठ्ठ पार्छन् तिनले लाहुरेहरुलाई । रोमाञ्चकारी घटना–परिघटनाका कर्खा सुनाउँदै पोखरालाई देश–देशान्तर पु¥याउँछन् बालीचौरका गन्धर्वहरुले । यसरी सिंगार्छन् गन्धर्वहरुले पोखराको लोकसंस्कृतिलाई । समयक्रममा हरेलो र नागपूजाहरु, माघे संक्रान्ति र जन्माष्टमीहरु, तीज र एकादशीहरु उम्रन्छन् पोखरामा । बालन नृत्य र रत्यौलीहरु, देउसी र भैलीहरु उन्मुक्त भएर उफ्रन थाल्छन् पोखराका घर आँगनमा । ढुङ्गे साँघुको माघे संक्रान्तिमा लोकनृत्य र दोहोरीको मजा चाख्न ओइरिन्छन् चार चौरासका मानिसहरु । चौध हजारसम्म मानिसहरुको गन्ती भयो कुनै बेला ढुङ्गे साँघुमा । रात–रातभर नाचेर, गाएर नथाक्ने युवा–युवतीहरुको भीड हुन्थे ढुङ्गे साँघुमा । ढुङ्गे साँघु पोखरेली लोकसंस्कृतिको प्रदर्शनी स्थल हो । यसको गुन बिर्सन हुँदैन हामीले । सुनपनेली थाहा छ ? त्यहाँको ठेलो हान्ने मेलाको मजा नै बेग्लै । गाउँगाउँबाट मानिसहरु त्यहाँ झर्छन् गाउँका बलिष्ठ पाखुराहरु अघि लाएर । ठेलोको प्रतिस्पर्धा हेर्न मानिसहरु उत्तिकै ओइरिन्छन् सुनपनेलीमा । ठेलो जितेर राजा हुने यस भेकको परम्पराको द्योतक पनि हो सुनपनेलीको मेला । गाउँले युवाहरुले आफ्नो शक्ति र सामथ्र्य देखाउने थलो हो सुनपनेली । जिताहालाई फेटा गुताएर गाउँ घुमाउँथे त्यसवेला ।
समयको अर्को कालखण्डमा पोखरामा भित्रिन्छन् लोकसंस्कृतिका नितान्त नौला बान्कीहरु । थपिन्छन् पोखरामा सुन्दर कारिगारिका भैरव नाचहरु, गठेमङ्गल, गाईजात्रा र बाघजात्राहरु । ताहामचा र लाखेनाचहरु, चङ्गा उडाउने र रोटी सुकाउने उत्सवहरु ऋनि गुठी र भजन मण्डलीका पूजा कर्म र पर्वहरु । बजारलाई चम्काउँछन् यी जात्राहरुले । यी रमाइला रमझमहरुमा झुल्न आइपुग्छन् डाँडा पाखाहरु प्नि । हप्तौँ र महिनौँको भैरवजात्रा, बाघजात्रा र लाखेनाचहरु हेरेर अघाउँदैनन् मानिसहरु । टोलटोलको प्रतिस्पर्धामा लाखेनाच र बाघजात्राहरु अत्यन्तै रोमाञ्चक बन्न पुग्छन् । कौतुहलता थपिदिन्छन् तिनले मानिसहरुमा । यदाकदा ती जात्राहरु उन्माद र उत्तेजनाका क्रिडास्थल पनि बन्न पुग्छन् । सयौँ पेट्रोमैक्सहरु चकनाचूर हुन्छन् झगडामा, अनि अँध्यारो बाक्लिन्छ केही समयको लागि । भत्के बिगे्रका मनहरु फेरि जोडिदिन्छन् तिनै जात्रा र पर्वहरुले । आउँदैन गतिरोध लोकसंस्कृतिको प्रवाहमा । त्यसैले त अटूट र अविरल छ मानव समाजमा ।
अनि हिमाल पाखा पखेरुका छाँगा छहराहरु पनि हाम्फाल्दै आइपुग्छन् पोखराको दोभानमा । तिनको प्रवाहमा बग्दै आउँछन् अनेक थरी फूलका थुँगाहरु । हिमाली लोकसंस्कृतिका तोरन्ल, फालो तारा र ढिकुरीहरु भित्रिन्छन् पोखरामा । डाँडा पाखाबाट रोदी, घाँटु र सोरठीहरु ओर्लन्छन् मीठा स्वादहरु पस्कँदै । टोटे, ल्होसार र ङि चोलोहरु पनि हस्याङ्ग फस्याङ्ग गर्दै आइपुग्छन् पोखरामा । गाउँभन्दा शहर रमाइलो मान्दैछन् पाखा पखेरुका यी लोकसंस्कृतिहरुले । यसरी थरीथरीका फूलहरु फुलेका छन् पोखरामा । लोकसंस्कृतिको त्रिवेणी बनेको छ यसरी पोखरा । स्वादस्वादका परिकारहरु पस्कँदै, परिवर्तनको प्रवाहमा हेलिँदै निरन्तर बगिरहेछ पोखराको लोकसंस्कृति ।
हो, रोक्न सकिदैन परिवर्तनको प्रवाहलाई । मानिसको विवेकभन्दा फरक ढङ्गले पनि अघि बढ्छ कहिलेकाहीँ यो । पोखरामा कताकता यस्तै भइरहेको अनुभुति हुन्छ । ठम्याउन पनि गाह्रो हुँदैछ पोखरालाई हिजो आज । बालीचौरबाट तन्किएर विन्दुवासिनीसम्म आइपुगेको पोखरा भीमसेनटोलबाट कता फड्को मारयो कता । जनसंख्याको तीब्र विस्तारमा यसलाई उछिन्न सकेनन् अरुले । आधुनिक घर बङ्गलाहरु झरीका च्याउझैँ उम्रिए यहाँ । पर्यटकलाई लोभ्याउन बैदामको ग्रामीण परिवेश नै कता बढारियो कता एक निमेषमा । रातामाट घुमाउने घरहरु पनि त आकर्षणका विषय हुन्थे विदेशी पर्यटकका निमित । केन्द्रवर्ती बजार — भैरवटोल, भीमसेनटोल र रामकृष्ण टोलमा थोरै बाँचेको छ पुरानो पोखरा । त्यहाँ मात्र अझै बाँकी छन् रातो ईटाका कलात्मक झ्याल ढोकाका बेग्लैखाले एकाध घरहरु । कमसेकम झुल्कँदैछ । त्यहाँबाट आजसम्म भैरवनाच र बाघजात्राहरु पनि । तर यो कहिलेसम्म हो, थाहा छैन । यो संस्कृतिको जिम्मा कसलाई लगाउने हो, मानिस नपाएर आज हैरान भइरहेछन् बुढापाकाहरु । यी नाच र जात्राहरुको रौनकता पनि पहिले जस्तो कहाँ छ र अहिले । झर्दैनन् त्यति धेरै मानिसहरु गाउँपाखाबाट हिजोआज । बेचविखन र किनमेलसँगै जात्राको स्वाद चाख्न भनेर ओइरिन्थे मानिसहरु पहिले पहिले । गौँडा गौँडा र पाखा पाखामा उम्रिएका बजारले हिजोआज झर्न दिँदैन झर्न पर्दैन पोखरामा मानिसहरु त्यति धेरै । आधुनिकताको अँगालोमा बाँधिएका युवापिंढी सरोकारबिहीन बन्दैछ परम्पराप्रति, लोकसंस्कृति । संस्कृतिको सार्थकता तिनको चिन्तनको विषय नै बनेन । कोकाकोला र चाउचाउ, पप र डिस्कोथेक, पुल र स्नूकरको नशाले लठ्ठ्याउँदैछ पोखरेली नयाँ पिंढीलाई । यही संक्रमणको दोसाँधमा परेर आज विलुप्त भएको छ पोखरामा लाखेनाच । गठेमङ्गलको परम्परा पछ्याउन पनि लाज मान्न थालेका छन् युवा र केटाकेटीहरु । ठूलो एकादशीको रोटी सुकाउने उत्सव पनि अब केवल बाँकी रहे सम्झनाका तरेलीहरुमा । चङ्गा उडाउनुको मजा नि अब रहेन पोखरामा ।
सुनपनेलीमा भेला भएर ठेलो हान्न लाज मान्छ हिजोआज पोखरा । ठेलो जितेर फेटा गुथ्न रौसिने हिजोका लक्का जवानहरुलाई पछ्याउन सकेनन् आजका पिंढीले । हङकङ, जापान, कोरिया र बु्रनाईको मोहनी लागेर विछट्टै भएको छ आजका युवापिंढी । युवाबिहीन बन्दैछ हाम्रा गाउँहरु । सुनपनेलीमा के ती दिन फेरि फर्केर आउला ? रोपार्इँको बेला “वेठीनाच” मा बज्ने सहनाई र ढोलहरु पनि धेरै भयो बज्न छोडेको । तिनलाई कता मिल्काईदियो यो शहरी सभ्यताले कसैलाई थाहा छैन । बिहेमा “पञ्चेबाजा” कसले खोज्छ र आजभोलि । बैण्डबाजाले खाइदियो पञ्चेबाजालाई । परम्पराको निर्वाह त गरिरहेछ ढुङ्गे साँघुको मेलाले । तर त्यसको रौनकता पनि कहाँ छ र पहिलेको जस्तो । लोकजीवनका झाँकीहरु, लोकनृत्य, चुड्का र रोईलाहरु अनि रमाइला दोहोरीहरु कहाँ सुन्न र देख्न पाइन्छ त्यहाँ हिजोआज । तीजले पनि गुमाइसकेको छ आफ्नो मौलिकता । तीजका बेला पोखराको ग्रामीण संस्कृति स्वतःस्फूर्त उर्लेर आउँथ्यो पोखराका चौतारी र चौताराहरुमा । साँच्चैको उन्मुक्ति देखिन्थ्यो त्यसबेला । आजभोलि बाजाहरु उत्पादनको ब्यानमुनि तिनैद्धारा प्रायोजित पुरस्कार थाप्ने होडमा रुमल्लिन थालेको छ तीजको रमझम । पोखरामा तीजको असली सुवास कता हरायो कता । द्यौसी र भैलीको मन छुने भाकाहरु पप र डिस्कोका कर्कशा आवाजभित्र बिलाउनै लागिसके भन्दा पनि फरक पर्दैन । मादल र मुर्चुङ्गा, सारङ्गी र मुरलीमा चौबन्दी चोलीहरु द्यौसी र भैली खेल्न नआएको पनि धेरै भयो पोखराको घर आँगनमा । टपरीमा चामल र सेल रोटी अनि ढ्याके पैसा दिएर बिदा गर्थे भैलीहरुलाई त्यो बेला । द्यौसी र भैलीको नाममा पप र डिस्को अनि पैसाको नमिठो मोलतोल पचाउन पर्दैछ मुटु मिचेर हामीले आज । हाम्रो यो सरल लोकसंस्कृतिप्रति न्याय भइरहेछ कि अन्याय, सोच्ने फुर्सत आज कसैलाई छैन ।
रोदी, घांटु र सोरठीको लोकसंस्कृति पनि त पोखरामा ओर्लेका हुन् नि । युवा–युवतीको प्रेम, मनोरञ्जन र सामुदायिक भावनाबोधको “रोदी–संस्कृति” टिक्न सकेन शायद शहरमा । पोखराकै सेरोफेरोमा हुर्किएको घांटु पनि कम घतलाग्दो छैन । अङ्ग विन्यासद्धारा अभिनय गरिने एतिहासिक भावनृत्य हो घांटु । राग तालको नशामा लठ्ठिएर कन्या कुमारीहरुले नाच्ने घांटु यस भेककै एक विशिष्ट लोकसंस्कृति पनि हो । डाँफे कलामन्दिरको प्रस्तुतिमा कताकतै झझल्को पाइन्थ्यो रोदी, घांटु र सोरठीको । त्यो पनि कता विलुप्त भयो, चालचुल छैन । लोकजीवनबाट बिलाएका लोकसंस्कृतिहरु कतै होटेल र रेष्टुराँका परिकार त भएनन् ? नदीपुरमा उम्रिएको “बालन नृत्य” देख्न छोडेको धेरै भयो । बालीचौरका गन्धर्वहरुको कण्ठबाट “झ्याउरे” र “कर्खा” मालश्री र मालमङ्गल सुन्न नपाएको पनि धेरै भयो । जिउनुको संघर्षमा गन्धर्वहरुले कति दिन बचाई राख्न सक्लान् झ्याउरे र कर्खालाई । आश्चर्य मान्नु पर्दैन, कुनै दिन सारङ्गीमा गन्धर्वहरुले पनि पप गीत गाउन थालेको देखेर ।
हो, स्थिर हुँदैन संस्कृतिको पहिचान । सबै संस्कृति सधैं बाँचिरहँदैनन् पनि । समय र परिवेशले निश्चय नै प्रभाव पार्दछ लोकसंस्कृतिलाई । समय अनुकुल रुपान्तरण त आवश्यक हुन्छ संस्कृतिको निरन्तरताका लागि । आफ्नै परिवेशसँग गाँसिएको परिवर्तन राम्रो र दिगो हुन्छ । लोकसंस्कृतिका पौरखी सन्देशहरु चिन्न सक्नुपर्दछ हामीले । गोडमेल गर्दै झारपातहरु पनि पन्छाउँदै गर्नुपर्छ वेलावेलामा । भूमण्डलीकरणको जमानामा बाह्य प्रभाव अवश्यंभावी छ, त्यसलाई रोक्न सजिलो छैन । विद्युतीय सञ्चार माध्यमले पनि तिरिमिरी पार्दैछ आज हाम्रो मन मस्तिष्कलाई । अस्वाभाविक लाग्दैछ, पोखरामा पाश्चात्य संस्कृतिको बढ्दो धाक, रवाफ र मान मनितो । यो सांस्कृतिक दासता पनि कम खतरनाक छैन हाम्रा निम्ति । बाह्य अतिक्रमणप्रति सजग नभए केही बाँकी रहने छैन भोलि । तर यसलाई रोक्ने कसरी ? पाश्चात्य जीवनशैलीमा रङ्गिएर लोकसंस्कृतिको चिन्ता गर्न हामीलाई सुहाउँछ कति ? यो सवाल पनि कम गम्भीर भएर उभिएको छैन आज हाम्रा अगाडि । मुलुकभित्रै पनि काखा र पाखाको पीडा सहनु परयो भने त झन् हाम्रो लोकसंस्कृतिको गति के होला ? विविधताको हाम्रो समाजमा प्रत्येकलाई आफ्नो लोकसंस्कृति उत्तिकै प्यारो हुन्छ । सयौँ फूलहरु फुले भने मात्रै बगैँचाको शोभा बढ्छ । सबैले बराबरी पाउनुपर्दछ मलजल पनि । सबैले उत्तिकै आदर र सम्मान पाएनन् भने मन नराम्ररी भाँचिन सक्छ । चिन्तनको दरिद्रता र अहङ्कारको बादल बाक्लिदै गयो भने हाम्रो लोकसंस्कृति बिलाउन के बेर ! लोकसंस्कृतिका उत्सव–महोत्सवहरु बेलाबेला भइरहनुपर्दछ संरक्षणका लागि । जनस्तरमा सचेतता र संस्थागत प्रयास पनि उत्तिकै आवश्यक छ आज । लोकसंस्कृति नै रहेन भने हाम्रो अलग पहिचान पनि कति दिन रहला र ? अनि पहिचान हराएको समाज र राष्ट्रका सामु गौरव गर्न लायक कुरा नै अरु के बाँकी रहला र ?
वि.सं. २०५७ मा प्रकाशित ‘हेरालो’ पोखरा अवलोकन अंक २ बाट साभार

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *