role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चिनारी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चिनारी
—रामचन्द्र नेपाल
वरिष्ठ संरक्षण अधिकृत

अन्नपूर्ण संरक्षण क्षेत्र
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कास्की, लमजुङ, मनाङ, मुस्ताङ्ग र म्याग्दी जिल्लाका ५५ गा.वि.स. हरुको ७,६२९ वर्ग किलोमिटरको सेरोफेरोलाई अन्नपूर्ण संरक्षण क्षेत्र भनिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र विविध प्राकृतिक तथा सांस्कृतिक स्रोतहरुले भरिपूर्ण छ । विश्वकै सबैभन्दा अग्ला हिमालको सूचीमा पर्ने अन्नपूर्ण हिमाल, सुन्दर देखिने माछापुच्छे लगायत अन्य आकर्षक हिमश्रृङ्खलाहरुको काखमा अवस्थित अन्नपूर्ण संरक्षण क्षेत्रलाई विश्वकै सबैभन्दा गहिरो उपत्यकाका रुपमा लिइने कालिगण्डकी उपत्यका, लालिगुराँसका घना जंगल तथा सबैभन्दा अग्लो उचाईमा अवस्थित ठूलो (तिलिचो ताल मनाङ) ले अझ रमणीय तुल्याएको छ । विश्वबाटै लोप भएर जान लागेका भनी संरक्षित वन्यजन्तुको सूचीमा परेका हिमचितुवा, कस्तुरी, जंगली भेंडा, आसामी रातो बाँदर, डाँफे र मुनाल जस्ता आकर्षक वन्यजन्तुहरुले बसोबास गरेको अन्नपूर्ण क्षेत्रमा यार्चागुम्बा र पाँचऔले जस्ता दुर्लभ जडीबुटी लगायतका अन्य थुप्रै जडीबुटी पाइन्छन् ।
दक्षिणदेखि उत्तरसम्मको करिव १२० किलोमिटरको दूरीमा पाइने विविध जलवायू, प्राकृतिक स्रोत तथा भू–बनावटको कारण अन्नपूर्ण संरक्षण क्षेत्रको दक्षिणी क्षेत्र तुलनात्मक रुपमा घना वन जंगलहरुले सुसज्जीत छ भने उत्तरी क्षेत्र सुख्खा र उजाड देखिन्छ । त्यसैले अन्नपूर्ण क्षेत्रमा बसोबास गर्ने जनजातिहरुको भेषभूषा र रहनसहन पनि सोही किसिमले फरक–फरक पाइन्छ ।
विविध सांस्कृतिक सम्पदा, रमणीय भू–बनोट र विविध प्राकृतिक सम्पदाको कारण अन्नपूर्ण क्षेत्र करिव दुई दशकदेखि पर्यटकहरुको लागि आकर्षक गन्तव्य स्थल बनेको छ । १९९९ को आंकडा अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा ६७,३७१ जना पर्यटकहरुले पदयात्रा गरेका थिए र अझै पर्यटकहरुको आगमनको क्रम बढ्दै जाने विश्वास गरिएको छ । नेपालमा पैदल यात्रामा आउने कूल पर्यटकहरुको करिब ६० प्रतिशत पर्यटकहरु अन्नपूर्ण क्षेत्रको पैदल यात्राका लागि आउने गर्दछन् । अन्नपूर्ण क्षेत्रमा बसोबास गर्ने करिब १,२०,००० मानिसको अलावा थप पर्यटक र उनीहरुसँग उत्तिकै संख्यामा आउने भरियाहरुको कारण यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा राम्रा,नराम्रा प्रभावहरु देखा परिरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन
अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन अन्नपूर्ण क्षेत्र आयोजना (Annapurna Conservation Area Project, ACAP) मार्फत २०४३ साल मंसिरदेखि श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष (King Mahendra Turst for Nature Conservation, KMTNC) ले गर्दै आईरहेको छ । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष नेपालको एक गैर सरकारी संस्था (ल्यल(Non-Governmental Organization, NGO) हो । विश्वमै नमूनाको रुपमा लिइएको एकीकृत संरक्षण र विकास कार्यक्रम (Integrated Conservation and Development Programme, ICDP) को माध्यमबाट जनसहभागिताको आधारमा अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक स्रोतहरुको संरक्षण गर्ने, स्थानीय जनताको सामाजिक तथा आर्थिक स्थितिमा सुधार ल्याउने र दिगो पर्यटन व्यवस्थापन गर्ने उद्देश्य लिई अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन भइरहेकोछ ।
संरक्षण क्षेत्रको व्यवस्थापनलाई कानूनी आधार प्रदान गर्न श्री ५ को सरकारले २०५३ सालमा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली र २०५६ सालमा संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका पनि प्रकाशनमा ल्याएको छ । जसले गर्दा आयोजनालाई एकीकृत संरक्षण र विकासका कार्यक्रमहरु कार्यान्वयन गर्न अझ थप बल पुगेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रमहरु
माथि उल्लेखित उद्देश्यहरु पूरा गर्न अन्नपूर्ण संरक्षण आयोजनाले कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । ती कार्यक्रमहरुबारे छोटकरीमा जानकारी तल दिइन्छ ।
प्राकृतिक स्रोत संरक्षण कार्यक्रम
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक स्रोत व्यवस्थापनका लागि श्री ५ को सरकारले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ मार्फत प्रत्येक गाउँ विकास समितिमा संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा उप–समितिहरु गठन गर्ने कानुनी व्यवस्था गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा भइरहेको वन, वन्यजन्तु र अन्य प्राकृतिक स्रोतहरुको संरक्षण गर्नुका साथै स्थानीय जनताका दैनिक आवश्यकता जस्तै घाँस, दाउरा, काठ तथा जडीबुटी इत्यादीको निरन्तर आपूर्ति भइरहोस् भन्ने उद्देश्यले संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा उप–समितिहरु मार्फत प्राकृतिक वन व्यवस्थापन, वृक्षारोपण, भू–क्षय नियन्त्रण आदि कार्यहरु भइरहेका छन् । आयोजनाले आवश्यकतानुसार समिति, उप–समिति तथा स्थानीय जनताहरुलाई विभिन्न तालिम, गोष्ठी, अध्ययन भम्रण आदिको व्यवस्थापन गर्दै आइरहेको छ । अन्नपूर्ण क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको वास्तविक स्थिति थाहापाइराख्न आयोजनाले आवश्यकतानुसार अनुसन्धानका कार्यहरु पनि गर्दै आइरहेको छ ।
वैकल्पिक इन्धन कार्यक्रम
स्थानीय जनता तथा पर्यटकहरुको चापले गर्दा दाउराको खपतमा भइरहेको वृद्धिलाई कमगर्न आयोजनाले वैकल्पिक इन्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत दाउराको खपतलाई कम गर्ने साधनहरु र दाउराको सट्टामा प्रयोग गर्न सकिने इन्धनहरुको व्यवस्था गर्ने प्रयास भइरहेको छ । हाल दाउराको खपतलाई कम गर्ने साधनहरु जस्तै व्याकव्वाइलर, स्मोक वाटर हिटर, सुधारिएको चुलो, प्रेशर–कुकुर, थर्मस, आदि प्रयोग गर्नका लागि स्थानीय जनतालाई अभिप्रेरित र सहयोग गर्दै आइरहेको छ भने दाउराको सट्टामा प्रयोग हुने इन्धन जस्तै गोवरग्यास, जल–विद्युत्, सोलार वाटर हिटर, मट्टितेल/तरल पेट्रोलियम ग्यास, आदि प्रयोग गर्न स्थानीय जनताहरुलाई अभिप्रेरित तथा सहयोग पुरयाउँदै आइरहेको छ ।

संरक्षण शिक्षा तथा प्रचार प्रसार कार्यक्रम
मानिसको चेतना आयो भने उसले आफ्नो कुभलोको काम कहिल्यै गर्दैन भन्ने विश्वास लिएर आयोजनाले संरक्षण शिक्षा तथा प्रचार–प्रसारको कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैले स्थानीय जनतामा चेतना फैलाउन विद्यालयदेखि घर दैलोसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत विद्यालयमा संरक्षण शिक्षा (कक्षा ६, ७ र ८ को लागि) ग्रीन फोर्स क्लब, चेतना शिविर, घुम्ती प्रचार प्रसार अध्ययन भ्रमण आदि कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
पर्यटन व्यवस्थापन कार्यक्रम
पर्यटन व्यवसायलाई सुनको अण्डा दिने हाँसको रुपमा लिइन्छ । तर अण्डा मात्र नदिएर हाँसले आफ्नो गुँड पनि फोहर पार्ने भएकाले कसरी फोहर हुनबाट बचाउने वा कममात्र फोहर बनाउने भन्ने अभिप्राय लिई आयोजनाले पर्यटन व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यमा जनसहभागिता जुटाउन आयोजनाले आवश्यकतानुसार पर्यटन व्यवस्थापन उप–समिति गठन गर्दै आईरहेको छ । साथै पर्यटन व्यवस्थापन समिति तथा होटल/लज/रेष्टुरेण्ट व्यवसायीहरुलाई होटल व्यवस्थापन तालिम, चेतना शिविर, फोहरमैला व्यवस्थापन तालिम, फोहरमैला व्यवस्थापनका लागि आर्थिक तथा प्राविधिक सहयोग आदि कार्यक्रमहरु आयोजनाले सञ्चालन गर्दै आइरहेको छ ।
सामुदायिक विकास कार्यक्रम
स्थानीय जनताको आवश्यकतालाई महसुस गरी सम्बन्धित गा.वि.स. को संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिसमा आयोजनाबाट सामुदाियक विकास निर्माणका कार्यक्रमहरु सञ्चालन हुने गर्दछन् । आयोजनाको सिद्धान्त अनुसार जुनसुकै विकास निर्माणका कामहरु कार्यान्वयनका लागि जनसहभागिताको आवश्यकता पर्दछ । सामुदायिक विकासका कामको प्रकृति हेरी करिब ५० प्रतिशत जनसहभागिता र ५० प्रतिशत आयोजनाबाट प्राविधिक तथा आर्थिक सहयोग हुने गर्दछ । आयोजनाबाट सञ्चालन गर्दै आइरहेका विकास निर्माणका कामहरुमध्ये खानेपानी, शौचालय, बाटो, पुल, विद्यालय भवन, फर्निचर, सामुदायिक भवन, आदि प्रमुख हुन् ।
महिला विकास कार्यक्रम
अन्नपूर्ण संरक्षण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको जनसंख्या त्यस क्षेत्रमा बसोवास गर्ने कूल जनसंख्याको करिब ५० प्रतिशत छ । तर नेपालको सामाजिक संरचनाको कारण महिलाहरु पुरुषभन्दा हरेक क्षेत्रमा पछाडि परेको देखिन्छ । त्यसैले महिलाहरुको सामाजिक तथा आर्थिक स्तरमा सुधार ल्याउन आयोजनाबाट विभिन्न महिला विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । प्रमुख कार्यक्रमहरुमध्ये आमा समूह गठन गरी समूह परिचालन र नेतृत्व प्रदान गर्न सक्षम बनाउने खालका तालिमहरु, अध्ययन भ्रमण, शैक्षिकस्तर माथि उकास्न प्रौढ कक्षा र विद्यालयहरुमा विशेष छात्रवृत्तिको व्यवस्था, आयआर्जन बढाउन बचत तथा ऋण कार्यक्रम, सिलाई कटाई तालिम, स्वीटर बुनाई तालिम आदि समयानुकुल सञ्चालन गर्दै आईरहेको कार्यक्रमहरु हुन् ।
कृषि तथा पशु व्यवस्थापन कार्यक्रम
अन्नपूर्ण संरक्षण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको प्रमुख पेशा कृषि हो भने दोस्रो प्रमुख पेशा पशुपालन हो । अन्नपूर्ण क्षेत्रमा हाल भइरहेको कृषि तथा पशुपालन व्यवसायलाई वातावरण अनुकुल दिगो, वैज्ञानिक र बढी उत्पादनमूलक बनाउने उद्देश्यले आयोजनाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । स्थानीय जनताहरुलाई दैनिक आवश्यक पर्ने तरकारीहरुको उत्पादन गर्न अभिप्रेरित गराउन तरकारीबारी सम्बन्धी तालिमहरु सञ्चालन गर्ने र गाउँ–गाउँमा संरक्षण किसान मार्फत मौसम अनुसारका तरकारीहरुको बिउवेर्ना उपलब्ध गराउने व्यवस्था आयोजनाले मिलाउँदै आईरहेको छ । आयोजनाबाट सञ्चालित अन्य कार्यक्रमहरुमा तरकारी बिउ उत्पादन तालिम, सिँचाइको लागि सहयोग, अन्नवाली तथा नगदेवालीहरको बिउको व्यवस्था, अध्ययन भ्रमण, गाउँ–गाउँमा पशु स्वास्थ्य कार्यकर्ताहरुको तालिमको व्यवस्था, आवश्यकतानुसार पशुहरुलाई खोपको व्यवस्था, भकारो सुधारका लागि सहयोग आदि प्रमुख छन् ।
सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम
अन्नपूर्ण संरक्षण क्षेत्र विविध सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । अन्तर्राष्ट्रिय पर्यटकहरुको बढ्दो आगमन र आधुनिकीरणको नामबाट ती सांस्कृतिक सम्पदाहरु नाश भएर नजाओस् भन्ने उद्देश्यले आयोजनाबाट विभिन्न सहयोगहरु भइरहेका छन् । जसमध्ये गुम्बा, मठमन्दिर, माने, पाटी आदि मर्मत सुधार तथा रीतिरिवाज, सांस्कृतिक परम्परालाई जगेर्ना गर्न भिडियो डकुमेन्टेशन, बेलाबखत प्रतियोगितात्मक कार्यक्रमहरु तथा आर्थिक सहयोग आदि प्रमुख छन् ।
प्रजनन् स्वास्थ्य कार्यक्रम
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भुजुङ ईलाका संरक्षण कार्यालय मार्फत लमजुङ जिल्लाका अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने आठ गा.वि.स. हरुमा प्रजनन स्वास्थ्य कार्यक्रम विगत तीन वर्ष देखि सञ्चालन गर्दै आईरहेको छ । विशेष गरी महिलाहरुलाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीहरु दिई उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने कारणहरुप्रति सचेत गराउने र परिवार नियोजनका उपायहरु अपनाउन अभिप्रेरित गर्ने उद्देश्यले लिई यो कार्यक्रम सञ्चालन भईरहेको छ ।
स्वास्थ्यसेवा कार्यक्रम
उपल्लो मुस्ताङ क्षेत्र र मनाङ जिल्लामा यो कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ । यस कार्यक्रम अन्तर्गत स्थानीय जनता तथा पर्यटकहरुलाई नियमित तथा आकस्मिक स्वास्थ्य उपचारका साथै आवश्यक सल्लाह सुझावहरु प्रदान गरिने गरिन्छ । बेलाबखत घुम्ती शिविरहरु खडा गरी गाउँ–गाउँमा स्वास्थ्य उपचारको व्यवस्था पनि हुंदै आइरहेको छ ।
आयोजनाका कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक स्रोत
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्धारा सञ्चालित कार्यक्रमहरुका लागि प्रमुख आर्थिक स्रोत भनेको पर्यटकहरुबाट उठाइने संरक्षण क्षेत्र प्रवेश शुल्क नै हो । त्यसको अलावा विशेष कार्यक्रमहरुका लागि आर्थिक स्रोत उपलब्ध गराउने दातृ संघ–संस्थाहरु पनि छन् । जसमध्ये GEF/UNDP, American Himalayan Foundation, Trans Himalayan Aid Society, SNV Netherlands, GEO &DSW Germany, ApTibet, ODA New Zealand, WWF, आदि प्रमुख छन् ।
वि.सं. २०५७ सालमा प्रकाशित हेरालो पोखरा अवलोकन अंक २ बाट साभार

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *